करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स – Nepal Press

करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

काठमाडौं । गायक राजेशपायल राई आज रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परे र छुटे । उनले आज खुशीमा पिएका थिए कि दु:खमा, त्यो उनैलाई थाहा होला । तर, यी चर्चित गायकको निजी जीवनमा अहिले ठूलो मोड आएको छ ।

आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । गत साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो ।

सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।

राजेश पायल र साङबुङका एक छोरा छन् । उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । छोरा करिब दुई वर्षको भएका छन् । डिभोर्सपछि उनी आमाको साथमा बस्नेछन् भने छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् । छोरालाई जुनसुकै स्कूलमा पढाए पनि बाबुले फी तिर्ने सम्झौता भएको छ । यसैगरी, छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता गरेका छन् ।

यो पनि पढ्नुहोस्- राजेशपायलको सरप्राइजः २६ वर्ष कान्छी प्रेमीकाबाट पुत्रलाभ

आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो । उनीहरूको भेट हुँदा राजेशपायल ४० काटिसकेका थिए भने साङबुङ उमेरले नाबालिग नै थिइन् । फ्यानको रूपमा नजिकिएकी साङबुङलाई राजेशपायलले पछि प्रेमिका बनाए । त्यसपछि उनले साङबुङलाई घरमै ल्याएर राखेका थिए, तर विवाह भएको थिएन । लामो समयसम्म राजेशपायलले आफ्नो प्रेम जीवन मिडियाबाट लुकाउन सफल भएका थिए । नेपाल प्रेसले गत वर्ष जेठमा पहिलोपटक उनीहरू लिभ इनमा रहेको समाचार सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस् : २६ वर्ष कान्छी प्रेमिकासँग ‘लिभ इन’मा राजेशपायल, विवाह कहिले ?

राजेशपायलको नक्सालमा र शान्तिनगरमा दुईवटा घर छन् । उनले साङबुङलाई नक्शालको घरमा राखेका थिए भने शान्तिनगरमा परिवारका सदस्यहरू बस्थे । अहिले नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन् । उनको घर अभिनेता पल शाहको डेरानजिकै छ ।

राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गरेका थिए । बिहे दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा उनीहरूको विवाह भएको उल्लेख छ । उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गरेका थिए ।  तर, उनीहरूको सम्बन्ध सुमधुर रहन सकेन । उनीहरूबीच बारम्बार झगडा भइरहन्थ्यो । श्रीमान्‌ले आफूलाई मदिरा सेवन गरेर कुटपिटसमेत गर्ने गरेको साङबुङले निकटस्थसँग बताउने गरेकी थिइन् । तर, सार्वजनिकरूपमा यो जोडीले आफूहरूबीचको सम्बन्धबारे कहिल्यै मुख खोलेनन् ।

एकपटक साङबुङले टिकटकमा राजेश पायलसँगका केही भिडिओ पोष्ट गरेकी थिइन् । तर, तुरुन्तै हटाउन बाध्य भइन् । केही समयअघि श्रीमान्‌ले छोराको टाउकोमा तातोपानी खन्याइदिएको भनेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । त्यो पनि पछि हटाइन् । राजेशपायलले भने आफूमाथिका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

राजेशपायल साङबुङसँग जीवन काट्ने मनस्थितिमा थिएनन् । उनले कतै पनि सार्वजनिक कार्यक्रममा साङबुङलाई श्रीमतीको दर्जा दिएर सँगै लिएर हिँडेको देखिएन । साङबुङ भने डिभोर्सका लागि तयार थिइनन् । बच्चाका कारण पनि उनीहरू एक-अर्कासँग अलग्गिन सहज अवस्था थिएन । तर, अहिले आएर दुवैले सम्झौता गरेका छन् ।

रोचक के भने पतिसँग डिभोर्सपछि साङबुङले ‘अर्को जुनी पनि तिम्रै हुन पाउँ’ भनेर स्टाटस लेखेकी थिइन् ।


प्रतिक्रिया

2 thoughts on “करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

  1. डिभोर्स बाट करोडपति! सजिलो छ महिलाहरुलाई!
    पुरुष जतासुकै अप्ठ्यारोमा !😪😥

Leave a Reply

Your email address will not be published. Required fields are marked *