२६ वर्ष कान्छी प्रेमिकासँग ‘लिभ इन’मा राजेशपायल, विवाह कहिले ? – Nepal Press

२६ वर्ष कान्छी प्रेमिकासँग ‘लिभ इन’मा राजेशपायल, विवाह कहिले ?

काठमाडौं । राजेशपायल राईलाई सधैँ पछ्याइरहने प्रश्न हो– बिहे कहिले गर्नुहुन्छ ? उमेरले अर्धशतक नजिक पुगे पनि उनले अहिलेसम्म लगनगाँठो कसेका छैनन् । अब भने उनले यो प्रश्नबाट चाँडै मुक्ति पाउन सक्ने सम्भावना बढेको छ ।

राजेशपायल एक युवतीसँग लिभिङ टुगेदरमा छन् एक वर्षदेखि । साङबुङ राई नामकी युवतीसँग उनले चाँडै बिहे गर्न सक्ने निकटस्थहरु बताउँछन् । यद्यपि, राजेशपायल स्वयम् भने विवाहको विषयमा मौन छन् ।

राजेशपायल र साङबुङ करिब दुई वर्षदेखि गोप्य प्रेम सम्बन्धमा थिए । साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । बताइएअनुसार एक साथीमार्फत अनौपचारिक तवरले उनीहरुको भेट भएको थियो । दुवै एक–अर्काप्रति आकर्षित बनेका थिए । त्यसपश्चात केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको निकटस्थ स्रोतको भनाइ छ ।

साङबुङले आफ्नो टिकटक अकाउन्टमा राजेशपायलसँगका भिडियोहरु बारम्बार अपलोड गरेपछि उनीहरुको सम्बन्धबारे लख काट्न थालिएको थियो । तर, यो एउटा सेलिब्रिटी र फ्यानको सम्बन्धमात्रै पनि हुन सक्थ्यो । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउन सफल भएका थिए । नजिकका केही साथीभाइलाई राजेशपायल आफैले प्रेम सम्बन्धबारे बताउने गरेका छन् ।

साथीभाइले पनि अब उमेर छिप्पिएकाले चाँडै बिहे गर्न राजेशपायललाई सुझाव दिएका छन् । राजेशपायल उमेरले ४६ वर्षका भए । उनकी प्रेमिका साङबुङ भने भर्खर २० वर्षमा हिँडिरहेकी छन् । उनीहरुको उमेरमा २६ वर्षको विशाल अन्तर छ ।

काठमाडौंको शान्तिनगर र नक्सालमा दुईवटा घर छन् राजेशपायलका । शान्तिनगरमा भने परिवारका सदस्यहरु बस्छन् । नक्सालको आफ्नो घरलाई भने उनले आफ्नो सांगीतिक यात्राहरुको संग्रहालय जस्तो बनाएका छन् । उनले बजारमा ल्याएका एल्बमहरु, सम्मानहरु सबै त्यही घरमा सजाएका छन् । त्यही घरमा राजेश पायलले आफ्नो स्टुडियो पनि बनाएका छन् । आफ्ना निकटस्थहरुसँग त्यही घरमा बसेर नयाँ प्रोजेक्ट, कन्सर्टका सेड्युलबारे छलफल गर्ने गर्छन् ।

नक्सालको त्यही घरमा राजेशले आफ्नी प्रेमिकालाई राखेका छन् । निकटस्थका अनुसार सुरुमा उनी यो सम्बन्धमा धेरै सिरियस थिएनन् । तर, पछिल्ला दिनमा भने बिहेको मनस्थितिमा पुगेको निकटस्थहरु बताउँछन् । परिवारबाट सधैं विवाहको दबाब झेल्दै आएकाले पनि राजेशपायल साङबुङसँग भने विवाहबारे गम्भीर भएका हुन् ।

राजेश र साङबुङ लिभ इनमा बस्न थालेपछि नजिकका साथीभाइले बधाई दिएका थिए । राजेशपायलका आफन्त पनि खुसी भएका थिए । त्यसो त विवाहमात्र नभएर राजेशपायल र साङबुङले छिट्टै अर्को ‘सरप्राइज न्यूज’ पनि दिन सक्ने बताइएको छ ।


प्रतिक्रिया

One thought on “२६ वर्ष कान्छी प्रेमिकासँग ‘लिभ इन’मा राजेशपायल, विवाह कहिले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *