अमेरिकी दूतावासले भन्यो- हाम्रो अनुदानले आफ्नो रोजाइको धर्म अपनाउने क्षमताको प्रवर्द्धन गर्छ – Nepal Press

अमेरिकी दूतावासले भन्यो- हाम्रो अनुदानले आफ्नो रोजाइको धर्म अपनाउने क्षमताको प्रवर्द्धन गर्छ

काठमाडौं । नेपालमा हिन्दू–बौद्ध धर्मप्रति अनास्था फैलाउन करोडौँ डलर खर्च गरेको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावासले प्रतिक्रिया जनाएको छ । नेपाल प्रेसमा समाचार प्रकाशित भएपछि दूतावासको ध्यानाकर्षण भएको हो ।

दूतावासले नेपाल प्रेसलाई पठाएको लिखित नोटमा अमेरिकाले कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तलाई प्रवर्द्धन नगर्ने बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्ने उल्लेख छ । नेपालमा धार्मिक अल्पसंख्यकको हित प्रवर्द्धनमा सहयोग गरिरहेको स्वीकारोक्ति दूतावासले गरेको छ ।

दूतावासको लिखित प्रष्टीकरण जस्ताको त्यस्तैः

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिकी सरकार संसारभर सबै ठाउँका मानिसहरूको आ–आफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा उभिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्नका निम्ति तर्जुमा गरिएको थियो । यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यहरू समेत पर्दछन् जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमहरूले कहिल्यै पनि कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दैनन्स बरु तिनीहरूले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्दछन् ।

यस कार्यक्रमले दक्षिण एसियाका त्यस्ता स्थानीय संघसंस्था र समुदायहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको छ जहाँ उनीहरूले आफ्नो विश्वासका कारण विभेद र सीमान्तीकरण भोगेका छन् ।

नेपालमा अमेरिकी सरकारको यस आर्थिक सहयोगले जातीय विभेद तथा बालविवाहविरुद्ध लड्ने र सबैको सहिष्णुता र पारस्परिक सम्मानका लागि वकालत गर्ने लगायतका कार्यमार्फत सीमान्तकृत विश्वास समुदायका सदस्यहरूको संरक्षण र उनीहरूका लागि पैरवी गर्ने प्रयासमा सहयोग गरेको छ ।


प्रतिक्रिया

One thought on “अमेरिकी दूतावासले भन्यो- हाम्रो अनुदानले आफ्नो रोजाइको धर्म अपनाउने क्षमताको प्रवर्द्धन गर्छ

  1. एकथरी मान्छेहरू के निहुँ पाऊँ भनेर चियोचर्चो गर्नमा अभ्यस्त छन्, जब यिनीहरू देशमा कतै कसैले न्याय, समानता, उन्मुक्ति र प्रगतिशिलताको पक्षमा केही कोसिस गरेको भेट्टाउँछन्, रडाको शुरू हुन्छ। आफ्नो इँजार खुस्केको प्रवाह नगरीकन अर्कालाई खबरदारी गर्न सुहाउँदैन के! अल्पसंख्यक, पीडित-प्रताडित र सीमान्तीकृत वर्ग वा समुदायको हित हुँदा “हिन्दू” धर्मको क्षय भएको देख्ने यिनका मगजको उपचार जरुरी छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर