प्रधानमन्त्री कार्यालयले थाल्यो नीति तथा कार्यक्रम तर्जुमा – Nepal Press

प्रधानमन्त्री कार्यालयले थाल्यो नीति तथा कार्यक्रम तर्जुमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८१/०८१ को सरकारको नीति तथा कार्यक्रमको तयारी थालेको छ ।

सोही क्रममा प्रधानमन्त्री कार्यालयमा गठित समितिले समष्टिगत आर्थिक, उद्योग, व्यापार, पर्यटन, कृषि, वन तथा वातावरण र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सम्बन्धित क्षेत्रका प्रतिनिधि तथा विज्ञसँग छलफल तथा सुझाव संकलन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम छलफल सुरु गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री कार्यालयमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय सहकारी महासंघ, गैरआवासीय नेपाली संघ, नेपाली महिला चेम्बर, नेपाल युवा उद्यमी परिषद्लगायतका निजी क्षेत्रसँग छलफल गरिएको छ । ती संघसंस्थाका प्रतिनिधिले आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न सुझाव दिएको उनले बताए ।

त्यसैगरी छलफलमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), त्रिभुवन विश्वविद्यालय, कृषि सामग्री कम्पनीलगायतका प्रतिनिधिले पनि सुझाव दिएका थिए ।

छलफलमा नयाँ नीति तथा कार्यक्रममा उद्योग दर्ता तथा नवीकरणमा सहजीकरण गर्ने व्यवस्था गरिनुपर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने, विश्वविद्यालयलाई अध्ययन अनुसन्धानको जिम्मा दिई त्यसैबमोजिम मन्त्रालयलाई कार्यान्वयन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने, वनको उपयोगलाई समृद्धिसँग जोड्नेगरी कार्यक्रम ल्याइनुपर्ने, कृषि क्षेत्रको अनुसन्धानमा पर्याप्त बजेट छुट्याइनुपर्नेलगायतका सुझाव दिएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालय तथा नेपाल सरकारका विभिन्न विषयगत मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर