बझाङ उपनिर्वाचनमा जुट्यो एमाले, तीन जनाको नाम सिफारिस गर्दै गठबन्धनमा लबिङ गर्ने निर्णय – Nepal Press

बझाङ उपनिर्वाचनमा जुट्यो एमाले, तीन जनाको नाम सिफारिस गर्दै गठबन्धनमा लबिङ गर्ने निर्णय

कैलाली । बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ मा नयाँ गठबन्धनबाट एमालेलाई भागबन्डा दिलाउन सुदूरपश्चिम प्रदेश कमिटीले माथिल्लो कमिटीलाई आग्रह गर्ने भएको छ ।

आज प्रदेश पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ गते तोकिएको उपनिर्वाचनका विषयमा छलफल गरेको हो । जिल्लाले उक्त क्षेत्रको लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस थियो । उक्त नाम केन्द्रमा पठाउँदै उक्त क्षेत्रमा एमाले निर्वाचन लड्नेगरि केन्द्रमा सहमति गर्न आग्रह गर्ने निर्णय भएको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।

प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएको र अर्को प्रदेशमा माओवादी केन्द्रमा भीम भण्डारी निर्वाचित रहेको हुँदा रिक्त रहेको क्षेत्र एमालेका लागि सुरक्षित गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको सचिव चन्दले जानकारी दिए । कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा परेर निधन भएपछि यो निर्वाचन क्षेत्र खाली थियो ।

अहिले कांग्रेस यहाँ एक्लै लड्दा एमाले माओवादी र नेकपा एकीकृत समाजवादीबिच केन्द्रमा भएको नयाँ गठबन्धन अनुसार मिलेर चुनावमा जाने सङ्केत देखिएको छ यस्तो अवस्थामा एमालेका लागि सिट सुरक्षित गर्ने गरी छलफल अगाडि बढाइने भएको हो ।

आज सुदूरपश्चिम प्रदेश सल्लाहकार परिषद्का अध्यक्ष खेमराज पाण्डेले शपथ ग्रहण पनि गरेका छन् । एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले उनलाई शपथग्रहण गराएका हुन् । अघिल्लो बैठकले पाण्डेलाई प्रदेश सल्लाहकार परिषद्को अध्यक्षमा मनोनीत गरेको थियो ।

त्यस्तै, बाजुरा जिल्ला कमिटीको नयाँ मनोनीत कमिटीलाई पनि प्रदेश कमिटीले सदर गरेको छ ।

माघ २८ गते नेकपा एमाले जिल्ला कमिटीको पूर्ण बैठकले अध्यक्षमा भरत बहादुर थापा, उपाध्यक्षमा जनक कुमार बोहरा र सचिवमा काशी बहादुर विकलाई चयन गरेको थियो । आज उक्त निर्णयलाई पनि सदर गरिएको प्रदेश सचिव चन्दले जानकारी दिए ।

त्यस्तै, एमाले जिल्ला अधिवेशनहरू चैत्र मसान्तभित्र सम्पन्न गर्न भनिएको छ । अहिले सम्म सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये दार्चुला, कैलाली र बैतडीमा जिल्ला अधिवेशन सकिएको छ भने कञ्चनपुरमा जारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर