एयरपोर्ट भन्सारभित्रैबाट नक्कली भेप गायब भएपछि खसेको सुन तस्करको ‘पहिरो’ – Nepal Press

एयरपोर्ट भन्सारभित्रैबाट नक्कली भेप गायब भएपछि खसेको सुन तस्करको ‘पहिरो’

काठमाडौं । २०७९ साल पुस १० गते चिनियाँ नागरिक लि हानसोङ फ्लाई दुबईमार्फत काठमाडौं ओर्लिए । उनले साथमा लिएर आएको इलेक्ट्रिक सिगरेट (भेप) शंकास्पद रहेको भन्दै भन्सार कार्यालयले नियन्त्रणमा लिएर हानसोङलाई छाड्यो ।

भन्सार कार्यालयले उक्त शंकास्पद भेप परीक्षणकै क्रममा साटिएको चाल पायो । अनुसन्धानपछि निष्कर्ष निस्कियो- नक्कली भेपमा ल्याइएको ९ किलो सुन भन्सारका कर्मचारीको समेत मिलेमतोमा त्यहाँबाट निकालेर त्यस ठाउँमा सक्कली भेप राखियो ।

हानसोङले दुइटा सुटकेशभित्र रहेका ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए । भन्सारले थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गर्‍यो । सीआईबीले गत असारमा विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित ९ जनालाई प्रतिवादी बनाएर आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराध कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्का विमानस्थल भन्सारअन्तर्गत मुद्दा शाखाको गोदामको जिम्मेवारी पाएका कर्मचारी थिए । परीक्षणकै क्रममा रहेको भेपमा सुन भएको यकिन भएपछि उनीसहितको समूहले त्यहाँ सक्कली भेप राखेर सुन भएको नक्कली भेप बिक्री गरेको थियो । आफूले ल्याएको भेप भन्सारले नियन्त्रणमा लिएपछि चिनियाँ नागरिक भने नेपालबाट उम्किसकेका थिए । त्यसपछि भन्सार कार्यालयमा उक्त भेप अलपत्र जस्तै अवस्थामा थियो ।

सीआईबीले गोदाममा राखिएको भेपबाट सुन कसरी निकालियो भन्नेतर्फ मात्र अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । त्यो भेप कसले ल्याएको थियो भन्नेतर्फ अनुसन्धान केन्द्रित थिएन । यद्यपि भन्सारमा अड्किएको उक्त भेप त्यहाँबाट बाहिर निकाल्न माओवादी नेता कृष्णबहादुर महराका छोराले विमानस्थल भन्सारका कर्मचारीलाई बारम्बार फोन गरेको भन्ने चाहिँ मुद्दा दायर भएपछि बाहिर आएको थियो ।

यो प्रकरण सेलाउन नपाउँदै राजस्व अनुसन्धान विभागले गत साउन २ गते विमानस्थल भन्सार कार्यालय बाहिरबाट सुन लुकाएर ल्याएको आरोपमा ठूलो मात्रामा ब्रेक शु नियन्त्रणमा लियो । भन्सार जाँचपास भएर बाहिरिन लागेको अवस्थामा विभागले ८ वटा प्याकेटमा ल्याइएको १६० सेट ब्रेक शु बरामद गरेको थियो ।

उक्त ब्रेक शुमा सुन रहेको दाबी राजस्व अनुसन्धान विभागको थियो । अनुसन्धानका क्रममा उक्त ब्रेक शुमा करिब ६० केजी सुन रहेको पाइयो । गिरोहले ब्रेक शुका नाममा सुन तस्करी गरिरहेको खुल्यो । गिरोहले सामान्य आर्थिक अवस्था भएका मानिसहरुका नाममा कम्पनी खोलेर त्यसका नाममा ब्रेक शु ल्याउने गरेको अनुसन्धानले देखायो ।

विभागले झण्डै १९ दिन अनुसन्धान गरेपछि थप अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको थियो । सीआईबीले अनुसन्धान गरेपछि असोजको पहिलो साता ७ जना चिनियाँसहित २९ जनालाई प्रतिवादी बनाएर अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराधलगायत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यसमा ३ जना फरार थिए ।

उता भेप प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परेर अनुसन्धान भइरहेको थियो । सीआईबीले असोजको अन्तिम साता महरा र नेपाली मूलका बेल्जियन नागरिक दावा छिरिङसहित ४ जनाविरुद्ध भेप प्रकरणमा आपराधिक विश्वासघात, भन्सारी चोरी पैठारी तथा संगठित अपराधमा मुद्दा दायर गर्‍यो । सीआईबीले थप निष्कर्ष निकाल्यो- ब्रेक शु र भेपमा सुन राखेर ल्याउने समूह एउटै हो ।

भियना होटलका सञ्चालक दावाको तस्करीमा प्रत्यक्ष सम्पर्क देखिएनमात्र, उनी नेता, भन्सारका हाकिम र उच्च प्रहरी अधिकारीसँग पनि नियमित सम्पर्कमा रहेको देखियो । उनी र उनकी श्रीमती अमला रोका ब्रेक शु प्रकरणमा पनि प्रतिवादी थिए । अमला भने फरार थिइन् । ब्रेक शु प्रकरणमा जीवन चलाउनेलाई बयान लिएर सीआईबीले छाडेको थियो ।

तर, अभियोग दर्ता गर्दा भने उनलाई प्रतिवादी बनाइएको थियो । यो प्रकरणमा ठूला माछालाई उन्मुक्ति दिएको आरोप लागेपछि सरकारले असोज १५ गते जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले अनुसन्धानमा संलग्न सीआईबी नेतृत्व र अनुसन्धान अधिकारीमाथि प्रश्न उठाउँदै उनीहरुलाई कारबाहीको सिफारिस गरेको छ ।

आरोपीहरुलाई उन्मुक्ति दिन खोजेको, कमजोर अनुसन्धान गरेको आरोप सीआईबीमाथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *