नेपाली दूतावासले वास्ता नगरेको भन्दै रुसी फौजका नेपालीले भारतसँग गरे उद्धारको याचना (भिडिओ) – Nepal Press

नेपाली दूतावासले वास्ता नगरेको भन्दै रुसी फौजका नेपालीले भारतसँग गरे उद्धारको याचना (भिडिओ)

काठमाडौं । रुसी फौजमा भएका नेपालीहरुले भारतसँग सहयोगको याचना गरेका छन् । उनीहरुले सहयोगको याचना गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रुसी फौजमा भएका नेपालीहरुको समूहमा पहिले २५ जना भए पनि अहिले पाँचमात्रै भएको, अरुको अत्तोपत्तो नभएको भिडियोमा एक युवाले बताएका छन् । दुई आफ्ना साथीलाई दायाँबायाँ राखेर उनले दलालले रुसी सेनाको सहयोगी भनेर ल्याएको तर अहिले युद्धमा जानुपरेको गुनासो गरेका छन् ।

आफूसँगै भएका तीन भारतीयको मोदी सरकारले उद्धार गरेको तर आफूहरुलाई कसैले उद्धार नगरेको भन्दै उनले सहयोगको याचना गरेका छन् । नेपालको रुसस्थित दूतावासले कुनै सहयोग नगरेको तर भारतले भने आफ्ना नागरिकलाई सहयोग गरेको भन्दै भिडियोमा देखिएका युवाले भारतको दूतावास र देश दुवै शक्तिशाली भएकोले आफूहरुको पनि उद्धार गर्न याचना गरेका छन् ।

भिडियोमा उनीहरुको परिचय खुलेको छैन । भिडियो सामाजिक सञ्जालमा भाइरल भएर नेपाल तथा भारतमा चर्चामा छ । सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेन हमला गरेपछि विदेशीहरुलाई आफ्नो फौजमा भर्ना सुरु गरेको थियो ।

हालसम्म दर्जन बढी नेपालीको मृत्यु भएको तथा सयौं हराएका खबर सार्वजनिक भएका छन् । आधा दर्जन युक्रेनी कब्जामा भएका खबर आएका छन् । नेपालीमात्रै होइन, भारतीयहरुको पनि रुसी फौजमा जोडिएका समाचार पछिल्ला समयमा सार्वजनिक भएका छन् ।

रुसी फौजमा लागेका दुई भारतीयको मृत्यु भएको खबर सार्वजनिक भएको छ । सबैभन्दा पहिले गत फेब्रुअरी २१ मा भारतीय युवा मेहिल अश्विनभाइको मृत्युको खबर भारतीय अखबार दी हिन्दूले फेब्रुअरी २४ मा प्रकाशन गरेको थियो ।

समाचारअनुसार कैयौं भारतीय बेपत्ता छन् । तर, भारत सरकारले रुसी नेतृत्वसँग संवाद गरेर कूटनीतिक रुपमा पहल गर्दै आफ्ना युवाहरुलाई फिर्ता ल्याएको बताएको थियो । भारत सरकारको त्यो दाबीलाई प्रमाणित गर्दै नेपाली युवाहरुले आफूसँग भएका तीन भारतीयको उद्धार भएको तर आफूहरु बिचल्लीमै भएको भन्दै हारगुहार गरेको भिडियो सार्वजनिक भएको हो ।

यस्तो छ नेपाली युवाले हिन्दीमा भारत सरकारलाई उद्दार गर्न हारगुहार गरेको भिडियोको नेपाली भावानुवादः

अहिले हामीहरु रुसी सेनामा छौं । हामी हाम्रो मुलुक नेपालबाट आएका थियौं । हामी यहाँ आएपछि धेरै नै समस्या भए किनभने हामीसँग दलालले गलत आश्वासन दिएर यहाँ ल्याएका थिए । रुसी सेनामा सहयोगीको रुपमा काम गर्ने भन्दै हामीलाई दलालहरुले पठाएका थिए । अहिले आएपछि हामी युद्ध गर्न जानु परिरहेको छ । त्यसैले हामी यहाँबाट निस्कन चाहन्छौं । हाम्रो साथमा तीन भारतीय दाजुभाइ थिए । उनीहरुको भारतले फिर्ता लिएर गयो ।

नेपाली राजदूतावासले हामीलाई कुनै सहयोग गरिरहेको छैन । त्यसैले हामी हाम्रो छिमेकी देश भारतसँग सहयोग माग्न चाहन्छौं । हामीलाई आशा छ कि भारतले हामीलाई सहयोग गर्नेछ । नेपाल र भारतको राम्रो सम्बन्ध छ । त्यसैले तपाईंहरुसँग हामी सहयोग माग्न चाहन्छौं किनभने तपाईंको दूतावास र देश दुवै शक्तिशाली छन् । हाम्रो देश नेपालबाट अहिलेसम्म केही भइरहेको छैन । नेपालका हामी सबै दाजुभाइहरु नेपाल जान चाहन्छौं । किनभने हामीलाई सहयोगी भनेर ल्याइयो । तर, ल्याएर युद्धमा लगियो । तीस जना थियौं । अहिले पाँचमात्रै जीवित छौं । त्यही हो, हामी तपाईंसँग सहयोग माग्न चाहन्छौं । सक्नुहुन्छ भने हामीलाई यहाँबाट निकाल्नुहोस् ।

याे पनि पढ्नुस् : मिल्यो नेपालीको दाबी- रुसी फौजमा भारतीयहरु भएको सरकारबाटै पुष्टि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर