चीनको ‘टु सेसन’ मा उठ्यो लुम्बिनीमा सीधा हवाई उडानको मुद्दा – Nepal Press

चीनको ‘टु सेसन’ मा उठ्यो लुम्बिनीमा सीधा हवाई उडानको मुद्दा

काठमाडौं । चीनमा हिजोबाट सुरू भएको चिनियाँ जनराजनीतिक सल्लाहकार सभामा चीनबाट नेपालको लुम्बिनीमा सीधा हवाई उडान गर्ने विषय उठेको छ । चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) मा उक्त विषय उठेको हो ।

चिनियाँ भाषामा पोख्त नेपालीहरूले सञ्चालन गरेको ‘अरनिको प्रोजेक्ट’ का अनुसार यसबारेको समाचार चिनियाँ आउटलेट फिनिक्स् न्यूजमा प्रकाशन भएको हो । आजको संस्करणमा उक्त समाचार आएको छ । समाचारअनुसार यिन सन् नामका एक प्रतिनिधिले औपचारिकरूपमा प्रस्ताव दर्ज गरेका हुन् । उनले नेपालको बौद्ध धर्म धाम लुम्बिनीमा चीनबाट सीधा उडान गर्नुपर्ने माग झन्डै दुई हजार प्रतिनिधिहरू सहभागी हुने प्रस्ताव सभामा राखेका हुन् । चिनियाँ बौद्ध धर्मावलम्बीहरूको संस्था बुद्धिस्ट असोसिएसन अफ चाइनाका उपसभापतिसमेत रहेका उनी चीनको सन्चन होङ्फा मन्दिरका मठाधीश पनि हुन् ।

यिन सन्‌ले आफ्नो प्रस्तावको शीर्षक ‘हवाई रेशमी मार्ग निर्माणबारेको सल्लाह तथा नेपालको बुद्ध धाम लुम्बिनीमा सीधा उडान’ राखेका छन् । हवाई सिल्क रोड सञ्चालनपछि जनस्तरको सम्बन्ध मजबुद हुने, ट्रान्सफर खर्च घट्ने उनको तर्क छ । नेपाल बेल्ट एण्ट रोडमा जोडिएको देश भएकोले बेल्ट एण्ड रोड देशसँगको सम्पर्क सहज हुने तर्क पनि उनले गरेका छन् ।

यस्तै नेपाल-चीनको पर्यटन विकास, धार्मिक सहिष्णुता प्रवर्द्धन तथा फरक सभ्यताको एकआपसको साझा अध्ययनमा यसले सघाउ पुर्‍याउने उनको विश्वास छ ।

सीपीपीसीसी यिन सन्‌‍का मुख्य तर्क यस्ता छन्-

– नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा लुम्बिनीमा विमानस्थल बनेको हो । तर, चीनबाट लुम्बिनी सीधा उडान हुँदैन । सन् २०२४ जनवरी १७ मा चीनको हैनान र सन्चन क्षेत्रका बुद्ध धर्म मान्नेहरूले बुद्धको बुद्धत्व पाएको अवसरमा लुम्बिनी भ्रमण सीधा चार्टड विमानबाट भएको थियो ।

– नेपाल र चीन बीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध बढाउन राष्ट्रपति सी चिनफिङले दिएको आदेशअनुसार छ यो प्रस्ताव ।

– नेपाल र चीनको बुद्ध धर्मको आगमनको सुरूवात फाहियान, सुआनचङ र बुद्धभद्रबाट भएको हो ।

– सीधा उडान भएमा विश्वको बौद्द धर्ममा चीनको महत्वपुर्ण भूमिका देखाउनेछ ।

– यसले चीनको बेल्ट एण्ड रोड एनिसिएटीभको उच्च गुणस्तरको विकास कर्मलगायतका ८ कदममा सहयोग गर्छ ।

– यसले चिनियाँ बुद्ध धर्म मान्नेहरूलाई गैरसरकारी तबरबाट अरु देशसँग गहिरो सम्बन्ध आदानप्रदान गर्न सहयोग गर्नेछ ।

यही मार्च ४ अर्थात फागुन २१ बाट सुरु भएको चिनियाँ जनराजनीतिक सल्लाहकार सभामा बैठक बसेको हो । आज अर्थात् मार्च ५ बाट चीनको विधायकी सभा चिनियाँ जनकंग्रेस अर्थात् चाइनाज नेशनल पिपल्स कंग्रेस (एनपीसी) को बैठक सुरु भएको छ । यी दुई बैठकका सत्रलाई ‘दुई सत्र’ भनेर चिनिन्छ । अंग्रेजीमा ‘टु सेसन्स’ र चिनियाँमा ‘लियाङ हुए’ नामबाट यो परिचित छ । चिनियाँ अखबारका अनुसार चीनको वार्षिक नीति तथा कार्यक्रमको छलफलसमेत हुने यी दुई सत्रमा पाँच हजार हाराहारी प्रतिनिधि सहभागी छन् । कार्यक्रमका लागी विश्वभरका तीन हजार पत्रकार पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् : पाँच प्रश्नोत्तरमा बुझौं विश्वले नियाल्ने चीनको ‘टु सेसन्स’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *