दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन, सहकार्यको पनि गृहकार्य – Nepal Press

दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन, सहकार्यको पनि गृहकार्य

प्रसाईँसँग वार्ताको जिम्मेवारी डा. धवलशम्शेर र हेमजङलाई 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गर्दैछन् । उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंबाटै आन्दोलनको संखघोष गर्न लागेका हुन् ।

आन्दोलनको अघिल्लो दिन प्रसाईँले राजसंस्थावादी प्रमुख राजनीतिक शक्तिको रूपमा रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटे । भेटमा उनले आफ्नो आन्दोलनलाई सक्रिय रुपमा साथ दिन अनुरोध गरेका थिए । उनीहरुबीच आगामी दिनमा सडक आन्दोलनमा सहकार्यको विषयमा पनि छलफल भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा. धवलशम्शेर राणा र हेमजंग गुरुङको वार्ता समिति बनाएको जानकारी दिए । आजको आन्दोलनमा भने राप्रपा नेताहरूको संस्थागत उपस्थिति नरहने उनको भनाइ छ ।

श्रेष्ठले भने, ‘उहाँहरूसँग सहकार्यको छलफल सुरु भएको छ । आजको आन्दोलनमा राप्रपाका कार्यकर्ताहरू सहभागी हुन सक्छन् । नेताहरू भने संस्थागत रुपमा सहभागी हुने छैनन् ।’

प्रसाईँको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गर्ने पनि श्रेष्ठले बताए । ‘राजसंस्था, हिन्दू राज्यका पक्षमा आन्दोलन गर्ने कुनै पनि शक्तिलाई हाम्रो नैतिक समर्थन रहन्छ, उहाँहरूलाई पनि छ,’ श्रेष्ठले भने ।

प्रसाईँले लिङ्देनलाई भेट्नुअघि राप्रपाका नेताहरू लोकेन्द्र बहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनीलाई छुट्टाछुट्टै भेटेका थिए । राप्रपामा डा. लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र प्रसाईँको आन्दोलनलाई सक्रिय साथ दिनुपर्ने पक्षमा छन् । तर, राप्रपाको संस्थापन पक्ष भने आफ्नै पार्टीले आन्दोलन घोषणा गरिसकेको हुँदा त्यसमै फोकस हुनुपर्ने पक्षमा छ ।


प्रतिक्रिया

2 thoughts on “दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन, सहकार्यको पनि गृहकार्य

  1. दुर्गा प्रसाईका मुद्धा पनि सहि छन र राप्रपाका मुल अजेण्डापनि सहि छन त्यसैले उद्येश्य परिपुर्तिका लागि मिलेर आन्दोलन गर्नुपर्छ।

  2. “दुर्गा प्रसाईका मुद्धा पनि सहि छन र राप्रपाका मुल अजेण्डापनि सहि छन त्यसैले उद्येश्य परिपुर्तिका लागि मिलेर आन्दोलन गर्नुपर्छ।” 100%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर