ठेकेदार कम्पनी बालेनसँग आक्रोशित : महतो भन्छन्- धरहरा महानगरको होइन, मेयरले स्टन्ट गर्नुभयो – Nepal Press

ठेकेदार कम्पनी बालेनसँग आक्रोशित : महतो भन्छन्- धरहरा महानगरको होइन, मेयरले स्टन्ट गर्नुभयो

काठमाडौं । गत माघ ९ गते काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि विकल्पमा काठमाडौं टावर र नजिकैको निर्माणाधीन धरहराको बेसमेन्टमा नि:शुल्क पार्किङ खुलायो ।  शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको धरहरामा महानगरले एकतर्फी ढंगले पार्किङ खुलाएपछि विवाद चर्केको छ ।

धरहराको निर्माण कार्य सकिएको छैन । पार्किङ स्थलमा पनि थुप्रै काम गर्न बाँकी छ । तर, अन्य निकाससँग समन्वय नगरी मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीहरू धराहराको बेसमेन्टमा गएर पार्किङका लागि खुला गराएका थिए । यसले एकातर्फ अन्तिम चरणमा पुगेको निर्माण कार्य प्रभावित बनेको छ भने पार्किङ आफैँमा असुरक्षित पनि देखिन्छ ।

पार्किङस्थलमा बत्ती, सीसीटीभी र अक्सिजन पासको व्यवस्था गर्न बाँकी रहेको छ । आगलागीबाट बच्ने संयन्त्र पनि जडान भएको छैन । निर्माण सम्पन्न नै नभई पार्किङ सुरु गरिएकाले मानवीय क्षतिको जोखिम रहेको सरकार र निर्माण कम्पनीले बताइरहेका छन् ।

कहिले सकिन्छ काम ?

२०७२ सालको भूकम्पले क्षति पुगेको धरहराको पुनर्निर्माणको काम अहिलेसम्म जारी छ, जबकि २ वर्ष ९ महिना अगाडि न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको औपचारिक उद्घाटन गरिसकेका थिए । निर्माण नसकिई आफ्नो नाम लेखाउने लोभमा हतार हतार उद्घाटन गरेको भनेर ओलीले आलोचना खेप्नु परेको थियो ।

धरहराको शिलान्यास २०७५ वैशाख १२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै गरेका थिए । पुरानो धरहरासँगै नयाँ धरहरा पुनर्निर्माण गर्नका लागि चिनियाँ निर्माण कम्पनी जीआईईटीसी–रमण कन्स्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी) ले ठेक्का पाएको थियो । पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भइसकेको छैन । निर्माण कम्पनी सातौं पटक म्याद थप्ने तयारीमा छ ।

काम नसकिएपछि म्याद थपको लागि निर्माण कम्पनीले शहरी विकास तथा भवन विभागअन्तर्गतको इकाई आयोजना कार्यालयमा प्रस्ताव पठाएको छ । जीआईईटीसी–रमण कन्स्ट्रक्सनले ०८१ को असारसम्म सबै काम गरी हस्तान्तरण गरिसक्ने जनाएको छ ।

महानगर र मन्त्रालयबीच टकराब

महानगरपालिकाले शहरी विकास मन्त्रालयलाई जानकारी नै नदिई पार्किङ खुला गरेपछि फेरि मन्त्रालय र महानगरबीच किचलो बढेको छ । काठमाडौंका मेयर शाहले गत १४ माघबाट धरहरा निर्माण भएको भवनको पहिलो तल्ला पार्किङका लागि खुल्ला गरेलगत्तै सोही दिन शहरी विकास मन्त्रालय अन्तरगत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) महानगरलाई पत्र लेखेर आपत्ति जनाएको थियो । हाललाई निर्माण कार्य नसकुन्जेल उक्त पार्किङ स्थलको उपयोग नगर्न पत्रमा अनुरोध गरिएको छ ।

तर, बालेनले भने इकाईको आग्रहलाई अस्वीकार गरेका छन् । २ वर्ष ९ महिनाअघि नै धरहराको उद्घाटन भइसकेकाले पार्किङ प्रयोग गर्न पाउनुपर्ने उनको तर्क छ । उनले इकाईलाई लिखित जवाफ दिनुको साटो सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । उनले पार्किङलाई निरन्तरता दिने बताएका छन् ।

शहरी विकासमन्त्री सीता गुरुङले महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् ।

सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधि विपरीत रहेको बताइन् ।

महानगरपालिकाले निर्माण अवरुद्ध हुने गरी गरेको निर्णय तत्काल रोक्नुपर्ने उनको भनाइ छ । मन्त्री गुरुङले २५० चार पाङ्ग्रे र ६०० दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने भए पनि निर्माण सम्पन्न नभएकाले तीन तलाको बेसमेन्टमुनि अक्सिजनको अभाव, बत्ती र आगो निभाउने यन्त्र (फायर एक्सटिंग्विसर) जडानलगायतका काम बाँकी रहेको बताइन् । मन्त्रीले चेतावनी दिएपनि पार्किङ भने रोकिएको छैन ।

बालेनप्रति निर्माण कम्पनीको आक्रोश

जीआईईटीसी-रमण कन्स्ट्रक्सनले धरहराको बेसमेन्ट लगायतमा काम गर्दै थियो । काठमाडौं महानगरपालिकाले एक्कासि बेसमेन्ट पार्किङको लागि खुला गरिदिएपछि निर्माण कम्पनी अलमलमा पर्‍यो । कम्पनीले डेढ महिनाभित्र आफैले सबै काम सकेर हस्तान्तरण गर्ने तयारी गरेको थियो ।

एक्कासि पार्किङ खुला गरिदिएपछि काम गर्न व्यवधान भएको रमण कन्स्ट्रक्सनका अध्यक्ष रमण महतोले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हाम्रो पनि टार्गेट छिटो दिऊँ भन्ने हो । छिटो–छिटो हस्तान्तरण गर्न पाएमा हामी पनि प्रोजेक्टबाट उम्कन पाउँथ्यौँ ।’

महतोका अनुसार बेसमेन्ट पार्किङका लागि तयार हुन करिब एक महिना जति लाग्छ ।

‘अब करिब एक महिना जति लाग्छ । दुई–चारवटा काम पार्किङ एरियामा बाँकी छ । त्यो सकाएर कम्तीमा पार्किङ हस्तान्तरण गरेर अरू सबै काम दुई तीन महिनामा सकाएर उम्किने टार्गेट हो,’ उनले भने ।

महानगरपालिकाले कुनै सल्लाह नगरी एक्कासि पार्किङ खुलाएकोमा महतो मेयर शाहप्रति आक्रोशित छन् । धरहरा महानगरको अधिकार क्षेत्रभित्र नपर्ने समेत उनको तर्क छ ।

महताको भनाइ उनकै शब्दमा:

धरहराको काम अन्तिम चरणमा छ । धमाधम काम भइरहेको बेला महानगरले विभिन्न तरिकाले दुख दिने काम गर्‍यो ।

मेयरज्यूले सल्लाह गरेको भए एक महिनापछि हामी काम सकेर पार्किङ खोलिदिने थियौँ । महानगरपालिकाले केही हप्ताअघि टुँडिखेलमा बसेका कामदारहरूको क्याम्पमा डोजर लगाइदियो । जबकि टुँडिखेलमा कामदार र सामान राख्नको लागि रक्षा मन्त्रालयसँग स्वीकृत लिएका थियौँ । प्रोजेक्ट सकिने अन्तिम समयमा आएर त्यहाँ डोजर लगाएर स्टन्ट देखाउने काम भयो । त्यहाँ रहेका कामदार र सामानहरूको बिचल्ली भएपछि काममा केही सुस्तता आएको हो ।

टुँडिखेलको क्याम्पमा डोजर चलेपछि कामदारहरू भागाभाग भए । कामदारको बिचल्ली भएपछि प्रोजेक्ट ढिला हुँदैन त ? त्यहाँ २ सय जना कामदार थिए । उनीहरूलाई राख्ने ठाउँ नै छैन । अचानक मैले कहाँबाट बस्ने ठाउँ बनाऊँ ? साइटमा यताउता मिलाएर राखेका छौँ । यस्तो अत्याचार पनि गर्ने हो ? हामी प्राइभेट सेक्टर होइन । सडक मिचेर घर बनाएको भए पो घर भत्काउने र पर्खाल भत्काउने कुरा आउँछ । त्यो त सरकारी सम्पत्ति हो ।

अहिले एक्कासि धरहरामा पार्किङ खुलाउँदा काम गर्न समस्या भएको छ । मेयर साबले सोधेर सल्लाह गरेर गर्नुपर्थ्यो । उहाँ जहाँ पनि पेलेर एकलौटी हिँड्नुहुन्छ । त्यो अलि मिलेन । अलि व्यावसायिक भएन । त्यो महानगरको सम्पत्ति पनि होइन । उहाँले आएर जहाँ पायो त्यहीँ अधिकार जमाउन पाउनुहुन्न । त्यो गलत हो ।

मेयरसाव आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्नुहुन्छ । अहिले ढिलो भएको कारण त्यो पनि हो । सामान राख्ने ठाउँ छैन । कहाँ राख्ने मैले ? बेस, सबबेसहरु कहाँ हाल्ने ? राति राति मात्र सामान छिराउन पाइन्छ । राख्ने ठाउँ त चाहियो । त्यो सबै कुरा त हामीले स्वीकृत लिएर गरेको हो । टुँडिखेल भनेको नगरपालिकाको जग्गा पनि होइन । त्यो त रक्षा मन्त्रालयसँग स्वीकृत लिएर सामान राखेको हो ।

पार्किङ केही महत्त्वपूर्ण काम बाँकी छन् । बेसमेन्टमा कार्वनडाइअक्साइड हेभि हुन्छ । त्यसको लागि सिस्टम जडान गरिएको छैन । भोलि पर्सी केही भयो भने कसले जिम्मा लिने भन्ने कुरा हुन्छ । मान्छे अक्सिजन नपुगेर निसास्सिएर मर्न सक्छन् । कसले जिम्मा लिने ?

दुईदेखि तीन महिनामा पार्किङ एरिया, बगैँचालगायत बाँकी काम टुंगिने आशा छ । अहिले मुख्य भनेको इलेक्ट्रिकल, एयर कन्डिसिन्ङ, वाइरिङ, फायर फाइटिङको काम बाँकी छ । बगैँचाको काम धेरै बाँकी छैन ।

एक महिनाभित्र सबै मैले नै सहमतिमा जडान गरेर दिन खोजेको हो । आखिर बनाएको त्यसैको लागि हो । अहिले पनि बालेनले सेतो टावर भनेर र लेख्छन् । उनले बनाएको त सेतो टावर र पार्किङ ? मेयरको कार्यकालमा महानगरभित्र कति करोडको संरचना बनाएका छन् ?

धरहराभित्रको संग्रालय बनाउन ४ महिना लाग्छ । जेठसम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य हो । बेसमेन्टको काम ४५ दिनभित्र सकेर दिने टार्गेट छ ।

हामीले निर्माण कार्य सम्पन्न गराउनका लागि थप म्याद मागेका छौँ । भेरियसनको कामहरु टुंगिएको छैन । विभागबाट भेरिएसन भएर आएपछि मात्र अरू कामहरु हुन्छ । आयोजनाबाटै निर्णय पेन्डिङ हुँदा भएर ढिला भइराखेको छ । कर्मचारीतन्त्रको प्रक्रिया लामो छ । चेन अफ कमान्ड हुन्छ । त्यही अनुसार स्वीकृत हुन्छ । मेरो व्यक्तिगत काम भए पो आजको भोलि निर्णय हुन्थ्यो ।

हाम्रो अहिलेसम्म २ अर्ब ५० करोड खर्च भइसकेको छ । हामीले झण्डै ५० करोड रुपैयाँ रकम लिनुपर्ने छ ।


प्रतिक्रिया

One thought on “ठेकेदार कम्पनी बालेनसँग आक्रोशित : महतो भन्छन्- धरहरा महानगरको होइन, मेयरले स्टन्ट गर्नुभयो

  1. सस्तो लोकप्रियताको लोभमा निर्माण कार्य नसकिदै उद्घाटन गर्ने अहिले आएर काम सकेको छैन भनेर अड्को थाप्ने काम गर्न त भएन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर