विराटनगरमा एक वर्षभित्रै विद्युतीय गाडी उत्पादन गर्ने तयारी – Nepal Press

विराटनगरमा एक वर्षभित्रै विद्युतीय गाडी उत्पादन गर्ने तयारी

विराटनगर । विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता गरेको कोशी एन के मोटर्स प्रा.लिले एक वर्षभित्रै उत्पादन सुरु गर्ने बताएको छ ।

कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्ने गरी ‘फास्ट ट्र्याक’ बाट काम गरिने बताए । उनले सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पादन हुने र क्रमशः सबै किसिमका सवारी साधन उत्पादन गरिने जानकारी दिँदै कम्पनी स्थापनाको लागि काम तीव्र तर गतिमा अघि बढाइने बताए ।

यस्तै उनले सम्झौता भएपछि केही सञ्चारमाध्यममा आए जस्तो कम्पनीका लागि चिनियाँ कम्पनीले लगानी गर्ने कुरा गलत र भ्रामक रहेको बताए ।

उनले भने,‘लगानी कोशी एन के मोटर्सले नै गर्ने हो, चिनियाँ कम्पनीले हामीलाई प्राविधिक सहयोग गर्ने हो । त्यस कम्पनीका पार्टस् तथा आवश्यक कच्चा पदार्थ हामीले खरिद गर्ने तथा दुई वर्षसम्म दक्ष प्राविधिक हामीलाई सहयोग गर्ने सम्झौता भएको हो ।’

नेपालमा लगानी सम्मेलन चलिरहेको अवस्थामा केही सञ्चार माध्यमहरूले त्यससँग जोडेर चिनियाँ कम्पनीको लगानी भन्ने विषय जोडेर समाचार आएपछि आफूहरूको समेत ध्यानाकर्षण भएको भन्दै अध्यक्ष पुरीले त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरे ।

उनले नेपालमा उत्पादन हुने सवारी साधन नेपाली ब्रान्डकै हुने समेत जानकारी दिँदै यसलाई नेपालको उत्पादन भनेर सबैले गौरव गर्न सक्ने बताए । नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ १७ वैशाखमा कोशी एन के मोटर्स प्रा. लि र चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडबीच द्विपक्षीय सम्झौता भएको थियो । कोशी एन के मोटर्सले मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा कम्पनी सञ्चालकको तयारी गरेको छ ।

सुरुवाती चरणमा ३ अर्ब रुपैयाँको लागत रहने कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर