मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रचण्ड प्रयासमा देउवा तगाराे ! – Nepal Press

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रचण्ड प्रयासमा देउवा तगाराे !

काठमाडौं । मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्छु भन्न थालेको धेरै भइसक्यो । तर, प्रधानमन्त्रीको चाहनाअनुसार गठबन्धनमा कुरा अघि बढिसकेको छैन ।

आफूले नेतृत्व गरेको सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था छैन । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने अब कसैले पनि ठाउँ ओगटिरहनुहुँदैन, छाडिदिनुपर्छ ।’

सरकारलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरु हटाउन प्रचण्डको प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भइसकेका छैनन् । पार्टीबाट पठाएका मन्त्री फेर्न नेकपा एकीकृत समाजवादी, जसपालगायत साना घटक तयार नै देखिन्छन् ।

उनीहरुले पार्टीका सांसदहरुलाई मन्त्री बनाउन भाग पुर्‍याउनुपर्ने भएकाले पनि प्रधानमन्त्रीको प्रस्तावमा सहमत देखिन्छन् । तर, कांग्रेस सभापति देउवा अहिले मन्त्री फेर्ने मूडमा छैनन् ।

प्रधानमन्त्रीले भने जस्तो अहिले नै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।

उनले भने, ‘प्रधानमन्त्रीले पहिलेदेखि नै भन्दै आउनुभएको हो । तर, राष्ट्रियसभाको निर्वाचन र महासमितिपछि मात्रै गरौं भन्ने सभापतिको कुरा हो । त्यसका लागि अहिले हामी तयार छैनौं भनिसकेका छौं ।’

अहिले मन्त्रिपरिषद् विस्तारतिर लाग्दा पार्टीको बैठक डिस्ट्रव हुनसक्ने उनको भनाइ छ ।

विश्वकर्माले थपे, ‘उहाँहरुको सरकारमा ककसलाई पालो पुर्‍याउनुपर्ने हुनसक्छ । हामी चाहिँ त्यही भएर पुनर्गठनको अवस्थामा छैनौं । त्यो कुरा प्रधानमन्त्रीलाई भनिसकेका छौं ।’

विश्वकर्माले मात्रै होइन कांग्रेसबाटै सरकारमा गएका कानूनमन्त्री धनराज गुरुङ पनि तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको दाबी गर्छन् ।

बुधबार बुटवल पुगेर उनले भने, ‘अहिले मन्त्री परिवर्तन गरिहाल्ने परिस्थिति छैन । सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठीक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ ले गठबन्धनभित्र तरंग ल्याए पनि त्यसले खासै असर नगर्ने उनको भनाइ छ ।

तर, प्रचण्ड र देउवाबीच गृह र अर्थ मन्त्रालय नेतृत्व गर्ने विषयमा कुरा नमिल्दा पुनर्गठन हुन नसकेको बताइन्छ ।

प्रचण्ड अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन् । देउवा महतलाई फिर्ता गर्ने पक्षमा छैनन् । तर, देउवा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हटाउनुपर्ने पक्षमा छन् ।

केही मन्त्रीमात्रै फिर्ता बोलाउँदा पार्टी र गठबन्धन दलभित्र पनि समस्या पर्नसक्ने भएकाले प्रचण्डले सेट नै फेर्नेसम्मको आन्तरिक तयारी गरेका थिए । तर, देउवाले उपप्रधानमन्त्री खड्का र अर्थमन्त्री महतलाई च्यापेपछि प्रचण्डको प्रयास असफल भएको बताइन्छ ।

देउवापत्नी आरजु राणाको नाम मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेदेखि नै गृहमन्त्री श्रेष्ठदेखि देउवा बिच्किएका छन् । त्यही प्रकरणमा पार्टी नेता बालकृष्ण खाण पक्राउ गरेपछि देउवा आक्रामक छन् । यद्यपि, खाण अहिले धरौटीमा छुटिसकेका छन् । कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ९ जना मन्त्री छन् ।

गृहमन्त्री श्रेष्ठले आफू निकट नेताहरुलाई जोगाएर कांग्रेस नेताहरु लक्षित गर्दै अघि बढेको कांग्रेसको निष्कर्ष छ। गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ । चौधरी कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ हुन् ।

देउवाले मन्त्री तत्काल नफेर्ने अडान लिए पनि सरकारमा गएका मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै पार्टीभित्रै चर्को आलोचना हुँदै आएको छ ।

यता शीर्ष नेताहरु नै सरकारमा रहेकाले तत्कालै फिर्ता बोलाउन प्रचण्डलाई पनि अप्ठेरो परेको माओवादीका एक नेता बताउँछन् ।

ती नेताले भने, ‘कांग्रेसबाट पूर्णबहादुर, प्रकाशरण महतजी र हाम्रोबाट नाराणकाजीजी नै सरकारमा हुनुहुन्छ । त्यसैले प्रधानमन्त्रीको चाहनाले त्यो सम्भव छैन । सरकारमा रहेका व्यक्तिको चाहनामा भर पर्छ ।’

ती नेताका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षाबाहेक परिस्थितिअनुसार साना फेरिनसक्छ । ती नेताले थपे, ‘अब कृष्णप्रसाद सिटौलाजीलाई कहाँ लाने भन्ने विषयमा पनि गठबन्धनमा छलफल हुन्छ। शीर्ष नेताहरुकै कारणले ठूलो संख्यामा पुनर्गठन हुँदैन ।’

मधेश सरकारबाट बाहिरिसकेको जनमतले छाडेपछि सामान्य प्रशासनमा माओवादीकै हुने ती नेताको दाबी छ ।

माओवादी केन्द्रका का सचिव गणेश शाह मन्त्रिपरिषद् पुनर्गठनको विषयमा गठबन्धनमा छलफलपछि मात्रै निर्णय हुने बताए ।

उनले भने, ‘यो प्रधानमन्त्रीले चाहेरमात्रै हुने कुरा होइन । गठबन्धन दलका सबै नेताहरुले चाहनुप¥यो । त्यसमा आवश्यक छलफल गरेर निर्णय हुन्छ होला ।’

कांग्रेसको इतर पक्षका नेता डा. शेखर कोइराला प्रचण्ड सरकारले देशलाई निकास दिन नसक्ने भएकाले कांग्रेसले नै सरकारको नेतृत्व गनुपर्ने पक्षमा छन् ।

गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार अब प्रचण्डले सरकारको नेतृत्व गर्ने करिब ११ महिनामात्रै बाँकी छ । प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कि देउवा प्रधानमन्त्री बन्ने भन्नेमा अहिलेसम्म कुरा मिलिसकेको छैन । तर, कांग्रेसको इतर पक्ष अब माधव नेपाललाई प्रधानमन्त्री छाड्न तयार छैन ।

त्यसैले नेता कोइरालाको भनाइप्रति कांग्रेस सांसद सञ्जय गौमत पनि सहमत छन् । उनी भन्छन्, ‘मन्त्रिपरिषद् मात्रै होइन । समयले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने आवश्यकता देखिइसक्यो, ढिलो गर्नुहुन्न । जनतामा देखिएको निराशा चिर्दै व्यवस्थाको रक्षा गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर