राष्ट्रियसभा अध्यक्ष: गठबन्धनभित्र कांग्रेसविनै माओवादीको पक्षमा बहुमत – Nepal Press

राष्ट्रियसभा अध्यक्ष: गठबन्धनभित्र कांग्रेसविनै माओवादीको पक्षमा बहुमत

कोशी ‘फ्लोर क्रस’बारे प्रारम्भिक समीक्षा- कांग्रेसभित्रैबाट योजनाबद्ध ढंगले हराइयो

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट गठबन्धनको निर्णयविपरीत फ्लोर क्रस गरेर एमालेको उम्मेदवारलाई जिताएपछि अध्यक्षको भागबन्डा पेचिलो बन्नसक्ने देखिएको छ ।

कांग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमतिका साथ राष्ट्रियसभामा ल्याइएको थियो । तर, गठबन्धन दलभित्र अध्यक्षको भागबन्डा मिलेको छैन ।

कांग्रेसले स्वाभाविक रुपमा अध्यक्ष आफ्नो भएको दाबी गरे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि दाबी छाडेका छैनन् । माओवादी बिहीबार भएको निर्वाचनमा घात भएको भन्दै कांग्रेससँग चिढिएको छ ।

गठबन्धनका तर्फबाट कोशीमा उम्मेदवारी दिएकी माओवादीकी चम्पादेवी कार्कीलाई हराउँदै एमाले-राप्रपा गठबन्धनबाट एमालेकी रूक्मिणी कोइरालाले जीत निकालेकी थिइन् । कोशीमा कांग्रेसबाट एमालेलाई सहयोग भएपछि प्रधानमन्त्री प्रचण्डले घात भएको भन्दै सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेका छन् ।

प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राष्ट्रियसभा निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आएको छ । हामी इमानदार हुने, तर कांग्रेसबाट घात भयो । अहिले पनि हाम्रो उम्मेदवारलाई हराएको कुरा सामान्य होइन, यसलाई गम्भीर रूपमा लिएको छु ।’

आफूले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक पदमा माओवादी एक जना पनि नहुने भएपछि प्रचण्डले राष्ट्रियसभा अध्यक्ष आफैंसँग राख्न चाहेको माओवादीका नेताहरु बताउँछन् ।

अहिले कांग्रेसबाट भइरहेको घातपछि गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार सत्ता हस्तान्तरणको बेलामा इमानदार नहुनसक्ने चर्चा चल्न थालेको छ ।

कांग्रेसको कारण कोशीमा यसअघि माओवादीले सभामुख र मुख्यमन्त्री पनि गुमाएको थियो । कोशीको मुख्यमन्त्री माओवादीलाई दिने सहमति भइसकेपछि कांग्रेसको डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर आफ्नै नेतृत्वको सरकार बनाएको थियो । अहिले त्यही गुण तिर्न शेखर पक्षले एमालेका उम्मेदवारलाई भोट हालेर माओवादीलाई हराएको विश्लेषण छ ।

गठबन्धन दलमा राष्ट्रियसभाको अध्यक्षका लागि रस्साकस्सी चलिरहेको बेलामा कांग्रेससँग कुरा नमिले पनि गठबन्धनभित्रैबाट पनि माओवादीको पक्षमा बहुमत पुग्ने अंकगणित छ ।

राष्ट्रियसभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७, कांग्रेसको १६, एमालेको १०, नेकपा एसको ८, जसपाको ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा तथा स्वतन्त्रको एकएक जना छ । अहिले माओवादीकी उर्मिला अर्याल राष्ट्रियसभामा उपाध्यक्ष छिन् ।

राष्ट्रपतिबाट मनोनीत हुने एक सीटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति बनिसकेको छ । ५९ सीट रहेको राष्ट्रियसभामा अध्यक्षका लागि ३० सांसद चाहिन्छ । जसमा माओवादी, नेकपा एस, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्छ । जुन राष्ट्रियसभामा अध्यक्ष लिन पर्याप्त छ ।

माओवादीका १७, नेकपा एसका ८, जसपाका ३ र जनमोर्चाका २ (मनोनीतसहित) हुँदा सांसद संख्या ३० पुग्छ । त्यो अवस्थामा एक सीट रहेको लोसपाले पनि सहयोग गर्नसक्छ ।

माओवादीका सचिव तथा पूर्वमन्त्री चक्रपाणि खनाल कोशीमा कांग्रेसबाटै योजनाबद्ध ढंगले आफूहरुलाई हराएको बताउँछन् ।

उनले भने, ‘यस विषयमा हामी छलफल गर्दैछौं । यो अब केन्द्रमा छलफल हुन्छ । योजनाबद्ध ढंगले हराएका छन् । १७ पालिका र ३ जना सांसदले एमालेतिर भोट हालेका छन् ।’

उनले माओवादीले गठबन्धनमा इमानदार भएर भोट हाले पनि कांग्रेसबाट घात भएको बताए ।

माओवादीका प्रवक्ता अग्नि सापकोटाले पनि कोशीको बारेमा छलफल भइरहेको बताए । उनले भने, ‘हामीले कोशीको विषयलाई गम्भीर रुपमा लिएका छौं । कोशीमा भएको घटनाबारेमा हामी बुझ्दैछौं ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि कोशीको विषयलाई गम्भीर रुपमा लिएको बताउँछन् । कोशीको घटनालाई लिएर विचलित नहुन माओवादीलाई अनौपचारिक रुपमा आग्रह गरिसकेको उनले बताए ।

उनले भने, ‘यसबाट विचलित नहुन सहयात्री दल माओवादीलाई अनौपचारिक रुपमा अनुरोध पनि गरेका छौं । यो मात्रै पहिलो होइन, तीन तहको चुनावमा निर्देशनको उल्लंघन भएको छ । गण्डकीमा पनि प्रयास गर्नुभएको छ । यसलाई गम्भीर रुपमा लिएर शीर्ष तहमा कुराकानी हुन्छ ।’

कांग्रेसबाट पार्टीको निर्णयविपरीत भोट हालेको देखिएकाले त्यस विषयमा गम्भीर छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । उनले अध्यक्ष पक्का भएरै सिटौला राष्ट्रियसभामा गएको बताए ।

‘राष्ट्रियसभाको अध्यक्षमा माओवादी ठूलो दल भएकाले दाबी गर्नु स्वाभाविक हो । सिटौला दाइको नाममा प्रचण्डजीले विमति राख्नुहुन्न भन्ने लाग्छ’, उनले भने, उनले भने, ‘संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन बाँकी छ । शान्ति प्रक्रियाको वार्ता समितिको संयोजक र संविधानको मस्यौदा समितिको संयोजक भएकाले प्रचण्डलाई पनि सहयोग पुग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर