‘स्न्याप च्याट’ मा किन छ युवाहरुको आकर्षण ? पोर्नोग्राफी र फेस म्यापिङको खतरा उत्तिकै – Nepal Press

‘स्न्याप च्याट’ मा किन छ युवाहरुको आकर्षण ? पोर्नोग्राफी र फेस म्यापिङको खतरा उत्तिकै

काठमाडौं । अहिले ‘स्न्याप च्याट’बारे नसुन्ने सायदै होला । विशेषगरी स्कुल/कलेजका विद्यार्थीहरु यसमा अभ्यस्त छन् । त्यसमाथि क्रिकेटर सन्दीप लामिछानेमाथि गौशाला- २६ ले बलात्कारको आरोप लगाएलगत्तै उछालिएको नाम हो ‘स्न्याप च्याट’ ।

सन् २०२३ सम्म विश्वमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालहरुको आठौं नम्बरमा ‘स्न्यापच्याट’ रहेको छ । यसअघि सन् २०२२ देखि २०२३ को बीचमा यो सातौं स्थानमा थियो ।

‘स्न्याप च्याट’ को आधिकारिक वेबसाइटका अनुसार विश्वभर स्न्याप च्याटका प्रयोगकर्ता ७५ करोड छन् । जसमध्ये ४० करोड ६० लाख दैनिक प्रयोगकर्ता छन् । यो ‘प्लेस्टोर’ बाट एक अर्ब बढी ‘डाउनलोड’ भइसकेको छ ।

खल्तीबाट मोबाइल निकाल्दा सबैभन्दा पहिला ‘स्न्याप च्याट’ खोलिन्छ, एक ल्लिक अनि साथीहरुलाई शेयर गर्ने स्न्याप च्याटको खासियत हो । अनलाइन होस् या अफलाइन जतिबेला पनि प्रयोग गर्न मिल्ने ‘स्न्याप च्याट’ को दुनियाँ बेग्लै छ । चाहे त्यो सयौं फिल्टर प्रयोग गरेर भिडियो बनाउने होस् या च्याट, अडियो र भिडियो कल गर्न होस् । अहिले अधिकांश मानिसले प्रयोग गर्ने एप्लिकेसन बनिसकेको छ स्न्याप च्याट । यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रविधिको बढ्दो विकासक्रमले मानिसहरुको जीवनमा आमूल परिवर्तन ल्याएको छ । सँंगै जोखिम पनि दिन प्रतिदिन निम्त्याइरहेको छ । जसको उदाहारण पछिल्लो समय नेपालमा टिकटकको बढ्दो नकारात्मक प्रभाव र प्रतिबन्ध गर्नुपर्ने अवस्थालाई लिन सकिन्छ ।

नेपालमा सन् २०२२ देखि २०२३ को बीचमा फेसबुकका प्रयोगकर्ता ३.७ प्रतिशतले घटेको रिपोर्टले देखाउँछ । जसको मुख्य कारण टिकटक थियो । तर, सरकारले टिकटकलाई प्रतिबन्ध गरेको छ ।

कुनै पनि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा त्यसका प्रयोगकर्ताहरु घटे पनि उनीहरु त्यसको विकल्पको खोजीमा हुन्छन् । नेपालमा टिकटक प्रतिबन्ध लगाएपछि यसका प्रयोगकर्ताहरु अन्य विकल्पतर्फ लागेका छन् र लाग्दैछन् । टिकटकको पहिलो विकल्प फेसबुक छ भने अर्को स्न्याप च्याट अगाडि आएको छ ।

एकातर्फ फेसबुकका प्रयोगकर्ता टिकटकका कारण घटेका छन् । स्न्याप च्याटका प्रयोगकर्ता क्रमशः बढेका छन् । किनभने अधिकांश मानिस भिडियो कन्टेन्टतर्फ आकर्षित छन् र स्न्याप च्याट त्यसमा अगाडि देखिन्छ । विश्वमै यसका प्रयोगकर्ता बढ्दै गएका छन् ।

स्न्याप च्याटका सक्रिय प्रयोगकर्ताहरुमध्ये ५० प्रतिशतभन्दा बढी एसियामा रहेको तथ्याङ्कले देखाउँछ । त्यसमा पनि विश्वमै सबैभन्दा बढी स्न्याप च्याट प्रयोगकर्ता भएको राष्ट्र एसियाकै भारत हो ।

नेपालमा टिकटक प्रतिबन्ध हुनुभन्दा पहिले सन् २०२० मा भारत सरकारले त्यसलाई प्रतिबन्ध गरेको थियो । अधिकांश कुरामा भारतको असर नेपालमा पर्छ ।

००००

नेपालमा कुल जनसंख्याको ५१.६ प्रतिशतले इन्टरनेट प्रयोग गर्छ । सन् २०२२ देखि २०२३ सम्मको एक वर्षमा इन्टरनेट प्रयोगकर्ता १.२ प्रतिशतले बढेको डाटा रिपोर्टले देखाएको छ ।

सन् २०२३ सम्म नेपालमा १ करोड २६ लाख सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । जसमध्ये १ करोड १३ लाख ५० हजार १८ वर्षमाथिका छन् । यसमा पनि ४३.६ प्रतिशत महिला र ५६.४ प्रतिशत पुरुष छन् ।

नेपालमा कुल इन्टरनेट प्रयोगकर्तामध्ये ९४ प्रतिशत अर्थात १ करोड १८ लाख ५० हजारले फेसबुक चलाउँछन् । यसको मतलब नेपालीहरु फेसबुक बढी चलाउँछन् । तर, सन् २०२२ देखि २०२३ को बीचमा फेसबुक प्रयोगकर्ता ३.७ प्रतिशतले घट्यो ।

नेपालमा कुनै पनि नयाँ प्रविधि अत्यधिक रुपमा हाबी हुने गरेको पाइन्छ । कुनै नयाँ ठाउँमा घुम्न जाँदा होस् या अफिसबाट घर फर्कंदा, स्कुल/कलेजमा होस् या कार्यक्रममा, बाटोमा हिँड्दा होस् या घुम्न जाँदा सबैतिर कही न कही कसै न कसैले स्न्याप च्याट चलाएकै हुन्छ । त्यसमा पनि अधिकांश १७-१८ देखि ३०-३२ उमेर समूहका मानिसहरु बढी देखिन्छ ।

उमेरअनुसार स्न्याप च्याटका प्रयोगकर्ता १३ देखि ३४ वर्ष उमेरका ८० प्रतिशत छन् । ३.८ प्रतिशतमात्रै ५० वर्षमाथिका प्रयोगकर्ता रहेको ‘याहो फाइनान्स’ को तथ्याङ्कले देखाएको छ ।

कसरी प्रयोग गर्ने स्न्याप च्याट ?

स्न्याप च्याट फोटो तथा भिडियो अर्थात मल्टिमिडिया कन्टेन्ट शेयर गर्न बनाइएको एप्लिकेशन हो । सामान्य भाषामा ‘स्न्याप च्याट’ फेसबुक म्यासेन्जर जस्तै मोबाइल एप हो । जसमा फोटो र भिडियो शेयर गर्न सकिन्छ । यसमा च्याट र भिडियो तथा अडियो कल पनि गर्न सकिन्छ ।

तर, यसको मुख्य विशेषता भनेको यसमा च्याट गरेका सबै कुराकानी २४ घण्टापछि आफैं डिलिट हुन्छ । स्न्याप च्याटको च्याट बक्समा सेभ गरेर राखेका फोटो तथा भिडियोबाहेक सबै डिलिट हुन्छ ।

यसको एल्गोरिदम नै यसरी डिजाइन गरिएको छ कि लाखौं भिडियो तथा फोटो मज्जाले अट्छ । यसका लागि ‘गुगल फोटो’ जस्तै छुट्टै स्टोरोज फिक्स अथवा खरिद गर्नुपर्दैन । एउटा प्रयोगकर्र्ताले जति मनलाग्यो, त्यति भिडियो तथा फोटो सेभ गरेर राख्नसक्छ र चाहेको बेला त्यसलाई डाउनलोड गर्न सकिन्छ ।

फेसबुक स्टोरी जस्तै स्न्याप स्टोरी पनि रहेको छ, जसमा लाखौं स्टोरी अपलोड र शेयर भइरहेका हुन्छन् । सबै प्रकारका भिडियो आउँदै गर्दा स-साना बालबालिकालाई यसको नकारात्मक प्रभाव पर्नसक्छ । किनभने स्न्याप च्याटका ८० प्रतिशत प्रयोगकर्ता १३ देखि ३२ वर्षका छन् ।

स्न्याप ‘स्ट्रिक’ र स्कोरको दुनियाँ

स्न्याप च्याटमा ‘स्ट्रिक’ र ‘स्कोर’को फिचर छन् । स्न्याप स्ट्रिक र स्कोर भनेको एक प्रकारको फेसबुक, टिकटक अथवा इन्स्टाग्राममा प्राप्त गरेको लाइक/फलोअर्स जस्तै हो ।

स्न्याप स्ट्रिक भनेको च्याट बक्समा प्रत्येक दिन स्न्याप शेयर गर्दा प्राप्त हुने ‘प्वाइन्ट’ हो । २४ घण्टामा एक व्यक्तिले अर्को व्यक्तिलाई स्न्याप पठाउँदा एक ‘स्ट्रिक’ प्राप्त हुन्छ । स्ट्रिक दुवै व्यक्तिले एक अर्कालाई पठाएमा मात्रै प्राप्त हुन्छ । एक दिनमा जतिसुकै स्न्याप पठाउँदा पनि एउटामात्रै स्ट्रिक प्राप्त हुन्छ । स्न्याय स्ट्रिक च्याट बक्समै ‘अगो’ साइनमा देखिन्छ ।

जति स्न्याप स्ट्रिक हुन्छ, त्यति दिनसम्म दुवैको स्न्याप आदानप्रदान भएको थाहा हुन्छ । यदि २४ घण्टा बितिसक्दा पनि स्न्याप आदानप्रदान भएन भने स्ट्रिक हराउँछ र पुनः एकबाट सुरु हुन्छ ।

स्न्याप च्याटको अर्को विशेषता ‘स्न्याप स्कोर’ हो । स्न्याप स्ट्रिक जस्तै स्कोर पनि हुन्छ । तर, स्न्याप स्कोर एक दिनमा धेरै बनाउन सकिन्छ । स्न्याप स्कोर कति स्न्याप पठायो र कति आफूलाई प्राप्त भयो, त्यसलाई काउन्ट गरेर बढ्ने गर्छ ।

स्न्याप च्याट प्रयोगकर्ताहरुले एकापसमा सबैभन्दा पहिला स्न्याप स्ट्रिक र स्कोरलाई हेर्ने गर्छन् । यी दुई कुरा प्रयोगकर्ताका लाइक र फलोअरहरु हुन् ।

यसरी दुरुपयोग हुनसक्छ स्न्याप च्याट

स्न्याप च्याट प्रयोग गर्नु सामान्य हो । तर, यसको प्रयोग प्रोर्नोग्राफी र फेस म्यापिङमा हुने खतरा रहन्छ । स्न्याप च्याटका पुराना प्रयोगकर्ताहरुलाई त्यति जोखिम नभए पनि नयाँ प्रयोगकर्ताहरुलाई अत्यधिक खतरा हुने गर्छ ।

स्न्याप एकाउन्ट खोल्दा सुरुमा मानिसहरुका ‘रिक्वेस्ट’ आउने गर्छ । जुन सामान्य हो । तर, त्यसमा कतिपय अकाउन्ट यस्ता हुन्छन्, जसले अश्लील अर्थात पोर्न भिडियोका स्न्यापहरु पठाउने गर्छन् र च्याटमा लिङ्क कन्ट्याक्ट नम्बर पठाउने गर्छन् ।

त्यस्ता अकाउन्टबाट आएका लिंकहरुमा जाँदा प्रयोगकर्तालाई अनावश्यक म्यासेज आउने ‘रिक्वेष्ट’ आउने गर्छ । साथै कतिपय क्यामराका फिल्टरहरुमा अनुहार परिवर्तन गर्ने फिचर हुन्छ । त्यसमार्फत अरुसँग अनुहारलाई जोडेर भिडियोहरु पठाउँछ ।

स्न्याप च्याट स्टोरीहरुमा रहेको एउटा फिचर ‘केमओस स्टोरिज’ हो । यसमा एक पटक प्रयोगकर्ताले आफ्नो अनुहारको फोटो खिच्यो भने अनावश्यक मानिसहरुसँग अनुहारलाई जोडेर दिन प्रतिदिन स्टोरी भिडियो कन्टेन्टहरु दिन्छ । यसमा सबै प्रकारका भिडियोहरु पर्छन्, जुन अश्लील पनि हुनसक्छन् ।

कसरी सुरु भयो ‘स्न्याप च्याट’ ?

सन् २०११ मा अमेरिकामा मल्टिमिडिया कन्टेन्टहरु तत्काल पठाउन इभान स्पिगेल र बबी मफीले ‘स्न्याप इन्क’ नामक कम्पनी सञ्चालन गरेका थिए । दुवैले उक्त मल्टिमिडिया कन्टेन्टहरु आदानप्रदान गर्न स्थापना गरिएको ‘स्न्याप इन्क’ को नाम ‘पिकावो’ राखे ।

सन् २०१३ को अन्तमा ‘पिकावो’ लाई थप अपडेट गरेर ‘स्न्याप च्याट’ नाम दिएर सञ्चालनमा ल्याइएको थियो । सन् २०२४ जनवरीसम्म ‘स्न्याप च्याट’को नेट वर्थ २७.२४ बिलियन अमेरिकी डलर रहेको छ । जबकि सन् २०१४ मा ‘स्न्याप च्याट’ सुरु गर्दा यसको नेट वर्थ ३.४ मिलियन अमेरिकी डलरमात्रै थियो । स्न्याप च्याट सुरु गरेको १० वर्षमा करिब २७ बिलियन नेट वर्थ बनाउन सफल भएको छ ।

‘भिजुअल क्यापिटलिस्ट डटकम’ को एक लेखअनुसार सन् २०१४ मा फेसबुकका सीईओ मार्क जुकरबर्गले करिब ४ मिलियन अमेरिकी डलर नेट वर्थ भएको ‘स्न्याप च्याट’ लाई ६० मिलियन अमेरिकी डलरमा बेच्न अफर गरेका थिए । तर, स्न्याप च्याटले उक्त अफर अस्वीकार गरेको थियो । अहिले स्न्याप च्याटको नेट वर्थ २७.२४ बिलियन अमेरिकी डलर पुगेको छ ।

स्न्याप च्याटको क्रेज विश्वभर जसरी फैलिएको छ, त्यसरी नै नकारात्मक कुरा पनि फैलिँदाे छ । नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउँदा स्न्याप च्याट पनि बन्द गर्नुपर्ने माग उठेको थियो । तर, सूचना तथा प्रविधि मन्त्रालयले स्न्याप च्याटलाई अनुगमनका रुपमा मात्रै हेरेर छोड्यो ।

स्न्याप च्याट इरान, चीन, क्युबा र उत्तर कोरियालगायतका मुलुकमा प्रतिबन्ध लगाइएको छ । स्न्याप च्याट जस्ता प्लेटफर्महरुमार्फत आदानप्रदान गरिने गोप्य सूचनाको सुरक्षा र पश्चिमा मुलुकहरुको प्रभावलाई रोक्न यी मुलुकहरुले स्न्याप च्याटमाथि प्रतिबन्ध लगाएको दाबी गरिएको छ ।

फेसबुकसमेत सात देशमा प्रतिबन्ध लगाइएको छ ।

विभिन्न एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर