हत्या आरोपमा पक्राउ आदेशपछि के भन्छिन् पञ्चा सिंह ? – Nepal Press

हत्या आरोपमा पक्राउ आदेशपछि के भन्छिन् पञ्चा सिंह ?

काठमाडौं । अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहलाई हत्या अभियोगमा पक्राउका लागि अदालतले अनुमति दिएपछि माओवादी वृत्त तरंगित बनेको छ । १५ वर्ष अगाडि भएको हत्याको घटनालाई लिएर पञ्चासहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले गत शुक्रबार अनुमति दिएको हो ।

सुर्खेतको जनमाविमा अध्ययनरत कालीकोटका १७ वर्षीय राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी पञ्चा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

घटनाको मिसिलअनुसार पञ्चा सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरुले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा भर्ना भएका थिए । यही विषयमा आफ्नो छोराले आवाज उठाएपछि उनीहरुको भर्ना रद्द गरेको बुवाको जाहेरीमा उल्लेख छ । त्यसपछि नै राजबहादुरलाई मार्ने योजना अखिल क्रान्तिकारी र माओवादीले बनाएको उनले दावी गरेका छन् ।

‘सिंहको नेतृत्वमा तत्कालीन जनमुक्ति सेनाका लडाकुहरुले घर घेरा हालेपछि झ्यालबाट भागेर छोरो नेपालगञ्ज पुग्यो । त्यहाँ राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय र इन्सेकले सहजीकरण गरेपछि सुर्खेत आएको थियो,’ जाहेरीमा भनिएको छ ।

२०६५ साल फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा राजबहादुरमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते भएका उनको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्य भएको हो ।

यो घटनालाई लिएर हालै एक राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएपछि सुर्खेत प्रहरी फेरि तातेको हो ।

अखिल क्रान्तिकारी अध्यक्ष सिंहले नेपाल प्रेससँग कुरा गर्दै घटनामा आफ्नो संलग्नता अस्वीकार गरिन् । हत्या भएका व्यक्तिलाई आफूले नचिनेको तथा आफूविरुद्ध जाहेरी रहेको विषय पनि जानकारीमा नरहेको उनको दावी छ ।

सिंहसँग गरिएको सवालजवाफ

तपाईंविरुद्ध पक्राउ पूर्जि जारी भएको रहेछ । यो हत्या प्रकरणमा तपाईंको संलग्नता के हो प्रष्ट्याइदिनुस् न ?

म मरेको मान्छेलाई चिन्दिनँ । घटना कसरी भयो भन्नेबारे पनि अनभिज्ञ छु । मविरुद्ध जाहेरी थियो भन्ने पनि थाहा छैन । घटनामा मेरो कुनै पनि संलग्नता छैन ।

मृतकको बुवाले दिएको जाहेरीमा त घटनाको नेतृत्वकर्ता भनेर तपाईंको नाम नै किटानी गरिएको देखिन्छ नि ?

ममाथि जाहेरी थियो भने त म १० वर्षसम्म सुर्खेतमै थिएँ । पछिल्लो ५–६ वर्ष त भयो नि म यहाँ (काठमाडौंं) आएको । कतिपटक जिल्ला प्रहरी कार्यालय गएँ । आएँ । सारा कुरा भयो । अहिलेसम्म मविरुद्ध जाहेरी छ भनेर कसैले भनेको थिएन । कुनै सोधपुछ पनि गरिएको छैन । अहिले एकाएक नाम आउँदा अचम्भित छु ।

उतिबेला एउटा लोकल पेपरले लेखेको थियो, राजबहादुरले इन्सेक कार्यालयमा जीवनरक्षाको निवेदन दिएको भनेर । पञ्चा सिंह लगायतको मान्छेले हानेको भनेर पेपरमा आयो । पछि मैले एसपीसँग मैले त्यो मान्छेलाई चिनेको छैन र घटना पनि थाहा छैन प्रष्ट्याएको हो ।

घटना भएको बेला कहाँ हुनुहुन्थ्यो ?

म सुर्खेतमा नै थिएँ । त्यो बेला स्ववियू चुनावको यस्तो चटारो थियो । मलाई बहुमुखी क्याम्पसको इन्चार्ज बनाएर पठाइएको थियो । जनमाविमा मेरो भूमिका नै थिएन ।

तपाईंलगायत ४०–४५ जनाले नक्कली प्रमाणपत्रका आधारमा भर्ना हुन प्रयास गर्दा विरोध गरेपछि हत्या गरिएको भन्ने छ नि ?

मिसिलमा त्यस्तो छ । त्यो झुट्टा हो । जनमुक्ति सेनाको गाडी लिएर देउला सिंहको घर घेर्न गएको भनिएको छ । दोस्रो, इन्सेकमा जीवनरक्षाको निवेदन दिएको भन्ने छ । नेपालगञ्जबाट मानवअधिकारको टोली ल्याएर जिम्मा लगाएको भन्ने छ ।

स्ववियू चुनावको बेलामा त्यत्रो बबण्डर हुँदासम्म अखिल–नेविसंघ हेरेर बस्थे होला त ? पत्रकार सम्मेलन गर्दैनथे ? विरोध गर्दैनथे ?

हत्या त भएकै हो नि ? कसले गर्यो त ?

कसले गर्यो भन्ने थाहा छैन । ३–४ जना केटाहरुको झगडा परेर कालीकोटको एकजना विद्यार्थी मर्यो भन्ने सुनिएको हो । कसरी झगडा भयो, किन भयो केही पनि थाहा छैन । राजनीतिक घटना भएको भए त स्टेटमेन्ट आइहाल्थ्यो नि । म त सचिवालय सदस्य थिएँ । शिक्षा क्याम्पस त मेरो कार्यक्षेत्र नै थिएन । मेरो त विरेन्द्रनगर बहुमुखी क्याम्पसको जिम्मेवारी थियो ।

मृतकका परिवारले नै किन तपाईंलाई आरोपित गरिरहेका छन् त ?

उहाँहरु खोइ कसरी भ्रममा पर्नुभयो । यो कथा कसरी बन्यो भन्ने मेरो पनि खोजीको विषय भएको छ । देउला सिंहको घरमा जनमुक्ति सेनाको गाडी लगेको हो भने त देउला सिंहलाई सोध्दा पनि भयो । उहाँ जिवितै हुनुहुन्छ । शिक्षा क्याम्पसमा के भएको थियो भन्ने त तत्कालीन क्याम्पस चिफ र तीन सभापतिका उम्मेदवार (नेविसंघ, अखिल र क्रान्तिकारीं ले हिजो बोल्नु पनि भएको रहेछ । इन्सेकको कार्यालयमा दुर्गा थापाजीलाई निवेदन आएको भनिएको छ । उहाँ अहिले पनि इन्सेक सुर्खेतको प्रमुख नै हुनुहुन्छ । सोध्दा भयो । जाहेरीको कुरा र इभिडेन्स मिल्दै मिल्दैन ।

मेरो नाममा मुद्दा के कारणले दर्ता भयो भन्ने बुझेको छैन । विचरा भर्खर एसएलसी पास गरेर भर्ना हुन आएको रहेछ त्यो बच्चा । उसको र मेरो लफडा हुनुपर्ने केही पनि थिएन । म अर्को कलेजको इन्चार्ज भएर काम गरिरहेको हो । पछि घोडाघोडी कैलालीमा स्ववियू निर्वाचन दोस्रो चरणमा हुँदै थियो । म गएपछि मलाई प्रकाण्ड कमरेडले फोन गरेर कालीकोटमा तेरो विरुद्धमा प्रोभोक गरे अरे माथि गएर क्लीयर गर्नुपर्यो भनेपछि म गएँ । त्यो कुरा उनीहरुले जसरी प्रोभोक गरेका थिए, त्यसरी नै खण्डन गरेर आइयो । कालीकोटतिर हल्लाखल्ला गरे भनेर सुनेको त्यतिबेला । तल त हामीले थाहै पाएनौं ।

अहिले आएर पक्राउ पूर्जि जारी किन भयो होला त ?

त्यो थाहा भएन ।

तपाईंलाई प्रहरीले केही भनेको छैन ?

मैले त मिडियाबाट थाहा पाएको हो । प्रहरीबाट केही आएको छैन ।

आफैंले चासो राखेर सोध्नुभएन ?

सोधेको छैन । म फरार भएर बसेको छैन । १० वर्ष सुर्खेत नै बस्या हो । ५–६ वर्ष भयो काठमाडौं बसेको । अब म कुरा गर्छु के रहेछ ।

प्रहरीले तपाईंलाई खोजी गरिरहेको भनेको छ कि ?

खोइ कहाँ खोजीरहेको छ थाहा भएन । परिवारले पनि केही भनेको छैन । म त काभ्रेमा थिएँ, भर्खर काठमाडौं आइपुगेँ ।


प्रतिक्रिया

2 thoughts on “हत्या आरोपमा पक्राउ आदेशपछि के भन्छिन् पञ्चा सिंह ?

  1. हत्या गर्ने, लूटने काम त माओवादीले नै त गर्छ नि!🤔

  2. भारतबाट नक्कली सर्टिफिकेट ल्याएर भर्ना भएको रहेछ । यस्ता फटाहालाई नेता मान्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर