कांग्रेसमा गगनका दु:ख– महामन्त्रीको जिम्मेवारी, छैन केही अख्तियारी – Nepal Press

कांग्रेसमा गगनका दु:ख– महामन्त्रीको जिम्मेवारी, छैन केही अख्तियारी

काठमाडौं । १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको निर्वाचित भएपछि नेपाली कांग्रेसभित्र छुट्टै तरंग थियो । अब पार्टीले लय समात्छ भन्नेमा कार्यकर्ता पंति आशावादी थिए । तर, कांग्रेस राजनीतिले भने परम्परागतभन्दा फरक धार समात्न सकिरहेको छैन अझै पनि ।

महामन्त्रीमा नयाँ अनुहारहरु आए पनि पार्टीको कमाण्ड उनै शेरबहादुर देउवाको हातमा थियो ।

दोस्रो कार्यकाल कांग्रेस हाँक्दै गरेका देउवासँग आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउने न कुनै उत्साह थियो न आवश्यकता वोध । उनले एकमाना शैलीमा नै पार्टी हाँकिरहेका छन् । महामन्त्रीद्वयको भूमिका साक्षी किनाराभन्दा बढी छैन । फलतः पार्टीमा पुनर्ताजगीको आशा ओइलाउँदै गएको छ ।

सभापति देउवाले सुरुवाती दिनमा दुई महामन्त्रीमध्ये गगनलाई नजिक राखेका थिए । दलीय वैठकमा गगनलाई साथ लैजान्थे । सुरु–सुरुमा गगन पनि उत्साहित भन्दै देउवाको अघिपछि हिँड्थे । तर, विस्तारै देउवाले आफ्नो काँधमा बन्दुक मात्र राखेको आभास हुन थालेपछि गगन विरिक्तदै गएका छन् । महामन्त्रीकै कुर्सीमा रहेर पनि उनी संस्थापन भन्दा असन्तुष्ट नेताका रुपमा देखिन्छन् । इतर गुटको वैठकमा सामेल हुन्छन् । विद्रोहको भाषा बोल्छन् ।

१४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापाले अर्को समूहबाट सभापतिमा निर्वाचित सभापति देउवाभन्दा धेरै मत ल्याएर सान्दार जित निकालेका थिए । यसले पनि कांग्रेसभित्र उनको लोकप्रियताको छनक मिल्छ । तर, महाधिवेशनमा जति भोट ल्याए पनि महामन्त्रीलाई पार्टीको विधानले सिमित अधिकार दिएको छ । कांग्रेसमा सर्वेसर्वा सभापति नै हुन्छन् । त्यसैले गगनले हातगोडा फैलाउन पाइरहेका छैनन् ।

त्यसो त गठबन्धन, पार्टीदेखि आन्तरिक समिकरणमा हाबी हुने प्रयास गगनले नगरेका होइनन् । उनले संसदीय दलको नेतामा देउवालाई चुनौति दिने प्रयास गरे । तर, देउवासँग उनको प्रतिस्पर्धा बाघ र बिरालोबीचको भिडन्त जस्तो भयो । संसदीय दलको चुनावमा उनी देउवासँग सहजै पराजित भए ।

आफ्नै टिमबाट जितेका उपसभापति धनराज गुरुङ,पराजित उपसभापति चन्द्र भण्डारी,राजेन्द्र बजगाईजस्ता शेखर समूहका हस्तिहरुले नै भोट नदिएपछि उनको मत स्वभाविक घट्यो नै,बरु उनलाई देउवा टिमका एकाध सांसदको मत आयो ।

महामन्त्री आफैंमा पनि जिम्मेवार पद हो । कांग्रेसमा सभापतिपछिको प्रभावशाली व्यक्ति उनै हुन् पदीय हिसाबले । तर थापा अहिले पनि गुटको बैठकमा जान छाडेका छैनन् । महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएलगत्तै गरेको भाषणमा उनले अब कांग्रेसमा गुट समाप्त भएको घोषणा गरेका थिए । तर, उनको त्यो भाषण धेरै दिन टिकेन ।

शेखरले नेतृत्व गरेको गुटको बैठकमा थापा अग्र स्थानमा रहन्छन् । अहिलेसम्म एउटै टिम हुनु र दलको नेताबाट देउवालाई हटाउने खुलेआम प्रयास जारी रहेको अवस्थमा उनी शेखरसँगै रहनु स्वाभाविक हो ।

यद्यपी, केही समय उनले कोइरालासँग पनि टाढा रहेर अर्का महामन्त्री शर्मा र नेता प्रदीप पौडेललाई समेटेर नयाँ गुट खडा गर्ने प्रयत्न पनि गरेका छन् । यो टिमनै कांग्रेसलाई नयाँ जीवन दिने बलियो शक्ति बन्ने सम्भावनातर्फ अघि बढेको छ ।

यसमा कृष्ण सिटौला राष्ट्रिय सभा अध्यक्ष हुँदै सक्रिय राजनीतिबाट बाहिरिँदा उनको समूहमा रहेका युवा नेताहरु समेत थपिने निश्चित छ । १५ औं बलियो चुनौति दिएर १६ महाधिवेशनपछिको कांग्रेस यो टिमले हाँक्न सक्छ ।

देउवाको पेलानमा परेका इतर पक्षका नेताहरुले टिम विभाजित हुँदा असर गर्ने भन्दै निकटस्थको दबाबपछि फेरि एकै ठाउँमा उभिन बाध्य भएका छन् । शेखरसँगको सम्बन्ध कायम राख्दै रणनीतिक रुपमा आफूलाई गगनले अगाडि सार्दैछन् ।

गगनले देउवालाई छैटौंपटक प्रधानमन्त्री हुनको लागि रोक्न शेखरलाई दलको नेता बनाउने प्रस्ताव टिममा राखेका छन् । अहिलेको परिस्थिती अनुसार शेखरलाई दलको नेता बनाउन सके आलोपालो सहमति अनुसार प्रधानमन्त्री बन्नेछन् ।

देउवालाई रोकेर शेखरलाई प्रधानमन्त्री बनाउन सके आगामी १५ औं महाधिवेशनमा आफ्नो सभापति बन्ने बाटो खुल्ने उनको बुझाइ रहेको उनी निकट नेताहरु स्वीकार्छन् । तर, शेखरले गगनको प्रस्तावलाई महत्व दिएका छैनन् ।

टिमलाई मिलाउँदै महामन्त्रीको जिम्मेवारीमा रहे पनि पार्टीभित्र प्रतिपक्ष जस्तो देखिँदै आएका छन् उनी । निर्णय गर्ने प्रक्रियामा आफ्नो एजेण्डा पारित नभए पनि उनले फरक मत दर्ज गरेर कांग्रेसलाई जीवन दिन खोजेका छन् ।

आफू निर्णायक नभएपछि एउटा नेताले इतिहासको दस्तावेजका रुपमा फरक मत राख्ने र अर्को पटक आफू बिजयी भएपछि त्यसलाई लागु गर्ने हो,जुन काममा गगनले आफूलाई परिपक्व बनाएका छन् । हालैमात्रै राष्ट्रियसभाको उम्मेदवार चयनको बिषयमा पनि उनले फरक मत राखे ।

थापाले भनेका छन्, ‘…निर्णयप्रति मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।’ उनको यो भाषालार्ई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल पनि भयो ।देउवा निकटका एक नेता भने महामन्त्रीहरु प्रचारमुखी भएको भएको आरोप लगाउँछन् । ती नेताले नेपाल प्रेससँग भने, ‘उहाँहरु आफैं बसेर निर्णय गर्नुहुन्छ तर, भित्र एउटा बाहिर अर्को कुरा गर्नुहुन्छ । उहाँहरुको सबै कुरा हामीले बुझेको छौं । त्यस्ता प्रचारले अर्थ राख्दैन ।’

उनले पार्टीको जिम्मेवार पदमा बसेपछि आफ्नो काम गर्न सभापतिले नरोकेको भन्दै परिणाम देखाउन चुनौति दिए ।

त्यसो त गत भदौमा एक बर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा पनि गगनले महामन्त्रीको रुपमा ‘गगन क्यालेण्डर’ ल्याए । उनले क्यालेण्डरमा विधान कार्यान्वयनदेखि पार्टीको सुदृढीकरणसम्मको बार्षिक कार्ययोजना अघि सारेका थिए । तर, त्यो कार्यान्वयनमा ल्याउन सकेको छैन ।

गगनको कदमबारे के भन्छन् नेता र विश्लेषक ?

पार्टीको निर्णय गराउँदा महामन्त्रीसँग नै सल्लाह नगरी सभापति अगाडि बढेपछि समस्या भएको नेता गुरुराज घिमिरे स्वीर्काछन् ।

उनी भन्छन्, ‘मापदण्ड बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिती पार्टीमा रोग भइसक्यो । कांग्रेसको इतिहासमा महामन्त्रीले नै नोट अफ डिसेन्ट लेख्ने दुखद् स्थितिमा पुग्यो । पार्टीमा नयाँ परम्परा हो ।’

नेतृत्वले निर्णय प्रक्रियामा सबैलाई साथ लिएर अगाडि बढ्नुपर्ने उनको बुझाइ छ । नेता घिमिरेले थपे, ‘पार्टी नेतृत्वले निर्णय गर्दा न्यायोचित गर्न सक्नुपर्छ । हामीले अहिले राष्ट्रियसभामा पनि त्यसको चरित्रअनुकुलको निर्णय गर्नसक्नुपर्थ्यो ।’

यद्यपि पार्टीको महामन्त्री भनेको आफैंमा संस्था भएको उनको बुझाइ छ ।

‘पार्टीको जिम्मेवार व्यक्ति भए पनि उहाँले पनि परिणाम निकाल्न सक्नुपर्छ । कुनै पनि निर्णयमा पुग्दा महामन्त्रीहरुले नेतृत्वलाई सहमत गराउन सक्नुपर्छ । परिणाममा उहाँहरुको भूमिका देखिनुपर्छ,’ नेता घिमिरेले भने, ‘त्यो उहाँहरुले पनि देखाउन सक्नुभएन । त्यसैले उहाँहरुमा पनि कमजोरी त देखियो । महामन्त्रीहरुले तर्क गर्ने र आफ्नो विचार मात्रै राख्ने पोजिसन होइन ।’

पार्टी नेतृत्व र महामन्त्रीहरुले पनि परिणाम निकाल्न नसकेपछि वस्तुनिष्ट समिक्षा गर्नुपर्ने नेता घिमिरेको बुझाइ छ ।

देउवा निकट रहेका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा महामन्त्रीहरुले पार्टीको निर्णयमा नभइ निर्णय प्रक्रियामा मात्रै असन्तुष्टि जनाएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘बैठकमा उहाँहरु नै उपस्थित हुनुहुन्छ । उहाँहरु नै सहभागी हुने निर्णय सर्वसम्मत् हो । निर्णय महामन्त्रीले नै प्रस्तुत गर्ने हो । उहाँहरुले निर्णयमा भन्दा पनि निर्णय प्रक्रियामा असन्तुष्टि राख्नुभएको हो । जबकि निर्णय प्रक्रियामा आफैं सामेल हुनुहुन्छ ।’

सभापति देउवा सभापति पार्टीको नभइ गुटको अभिभावक बनेको गगन निकट एक नेताले आरोप लगाए ।

ती नेताले भने, ‘अहिले राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा पनि उहाँले पार्टीगत होइन गुटगत शैलीमा हेर्नुभयो । पार्टी सभापतिले गुटमा केन्द्रित भएपछि समस्या आएको हो । अभिभावकीय भूमिका सभापतिबाट हुन नसकेपछि पार्टीले लिनुपर्ने न्यूनतम मापदण्ड पनि पालना हुन सकेको छैन ।’

गगन निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पार्टीभित्र निर्णय कार्यान्वयमा समस्या देखिएको स्वीर्काछन् ।

उनी भन्छन्, ‘यसअघि भएका निर्णय पालनाको सन्दर्भमा पनि केन्द्रीय समितिको बैठकले एउटा निर्णय गर्यो तर, उहाँले जे खालको अभ्यास गर्नुभयो त्यो त निर्णयको विपरित हुन्छ । निर्णय एउटा कार्यान्वयन गर्ने बेलामा छैन । त्यसैले सभापतिबाट पार्टीमा न्यायोचित वितरण हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’

अहिले पार्टी निर्णयप्रति महामन्त्री थापासहित अर्का महामन्त्री शर्मा, नेता बलबहादुर केसी र अजुननसिंह केसी पनि फरक मत राखेको उनले बताए ।

उनले भने, ‘बहुमतले निर्णय गरिसकेपछि फरक मत भनेको त म यसमा सन्तुष्ट छैन भनेर गर्ने हो । फरक मत व्यक्तिगत वा थोरैको हुन्छ । त्यो पार्टीको निर्णय बन्न सक्दैन । पदाधिकारी वा सदस्य भए पनि पार्टीले गरिसकेको निर्णय कार्यान्वयनमा त सबै पार्टीको भूमिका रहनेभयो । पार्टीको निर्णयलाई आफ्नो निर्णय बनाउन नसकेपछि फरक मत राख्न पाइन्छ ।’

अर्का एक नेताले महामन्त्रीले फरक मत राखे पनि पार्टीको निर्णय कार्यान्वयनमा लाग्नुको विकल्प नभएको बताए ।

ती नेताले भने ‘गगन दाईले पार्टीको निर्णयप्रति असन्तुष्टि राख्नुभएको होइन । नेतृत्वको कार्यशैलीप्रति हो । उहाँ महामन्त्री भए पनि बहुमतको निर्णय मानेर अघि बढ्नुको विकल्प छैन । नमान्ने भनेको त पार्टीबाट बाहिरिनुपर्ने हुन्छ । त्यसैले पार्टीबाट बाहिर जाने कुरा उहाँको होइन, यहीँभित्र बसेर लड्ने हो । सकेसम्म आफ्नो मतलाई निर्णय बनाउने प्रयासमा उहाँ हुनुहुन्छ ।’

पछिल्लो समय कांग्रेसभित्र व्यक्तिगत महत्वकांक्षाको कारणले समस्या आएको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल औल्याउँछन् ।

उनी भन्छन्, ‘गगनजीको मात्रै होइन कांग्रेसमा लामो समयदेखि बिग्रिदै आएको अवस्था छ। त्यसलाई तोड्नको लागि संगठित हुनुपर्ने हो । तर, यहाँ व्यक्तिगत महत्वकांक्षाले समस्या पारेको छ । गगनजीहरुले पनि एउटा गुट खडा गर्नुभएको छ । उहाँहरुको उठबस आफू निकटका मान्छेहरुसँग मात्रै हुनेछ । त्यसैले एउटा गलत काम रोक्नका लागि अर्को गलत काम गर्नु गलत नै हो ।’

उनले महामन्त्री थापाले अहिले खाली रेकर्डको लागि मैले विरोध जनाए भन्ने खालको बाहिर सस्तो प्रचार गरेको बताए ।

विश्लेषक दाहाल भन्छन्, ‘गगनजीले पनि आफ्नो एजेण्डालाई संगठित बनाउन सक्नुभएको छैन । कांग्रेसभित्र धेरै मान्छेहरु वैचारिक र कार्यशैलीमा परिवर्तन हुनुपर्छ भन्नेमा छन् । तर ती मान्छेहरुसँग उहाँको संवाद नै हुँदैन । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको जस्तो कुण्डली छ उहाँको पनि त्यस्तै छ ।’

गगनको विरोध गर,पद हत्याऊ

पार्टीमा सभापति देउवा प्रचण्ड वहुमतमा छन् । इतर पक्षमा पनि शेखर कोइरालाको आफ्नो टुकडी छ । केन्द्रीय समिति बैठकमा देउवा पक्षका नेताहरुले धारप्रवाह गगन थापाको आलोचना,विरोध र गालिगलौज गर्दा शेखर पक्षले प्रतिरक्षा समेत गर्दैन । सभापतिको आलोचना हुनुपर्नेमा हात बाँधिएका महामन्त्रीमाथि निशाना साँधिनुले पनि कांग्रेसमा गगन थापाको दिशा र दशा प्रष्ट हुन्छ ।

यस्तो लाग्छ,केन्द्रीय समिति र बाहिर जसले बढि गगन थापाको विरोध गर्यो उसले पार्टीको संस्थापनबाट आकर्षक पद र जिम्मेवारी पाउँछ । मोहन बस्नेतदेखि जितजंग बस्नेतसम्म,आनन्द ढुंगानादेखि राजीव ढुंइगानासम्मको प्रतिस्पर्धा गगनको विरोध गरेर पद हत्याउन केन्द्रित छ ।

गगन थापा पार्टीको कार्यकारी महामन्त्री छन्,गठबन्धनका बैठकहरुमा लेखापढी गर्न पनि बस्छन् । तर सरकारले के निर्णय गर्दैछ वा पार्टीको तर्फबाट कुन पदमा कसलाई नियुक्ति गरिदैछ भन्ने जानकारी उनले मिडियाबाट थाहा पाउनुपर्ने अवस्था छ । पार्टी प्रतिपक्षमा हुँदा संसदमा उनी प्रखर सुनिन्थे,अहिले सत्तापक्षमा हुँदा उनको त्यो सुविधा समेत खोसिँदा वास्तवमै कठिन परिस्थितिबाट उनी गुज्रिरहेको कुरा बेलाबेला उनका भाषणबाट पनि बुझ्न सकिन्छ ।

विद्यार्थी राजनीतिबाट छोटो समयमै छलाङ मारेका थापा अहिले कांग्रेस सभापति र देशको प्रधानमन्त्री लक्ष्यका साथ अगाडि बढिरहेका छन् । ०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थापा ०७० देखि काठमाडौं ४ बाट निर्वाचित हुँदै आइरहेका छन् ।

विश्लेषण आ आफ्ना होलान् तर गगन थापा आफ्नै बलबुता र विद्रोही स्वभावको जगमा कांग्रेसको महामन्त्रीसम्म पुगेका नेता हुन् । उनी आगामी १५ औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने निश्चित छ । त्यसअघि नै उनी शेखर कोइरालालाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बन्ने बाटो खनिदिन पनि तयार छन् । तर पार्टी सभापतिमा भने अब उनी पछि नहट्नेगरि अघि बढिसकेका कारण अहिले आफ्नो बलबुताले भ्याएसम्म विधानले दिएको महामन्त्रीको भूमिका निर्वाह गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *