यू-१९ विश्वकप : नेपालले टेस्ट राष्ट्रसँग खेल्ने र चक्मा दिने ‘प्लेटफर्म’ – Nepal Press

यू-१९ विश्वकप : नेपालले टेस्ट राष्ट्रसँग खेल्ने र चक्मा दिने ‘प्लेटफर्म’

काठमाडौं । सन् २००२ को आईसीसी यू-१९ विश्वकप खेल्न न्युजिल्यान्ड पुगेको नेपाली टोलीलाई स्थानीय युनिभर्सिटीको होस्टलमा राखिएको थियो । त्यहाँ पाकिस्तान र इङ्ल्यान्डका टीम पनि थियो । होस्टल सुविधा सम्पन्न रिक्रिएसन सेन्टर थियो, टेबलटेनिस, ब्याडमिन्टन पनि खेल्न मिल्थ्यो । खेल्ने सामग्रीहरु भित्रै उपलब्ध हुन्थे ।

‘स्थानीय नेपाल पनि देश छ र भनेर आश्चर्य व्यक्त गर्थे । माउन्ट एभरेस्ट भनेपछि पहाडमा पनि कसरी क्रिकेट खेल्छौ भनेको सुनिन्थ्यो’, उक्त विश्वकप खेलेका विकेटकिपर मनोज कटवाल स्मरण गर्छन् । क्रिकेटमा भविष्य खोजिरहेको नेपाली क्रिकेट दोस्रो पटक यू-१९ विश्वकप खेल्न पुगेको थियो । त्यसअघि सन् २००० मा श्रीलंकामा आयोजना भएको विश्वकपमा दोस्रो चरणसम्म पुगे पनि त्यो कर्मभन्दा बढी भाग्यले कोरिएको सफलता भन्नेमा स्वयं नेपाली क्रिकेटरहरु सहमत थिए ।

त्यतिबेला समूहगत चरणमा वर्षाका कारण खेल रद्द भएपछि पाकिस्तान र दक्षिण अफ्रिकासँग अंक बाँडेको नेपालले केन्यालाई भने हराएको थियो । वर्षाका कारण पाकिस्तान-नेपालबीच खेल सुरु नै नभई रद्द भयो । दक्षिण अफ्रिका भने २९६ रनको लक्ष्य दिएर पनि अंक बाँड्न बाध्य भयो । नेपालले ४ विकेट गुमाएर २४ रन जोडेपछि वर्षाले रोकिएको खेल पुनः सुरु भएन ।

समूहको अन्तिम खेलमा पाकिस्तानसँग पनि वर्षाका कारण अंक बाँड्नु परेपछि दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरियो । अगाडि बढेको नेपाली टोली दोस्रो चरणमा भारत, श्रीलंका र इङ्ल्यान्डको समूहमा परेको थियो । सबैसँग सहजै पराजित भयो । नेपालले २ वर्षपछि पुनः विश्वकपमा स्थान बनाउन एसीसी यू-१९ एलिट कप जित्यो र न्युजिल्यान्ड यात्रा तय गरेको थियो ।

‘हामी त टेस्ट राष्ट्रहरुसँग खेल्न पाउँदा नै खुसी थियौं । विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरुका टोलीसँग खेल्ने अवसर पाइरहेका थियौं’, कटवाल सम्झिन्छन् ।

नेपालको पहिलो चरणमा प्रतिस्पर्धा थियो- पाकिस्तान, इङ्ल्यान्ड र पपुआ न्युगिनीसँग । विगतमा वासिम अक्रम, वाकर युनिस, इमरान खान जस्ता खेलाडीले प्राप्त गरेको सफलता र छाडेको छापका कारण पाकिस्तानी टोलीको बेग्लै ‘हाइप’ थियो ।

कटवालका अनुसार टीम बसेको ठाउँमा पाकिस्तानी खेलाडीहरुसँग पनि जम्काभेट भइरहन्थ्यो । ‘उनीहरु जिस्काउँदै नेपाली टोलीलाई हेपे जस्तो व्यवहार गरेर दम्भ देखाउन खोज्थे’, कटवाल भन्छन् ।

पछि सिनियर राष्ट्रिय टोलीमै लामो समय ठाउँ बनाएका सलमान बट, उमर गुल, अजर अली जस्ता खेलाडीहरु त्यतिबेला पाकिस्तानी टोलीमा थिए । पहिलो खेलमा इङ्ल्यान्डसँग ३७ रनले पराजित भएकै मैदान लिंक्लोनमा नेपाल सन् २००२ जनवरी २२ मा पाकिस्तानविरुद्ध उत्रियो ।

‘जित्ने त कल्पनै थिएन । उनीहरुलाई सजिलै जित्न नदिऔं भन्ने उद्देश्यसहित मैदान उत्रिएका थियौं’, हाल नेपाल पुलिस क्लबको प्रशिक्षक रहेका कटवालले भने ।

पहिला ब्याटिङ गरेको नेपालले केवल १५२ रनको लक्ष्य दिएको थियो । बरदान चालिसेले ४२ रनको पाली खेलेका थिए । मञ्जित श्रेष्ठले १७, सन्जम रेग्मीले १६, कनिस्क चौलागाईंले १५ र शक्ति गौचनले १२ रन बनाएका थिए । नेपाललाई उक्त लक्ष्य ‘डिफेन्ड’ गर्नु सजिलो थिएन ।

‘त्यतिबेला हाम्रो टीमका अधिकांश खेलाडी पहिलो पटक विश्वकप खेल्दै थिए । म दोस्रो पटक खेल्दै थिएँ । हाम्रो लक्ष्य भनेको पहिला ब्याटिङ गर्दा पूरै ५० ओभर टिक्ने भन्ने हुन्थ्यो । १८०/९० रनको लक्ष्य हामी डिफेन्ड गर्न सक्छौं भन्ने माइन्ड सेट थियो । किनभने हाम्रो बलिङ निकै राम्रो थियो । त्यसैले पाकिस्तानविरुद्ध जुन लक्ष्य दिएका थियौं, त्यसले आशावादी हुने ठाउँ थियो । त्यहाँ रन बन्न सजिलो थिएन । अघिल्लो खेलमा इङ्ल्यान्डलाई पनि हामीले त्यति धेरै रन बनाउन दिएका थिएनौं’, टोलीका अर्का सदस्य विनोद दास भन्छन् ।

आत्मविश्वासी पाकिस्तानले ८ रन जोड्दा पहिलो विकेटका रुपमा कमरान युनिसलाई गुमायो । युनिसलाई बरदान चालिसेले रन आउट गरेका थिए । १० रनलगत्तै कप्तान सलमान बट आउट भए । विनोद दासले कप्तान बटलाई आउट गरेपछि नेपाली टोली जोशियो ।

‘बट निकै लयमा थिए । पाकिस्तान जाँदा मैले उनीसँग खेल्ने र उनलाई बुझ्ने मौका पाएको थिएँ । निकै राम्रो ब्याटिङ गर्न सक्ने र उच्च लयका कारण हाम्रा लागि उनको विकेट महत्वपूर्ण छ भन्ने कुरा टीम मिटिङमा पनि भएको थियो’, दास सम्झन्छन् ।

५२ रन जोड्दा तेस्रो विकेट गुमाएको पाकिस्तान त्यसपछि ८४-३ को स्थितिमा पुगेको थियो । तर, एकपछि अर्को झट्काले पाकिस्तान ४५.४ ओभरमा १२१ रनमा अलआउट भयो । शक्ति गौचन र सन्जम रेग्मीले ३-३ तथा विनोद दास, लाक्पा लामा र बरदान चालिसेले एकएक विकेट लिएका थिए ।

‘हामी विश्वकप जितेभन्दा पनि बढी खुसी भयौं’, कटवाल त्यो जीतबारे भन्छन् । कटवालले त्यस खेलमा बरदानको ब्याटिङ अझै बिर्सेका छैनन् । यता बरदानको ब्याटिङपछि सबै स्पीनरले निकै राम्रो प्रदर्शन गरेको दासको सम्झना ताजै छ । ‘पाकिस्तानले ५-६ विकेट गुमाएपछि अब चाहिँ यो खेल जित्न सकिन्छ भन्ने लागेको थियो । सन्जम, शक्ति र बरदानले निकै राम्रो बलिङ गरेका थिए’, उनी भन्छन् ।

पाकिस्तानी टोलीका प्रशिक्षक हारुन रसिदले त्यतिबेला नेपाली टोली भएतिर आएर बधाई दिएका थिए । हारुनले त्यसअघि नेपाली टोलीलाई पनि प्रशिक्षण गरेका थिए । कटवालका अनुसार विगतमा आफूले हेरेको टीमले अहिले राम्रो गरेको देख्दा उनले निकै खुशी व्यक्त गरेका थिए ।

समूहगत चरणको समाप्तिमा पाकिस्तान र इङ्ल्यान्डसँग समान अंक भएको नेपाल नेट रनरेटका कारण तेस्रो भयो र अगाडि बढ्न सकेन । प्लेट च्याम्पियनशिपमा तीन वटै खेल जितेको नेपालले सेमिफाइनलमा अर्को टेस्ट टोली बंगलादेशलाई हरायो । फाइनलमा पुगेर जिम्बावेसँग चुके पनि नेपालले गौरवशाली इतिहास कोरिसकेको थियो ।

‘हाम्रो आत्मविश्वास यति बलियो बन्यो कि अब जो आए पनि जित्न सक्छौं भन्ने लाग्न थाल्यो’, कटवालले भने । सन् १९९९ को एसीसी यू-१९ कपमा फाइनलमा नेपाललाई हराएको बंगलादेशले त्यसको एक वर्षपछि टेस्ट मान्यता पाएको थियो ।

लगातार ५ विश्वकपमा सहभागिता तर, सिनियर क्रिकेटमा शून्य सफलता

नेपालले एसीसी यू-१९ क्रिकेटमा प्राप्त सफलताले लगातार पाँच पटक आईसीसी यू-१९ विश्वकप खेल्यो । बंगलादेशले टेस्ट मान्यता पाएपछि आयोजना भएका एसीसी यू-१९ का लगातार चार संस्करण नेपालले जितेको थियो । सोही सफलताले हरेक पटक विश्वकप पुगेको नेपाल टेस्ट टोलीका लागि ‘मिस्ट्री प्याकेज’ थियो ।

सन् २००४ को विश्वकपमा पनि नेपालले फेरि एक पटक टेस्ट टोलीको ‘सातो’ लियो । पहिलो खेलमा इङ्ल्यान्डलाई १९२ रनको लक्ष्य दिएर ८ विकेटले पराजय भोगेको नेपालले दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १ विकेटले स्तब्ध बनायो । दक्षिण अफ्रिकालाई १५६ रनमा सीमित गरेको नेपालले २ बल बाँकी रहँदा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न मन्जित श्रेष्ठ एक्लैले ४ विकेट लिएका थिए । शक्ति गौचन र लाक्पा लामाले पनि २-२ विकेट हात पारेका थिए । लक्ष्य पूरा गर्न शक्तिले अर्धशतकीय पाली खेले । समूहमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकासँग समान ४-४ अंक भएपछि नेपाल पुनः नेट रनरेटमा अभागी बन्यो र पहिलो चरणबाटै बाहिरियो । प्लेट च्याम्पियनशिप पनि सुखद रहेन ।

सन् २००६ को विश्वकप संस्करणमा पनि नेपाल पहिलो चरणबाट बाहिरियो । तर, पहिलो चरणबाटै बाहिरिएकाबीच हुने प्लेट च्याम्पियनशिप नेपालका लागि ऐतिहासिक बन्यो । क्वाटरफाइनलमा युगान्डालाई ६० रनले हराएको नेपालले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ रन र फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हरायो ।

मलेसियामा सन् २००८ मा आयोजना भएको अर्को संस्करणमा नेपाल फेरि समूहगत चरण पार गर्न असफल भयो । तर, प्लेट च्याम्पियनशिपमा भने फाइनलसम्म पुग्यो । जिम्बावेसँग पराजित भएपछि नेपालले उपाधि रक्षा गर्न सकेन । पारस खड्का, ज्ञानेन्द्र मल्लको ब्याचले खेलेको यो अन्तिम यू-१९ विश्वकप थियो । त्यतिबेला नेपाली टोलीमा पारस र ज्ञानेन्द्रसँगै अमृत भट्टराई, राहुल विश्वकर्मा, अनिल मण्डल, महेश क्षेत्री, सागर खड्का, रोम श्रेष्ठ, राज श्रेष्ठ, पुष्प थापालगायत थिए ।

यता सिनियर टोलीबाट भने नेपालले सफलता प्राप्त गर्न सकेको थिएन । युथ विश्वकपमा टेस्ट टोलीलाई हराइरहेको नेपालले सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उपाधि जित्न बाँकी नै थियो । सन् २००२ को एसीसी ट्रफीको फाइनलसम्म पुग्नु नै नेपालको उल्लेख्य सफलता थियो ।

त्यतिबेला उपाधि भिडन्तमा यूएईसँग पराजित भएको थियो । सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा एसोसिएट राष्ट्रलाई टेस्ट राष्ट्रसँग खेल्ने संरचना सजिलो थिएन । सोही कारण आफूसँगै यू-१९ खेलेका टेस्ट राष्ट्रका खेलाडीले सिनियर क्रिकेट खेलेको हेरेर बस्नुको विकल्प नेपाली टोलीसँग थिएन । नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यू-१९ मा राम्रो गरे पनि मोमेन्टमलाई निरन्तरता दिन नसक्दा त्यतिबेला सिनियर टोलीबाट सफलता प्राप्त हुन नसकेको बताउँछन् ।

‘टेस्ट टोलीसँग खेलेपछि र उनीहरुलाई हराएपछि आत्मविश्वास बलियो हुन्छ । हामीलाई पनि अब सिनियरमा राम्रो गर्न सक्छौं भन्ने लाग्थ्यो । तर, कहाँ गएर खेल्ने ? अन्तर्राष्ट्रिय प्रतियोगिता वर्षमा एउटा मुस्किलले हुन्थ्यो । घरेलु प्रतियोगिता पनि त्यस्तै । त्यसैले यू-१९ मा प्राप्त गरेको मोमेन्टमलाई क्यारी गर्न नै पाउँदैन थियौं’, सन् २००६ र २००८ को यू-१९ विश्वकप खेलेका ज्ञानेन्द्र भन्छन् ।

यू-१९ टीममा धेरै अनुभव पनि नहुने भएकाले सफलता प्राप्त गर्न त्यतिबेला सजिलो भएको उनको बुझाइ छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एसोसिएट राष्ट्रलाई एक दिवसीय मान्यता र विश्वकपमा छनोट गर्न सन् २००८ मा ल्याएको वर्ल्ड क्रिकेट लिगले भने नेपाललाई सिनियर क्रिकेटमा माथि पुग्ने बाटो खोल्यो । सन् २०१० मा नेपालमै आयोजना भएको डिभिजन फाइभ जितेपछि सिनियर क्रिकेटमा उपाधि यात्रा सुरु भयो ।

सिनियर टोलीबाट सफलता, यू-१९ को अस्थिर प्रदर्शन

सन् २००९ मा आयोजना भएको एसीसी यू-१९ एलिट कपमा सेमिफाइनलमै रोकिएपछि विश्वकपमा नेपालको निरन्तर सहभागितामा ब्रेक लाग्यो । फाइनलसम्म नपुगेपछि नेपालले विश्वस्तरको छनोट खेल्ने मौका गुमाएको थियो ।

सन् २०११ मा नेपालले एसीसी यू-१९ को फाइनल पुगेपछि नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनायो । १० टोली सहभागी छनोटबाट नेपाल उपविजेता हुँदै विश्वकप पुग्यो । नेपालले पहिलो खेलमै चिर प्रतिद्वन्द्वी अफगानिस्तानलाई हराएर शानदार सुरुवात गरेको थियो ।

सागर पुन, पृथु बास्कोटा, सुवास खकुरेल, राजेश पुलामी, राहुल विश्वकर्मा, भुवन कार्की, प्रदीप ऐरी, नरेश बुढाएर, कृष्ण कार्कीलगायतले नेपाली टोली सम्हालिरहेका थिए । सन् २०१२ मा अस्ट्रेलियामा भएको यू-१९ विश्वकपमा नेपालले पहिलो चरणमा इङ्ल्यान्ड, अस्ट्रेलिया र आयरल्यान्डसँग भिड्नुपर्ने थियो ।

नेपालले एक खेल पनि जित्न सकेन । प्लेट च्याम्पियनशिपमा पनि पहिलो चरणमै पराजित भयो । सन् २०१३ को एसीसी यू-१९ मा सेमिफाइनलमै रोकिएपछि नेपाल सन् २०१४ को विश्वकप पुग्न सकेन । तर, सोही वर्ष आयोजना भएको एसीसी यू-१९ प्रिमियरमा उपविजेता बनेर नेपालले विश्वस्तरको छनोटमा ठाउँ बनायो । पाँच क्षेत्रीय प्रतियोगिताको उपविजेताबीच विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो ।

नेपाली टोलीमा सुनिल धमला, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, राजु रिजाल, राजवीर सिंह, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, सुशील कँडेल, ललितनारायण राजवंशीलगायत थिए । पहिलो चरणमा सबै ४ खेल जितेको नेपालले लिग चरणको विजेता बन्दै विश्वकपमा ठाउँ बनायो । लिग चरणका दुई शीर्ष टोलीबीच उपाधि भिडन्त भएकोमा नेपालले आयरल्यान्डलाई ३ विकेटले हरायो ।

एसोसिएट टोलीमा सबैभन्दा बलियो मानिने गरेको आयरल्यान्डविरुद्ध त्यतिबेला फाइनलमा ललितले ४, आरिफ शेखले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए । १८५ रनको लक्ष्य पूरा गर्न नेपालका सुनिल धमलाले ४७, राजु रिजालले ३५, दीपेन्द्रसिंह ऐरीले २६ र आरिफ शेखले २१ रन बनाएका थिए । एक वर्षपछि बंगलादेशमा भएको विश्वकप नेपालका लागि ऐतिहासिक बन्यो । नेपाली टोलीमा सन्दीप लामिछाने र कुशल भुर्तेल पनि भित्रिसकेका थिए ।

पहिलो खेलमै न्युजिल्यान्डलाई ३२ रनले हराएर नेपालले उत्कृष्ट सुरुवात गर्‍यो । २३९ रनको लक्ष्य दिएको नेपालले न्युजिल्यान्डलाई २०६ रनमा सीमित गरेको थियो । ब्याटिङतर्फ नेपालका लागि राजु रिजालले ४८, सन्दीप सुनारले ३९, आरिफ शेखले ३९ र कुशल भुर्तेलले ३५ रन बनाएका थिए । बलिङतर्फ दीपेन्द्रले ३, प्रेम तामाङले २ तथा सुनिल धमला र सन्दीप लामिछानेले एकएक विकेट हात पारेका थिए ।

दोस्रो खेलमा आयरल्यान्डलाई ८ विकेटले हराउँदा सन्दीप लामिछानेले इतिहास रचेका थिए । उनले ह्याट्रिक गरेपछि आयरल्यान्डले केवल १३२ रनको लक्ष्य दिएको थियो । सन्दीपले ह्याट्रिकसहित ५ विकेट हात पारेका थिए । दीपेन्द्रले पनि २ विकेट लिएका थिए । योगेन्द्रको ६१, आरिफ शेखको ३१ र सुनिल धमलाको २८ रनमा नेपालले केवल २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

पहिलो बलमै सन्दीप सुनारलाई गुमाएर दबाबमा आएको नेपाललाई सुनिल, आरिफ र योगेन्द्रले सम्हालेका थिए । घातक बलिङ गरेका सन्दीपलाई प्लेयर अफ दी म्याचको अवार्ड दिइएको थियो । समूहको अन्तिम खेलमा भारतसँग हार व्यहोरे पनि नेपाल उपविजेताका रुपमा क्वाटरफाइनल पुगेको थियो ।

अगाडि बढ्न नेपालले बंगलादेशलाई हराउनुपर्ने थियो । राजु रिजालको ७२, सुनिल धमलाको २५, दीपेन्द्रसिंह ऐरीको २२, प्रेम तामाङको २२ र आरिफ शेखको २१ रनको मद्दतमा नेपालले २१२ रनको लक्ष्य दियो । बंगलादेशले १० बल बाँकी रहँदा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । सुनिल धमलाले २ र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

त्यसको एक वर्षपछि नेपालले एसीसी यू-१९ एसिया कपमा भारतलाई समेत हराउँदै सेमिफाइनल पुगेको थियो । भारतविरुद्ध दीपेन्द्रसिंह ऐरीले ८८, जीतेन्द्र ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाएपछि नेपालले १८६ रनको लक्ष्य दिएको थियो । भारत ११ बल बाँकी रहँदा सबै विकेट गुमाएर १६६ रनमा रोकियो ।

दीपेन्द्रसिंह ऐरीले ४, पवन सर्राफ र साहब आलमले २-२ तथा कमल ऐरी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका थिए । सेमिफाइनलमा अफगानिस्तानसँग भिडेको नेपाल पहिला ब्याटिङ गर्दै १०३ रनमा अलआउट भएको थियो । त्यतिबेला नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल शाह, भीम सार्कीलगायत पनि थिए ।

त्यस टोलीमा रहेका धेरै खेलाडी अहिले सिनियर राष्ट्रिय टोलीमा छन् । तर, त्यसयता भएका यू-१९ विश्वकपका तीन संस्करण नेपालले खेल्न सकेन । ८ वर्षपछि पहिलो पटक नेपालले दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ, झन्डै डेढ सातापछि । गत अक्टोबरमा आयोजित एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै नेपालले विश्वकपमा ८ वर्पपछि पुनरागमन गरेको हो । यसबीचमा एसियाका पाँच वटै टेस्ट राष्ट्र सहभागी हुने एसीसी यू-१९ एसिया कपमा भने नेपाल निरन्तर सहभागी हुँदै आएको छ ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल कमजोर घरेलु संरचना नै सफलता/असफलताको मुख्य कारण हुने बताउँछन् ।

‘हामी यू-१९ बाट खेलेका धेरै खेलाडीहरु लामो समय सिनियर टोलीमा रह्यौं । निरन्तरको एक्सपोजरले सायद हामी टिक्न सक्यौं । सन् २०१४ पछि हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि निरन्तर खेल्न पायौं’, १७-१८ वर्ष विभिन्न उमेर समूह तथा सिनियर राष्ट्रिय टोलीबाट खेलेका ज्ञानेन्द्र भन्छन्, ‘तर यू-१९ स्तरमा हामीले पहिला जसरी सोच्यौं, त्यसले मात्र निरन्तरता पायो । यो लेभलका प्रतियोगिताहरुमा ध्यान दिएनौं । अहिले प्रायः टेस्ट राष्ट्रले यू-१९ टीम दुईतीन वटा बनाएर निरन्तर श्रृंखला खेल्न पठाउँछन् । उनीहरुले घरेलु प्रतियोगिता आयोजना गर्छन् । सिनियर टोलीमा खेलाडी आउने त्यहीबाट हो ।’

अहिले नेपाली टोली निकै अगाडि बढिसकेको छ । सन् २०१८ यता निरन्तर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइरहेको छ । एसोसिएटले खेल्ने सबैभन्दा ठूलो एक दिवसीय प्रतियोगिता सन् २०१५ देखि निरन्तर खेलिरहेको छ र अबको ४ वर्षका लागि पनि पक्का गरेको छ ।

यसै वर्ष आयोजना भएको एसीसी प्रिमियर कप जितेर नेपालले पहिलो पटक एसिया कप खेल्यो, जहाँ नेपालले टेस्ट मान्यताप्राप्त भारत र पाकिस्तानका सिनियर राष्ट्रिय टोलीसँग पहिलो पटक भिड्ने अवसर पायो । नेपाली खेलाडीहरुले उक्त प्रतिस्पर्धालाई आफ्नो सपना पूरा भएको क्षणसँग दाँजिरहेका छन् ।

त्यतिमात्र होइन, नेपालले केही महिनापछि आईसीसी टी-२० विश्वकप पनि खेल्दैछ र १० वर्षपछि यो प्रतियोगितामा पुनरागमन गर्न लागेको छ । हिजो खेल हेरेर चित्त बुझाएका नेपाली क्रिकेटरहरु आज उनीहरुसँगै खेल्नसक्ने अवस्थामा पुगेका छन् । व्यवसायिक अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले पनि नेपाली खेलाडीमाथि विश्वास गर्न थालेका छन् । तर, दुर्भाग्य, सिनियर क्रिकेटमा नेपालले अहिलेसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन ।

‘यो निरन्तरको मेहनत र त्यागको प्रतिफल हो । हामीले झण्डै दुई दशकअघि यू-१९ क्रिकेटबाटै पहिचान बनाउन सुरु गरेका हौं, तर माथि पुग्न हामीलाई लामो समय लाग्यो । फेरि पनि हामीले यू-१९ क्रिकेटबाट टेस्ट राष्ट्रहरुलाई चुनौती दिन सक्नुपर्छ’, कटवाल भन्छन् ।

नेपालले जनवरी १९ तारिखबाट हुने युवा विश्वकपमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्दैछ, पहिलो चरणमा । विगतमा नेपालले यी तीन वटै राष्ट्रलाई हराएको छ । पूर्वकप्तान ज्ञानेन्द्र अहिले नेपाली टोलीले निरन्तर एक्सपोजर पाएका कारण राम्रो तयारी भएको बताउँछन् ।

‘एसीसी प्रिमियर कप र त्यसपछि एसीसी यू-१९ एसिया कप सहभागिताले नेपालको तयारी राम्रो छ । यहाँबाट हामी राम्रो नतिजाको अपेक्षा गर्न सक्छौं । विगतमा हामीले पनि सक्छौं भनेर पटक पटक पुष्टि गरिसकेका छौं’, उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *