राष्ट्रियसभा चुनावमा एमालेलाई ठक्कर, तेस्रो बन्न नेकपा एससँग टक्कर – Nepal Press

राष्ट्रियसभा चुनावमा एमालेलाई ठक्कर, तेस्रो बन्न नेकपा एससँग टक्कर

एमाले र नेकपा एसमध्ये को ठूलो भन्नेमा वामदेव गौतम निर्णायक बन्न सक्ने

काठमाडौं । सत्ता गठबन्धनसँग तालमेल प्रयास असफल भएसँगै राष्ट्रियसभा निर्वाचनमा एमाले खाली हात हुने भएको छ । यद्यपि, पार्टीले सबै प्रदेशमा उम्मेदवारी दिँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘टीआरसी कार्ड’ फ्याँक्दै एमालेले ६ सीटको बार्गेनिङ गरेको थियो । एमालेलाई समेट्न प्रधानमन्त्री सकारात्मक भए पनि गठबन्धनभित्र कुरा मिलेन ।

गठबन्धनले चार दलबीच आपसी भागबन्डा गरेसँगै आज बसेको एमाले सचिवालय बैठकले १९ सीटमै उम्मेदवार दिने निर्णय गरेको हो ।

एमालेले गठबन्धनसँग नभइ माओवादीका अध्यक्ष प्रचण्डसँग सहकार्यको प्रस्ताव गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् ।

उनले भने, ‘हामीले गठबन्धनसँग कुनै सीट दिनुस् भनेर मागेका छैनौं । हामीले विभिन्न राजनीति दलहरुसँग संवाद गर्ने क्रममा माओवादी अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेका हौं । दलसँग सहकार्य गरेर गठबन्धन भत्काउन प्रयत्न गरेकोमात्र हो ।’

गौतमले गठबन्धन भत्काउन प्रचण्डलाई प्रस्ताव गरेको भए पनि टीआरसी र राष्ट्रियसभाको मुद्दा अलग भएको जिकिर गरे ।

उनले थपे, ‘यो निर्वाचनमा कुनै पनि दलसँग सहमति हुन नसक्ने परिस्थिति आए हामीले आफ्नो मतभार सुरक्षित गर्न छुट्टै उम्मेदवारी दिने निर्णय गरेका छौं । टीआरसीको मुद्दामा संविधानको भावना र संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी घोषणापत्रमा आधारित भएर समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

राष्ट्रपति निर्वाचनदेखि नै गठबन्धन तोड्ने प्रयास गरेको भए पनि आफूहरु असफल भएको प्रचार विभाग प्रमुख गौतम स्वीकार गर्छन् ।

एमाले सचेतक महेश बर्तौलाले आफूहरुले कुनै पनि छलफलमा गठबन्धनसँग सीट नमागेको दाबी गरे । प्रचण्डले एमालेको नाम लिएर गठबन्धनभित्र ब्ल्याकमेलिङ गरेको उनको आरोप छ ।

उनले भने, ‘हामीले कुनै पनि वार्ता र संवादमा यो विषयलाई जोडेका छैनौं । यो विषय उहाँहरुले नै जोड्नुभएको हो । यसले प्रचण्डलाई गठबन्धनभित्र कति सकस रहेछ भन्ने देखाउँछ । एमालेको नाममात्रै लिएर पनि उहाँले लाभ लिइरहेको छ भन्ने बुझ्नुपर्छ ।’

गठबन्धनका नेताहरु भने यसअघि पनि टीआरसी विधेयकलाई देखाएर सबैतिर भाग लिइरहेको एमाले यसपटक उधारो सहमति नगर्ने गठबन्धन घटकको मूड देखेपछि ब्याक भएको दाबी गर्छन् । प्रधानमन्त्री प्रचण्डले एमालेलाई समिति र राष्ट्रियसभामा मात्रै होइन, सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिमा समेत भाग दिएका थिए ।

एमालेसँग कुरा नमिलेपछि गठबन्धनको बैठकले सीटको भागबन्डा गरिसकेका छन् । कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सीट पाउने सहमति बनेको छ ।

राष्ट्रियसभाबाट एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसद बिदा हुँदैछन् । एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राईको कार्यकाल सकिँदैछ ।

कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव फागुन २० गतेबाट बिदा हुँदैछन् । नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदैछ ।

यो निर्वाचनपछि राष्ट्रियसभाको दलीय हैसियत उलटफेर हुनेछ । प्रतिनिधिसभामा ३२ सीटमा खुम्चिएको माओवादी केन्द्र राष्ट्रियसभामा पहिलो दल बन्दैछ । अहिले माओवादीका १५ सांसद छन् । ३ जना बिदा हुँदा ६ थपेर माओवादीले १८ पुर्‍याउनेछ ।

अहिले १० सांसद रहेको कांग्रेस ४ जना बिदा हुँदा १० थपेर १६ पुर्‍याएर दोस्रो दल बन्दैछ । तेस्रो बन्न नेकपा एमाले र एमालेबाट विभाजित भएर बनेको नेकपा एसबीच प्रतिस्पर्धा हुनेछ । १७ सांसदमध्ये अध्यक्षसहित ९ जना बिदा हुँदा एमाले ८ सीटमा खुम्चिने अवस्था छ । सबै प्रदेशमा गठबन्धनको सुविधाजनक बहुमत रहेकाले एमालेले एक सीट पनि जित्ने सम्भावना छैन ।

नेकपा एसका अहिले ८ सांसद छन् । उनीहरुमध्ये दुई जना बिदा हुँदा दुई जना नै थपिन्छन् र ८ नै कायम हुन्छ । दुवै दललाई तेस्रो बन्न राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम निर्णायक बन्न सक्छन् ।

तत्कालीन नेकपा विभाजनपछि वामदेव गौतम कुनै पनि पार्टीमा लागेका छैनन् । अहिलेसम्म स्वतन्त्र हैसियमा रहेका उनले राष्ट्रियसभा चुनावपछि एमाले र एसमध्ये जुन पार्टी रोज्छन्, त्यही नै तेस्रो ठूलो दल हुनेछ । उनी स्वतन्त्र नै रहिरहे एमाले र नेकपा एस दुवै ८-८ सीटसहित समान हैसियतमा रहनेछन् ।


प्रतिक्रिया

3 thoughts on “राष्ट्रियसभा चुनावमा एमालेलाई ठक्कर, तेस्रो बन्न नेकपा एससँग टक्कर

  1. एमाले भिख माग्ने पार्टी होईन मिस्टर पत्रकार । यी दिल्लीका दलालहरूसँग एक्लै लडछ र यिनलाई एकै डल्लो पारेर लैनचौर खेदिदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *