आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजले घुँडा टेकेको जितगढी – Nepal Press

आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजले घुँडा टेकेको जितगढी

रुपन्देही । विसं. १८७१ पुस २१ देखि १८७२ सम्म नेपाल-अंग्रेजका बीचमा युद्ध भयो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जीत हात पार्न सकेको थिएन । कुमाउ-गडवाल (नाहान), मकवानपुरगढी, कोशी-टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो ।

तर, बुटवलमा भने नेपालले जीत हासिल गरेको थियो । पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढ्यो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भयो । नेपाली सेनाले त्यो युद्ध जित्यो । युद्धमा अंग्रेज टोली ठूलो क्षति व्यहोरेपछि तयारी नपुगेको ठानी फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि तयारीका साथ फेरि बुटवलमा आक्रमण गरिएको थियो । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो ।

इतिहासका जानकारहरुका अनुसार पाल्पा-बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अंग्रेजविरुद्धको युद्धमा विसं. १८७२ मा जित हासिल गरी विजय पटाका फहराएका थिए । तत्कालीन समयमा जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा-बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

फाइल तस्विर

तिनाउ नदीको दायाँ किनारमा अवस्थित ५०० वर्ग फिट इलाकामा फैलिएको जितगढी पूर्वपश्चिम लम्बाइ २०५ फिट र चौडाइ करिब ५५ फिट रहेको छ । गढीको जग फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै आएको छ । गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फिट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फिट ४ इन्च रहेको र गढीको भित्री भाग खुला रहेको छ ।

करिब १२ देखि १५ लाख इँटा प्रयोग भएको र इँटा कुनै १० इन्च वर्गाकार र कुनैको लम्बाइ र चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्न सुविधाको लागि विभिन्न चरहरुको निर्माण गरिएको छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको जितगढी १६औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।

विसं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा जितगढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने हुन सकेको छैन । यो गढीको प्राचीन स्वरुप कस्तो थियो यकिन साथ भन्न सकिँदैन । उजिरसिंहकै समयमा यो गढीको स्वरुप कस्तो भन्ने यकिन भन्न नसकिने यसबारेमा अध्ययन गरिरहेकाहरुले बताउँछन् ।

सम्भवतः उजिरसिंहको समयसम्म यो गढी पूर्ण रुपमा थियो । विसं. १८७३ पछि क्रमशः यो गढी उपेक्षित हुँदै गएको हो कि भन्न सकिने अवस्था रहेको जानकारहरु बताउँछन् । बुटवल उपमहानगरपालिका- १ स्थित यो गढीको संरक्षण तथा पुननिर्माण नेपाली सेनाले गरेको हो । पुनर्निर्माण भएको उक्त गढी शुक्रबार बुटवल उपमहानगरलाई हस्तान्तरण गरिएको छ ।

किल्ला केही वर्ष अघिसम्म गाईबाख्रा चर्ने चराउने थलो थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै तत्कालीन मेयर शिवराज सुवेदीको पालामा यसको संरक्षण थालिएको थियो । बुटवल उपमहानगरपालिकाले जितगढी क्षेत्रलाई पर्यटकीय थलोका रुपमा विकास गर्नेगरी गुरुयोजनासहित विभिन्न संरचना निर्माण गरिएको छ । यहाँ विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिकता मेटिने आशंकामा आलोचना पनि गरिएको छ ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले विसं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा अंग्रेजहरुलाई पराजित गरेको थियो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुटवलको जितगढी किल्लाले विजय प्राप्त गरेको २०८ वर्ष पुरानो इतिहास बोकेको छ । अंग्रेजहरुलाई हराउन सफल जितगढी किल्लाको इतिहास बहादुर नेपालीहरुका लागि मात्र होइन वर्तमान र भावी सन्ततिहरुका लागि पनि गर्व गर्ने र साहस प्रदान गर्ने किल्ला रहेको इतिहासका जानकारहरुले बताउँदै आएका छन् ।

विसं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन् गर्दा पुरिएको अवस्थामा अर्को पर्खालको पेटी भेटिएको थियो । बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकार विमलबहादुर शाक्य बताउँछन् ।

शाक्यका अनुसार आधुनिक हतियारसहित आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहन गएको हो ।

जितगढीमा दुई वर्षअघि कर्णेल उजिरसिंह थापाको ९ फिट अग्लो पूर्णकदको तामाको सालिक निर्माण गरिएको थियो । गढी किल्लासम्म भएको अतिक्रमण हटाएर बुटवल उपमहानगरले जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल थापासँगै सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको सालिक निर्माण गरेको छ । जितगढी किल्लाकै स्वरूपमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारबाट भित्र प्रवेश गर्नेबित्तिकै बायाँतर्फ लस्करै १३ जना सैनिकको अर्धकद सालिक बनाइएको छ । उक्त लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, शमशेर राना मगर र जुठे बस्नेतले विरगति प्राप्त गरेका थिए ।

शाक्यका अनुसार अंग्रेज सरकारको सेनाले अवैध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो । जनरल सुलेमान र जनरल उडको नेतृत्वमा आएको अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै भारतको गोरखपुरसम्म लखेटेको थियो ।

बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढीमा तीन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३०० भन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।

जितगढीमा युद्ध संग्रहालयसमेत निर्माण भइरहेको छ । बुर्जा शैलीमा बनाइएको मूलगेटको डिजाइन राजा मणिमुकुन्द सेनको पालामा चलेको शैली हो । मध्यभागमा नेपालको झण्डा राखिएको गेटको दुवैतर्फ तोप राखिएका छन् । जितगढी करिब दुई विघा क्षेफलमा फैलिएको छ । बुटवल उपमहानगरको गुरूयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १०)लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने उल्लेख छ ।

अंग्रेज फौजमाथि १८७२ साल वैशाख ७ मा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ । भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ ।

नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तीन पटक मन्दिर घुमाइन्छ । दिउँसो बलि दिएपछि रथलाई उठाउने चलन छ । रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगर परिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *