पर्यटकीय शहर पोखरा खेलकुदमय – Nepal Press

पर्यटकीय शहर पोखरा खेलकुदमय

पोखरा । पोखरा महानगरपालिकास्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता पोखरा रंगशालामा आइतबार सुरु भएको छ । प्रतियोगितामा २३६ पदकका लागि ३ हजार २०० खेलाडी भलिबलदेखि कराँतेसम्मको स्पर्धा गर्न मैदानमा छन् ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा मंगलबार २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुँदैछ । टेनिस खेलतर्फ देशकै उत्कृष्ट प्रतियोगिताको रुपमा रहेको उक्त प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र बेलायतका २१६ जना खेलाडीले सहभागिता जनाउने छन् ।

पोखरामै केही समयअघि केपी ओली कप क्रिकेट, प्याब्सन स्पोर्टस् मिट, पोखरा आईटीएफ जे ३० टेनिस, हिसान स्पोर्टस् मिट सम्पन्न भइसकेका छन् । पोखरामा देशकै चर्चित टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल, आहा रारा पोखरा गोल्डकप फुटबल रपोखरा म्याराथन पनि हुने तर्खरमा छ ।

अघिल्लो वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गरेको पोखरामा त्यसयता भने फाट्टफुट्ट खेलकुद गतिविधि भएका थिए । अहिले पोखरा रंगशालामा खेलकुदको माहोल तातिएको छ । रंगशालामा खेल र खेलाडीको बाक्लो उपस्थिति देख्न सकिन्छ । खेलाडी उत्पादनको मुख्य आधारको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड पनि पुस १३ र १४ गते हुँदैछ ।

देशकै चर्चित भलिबल प्रतियोगिता टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आउँदो माघ १ देखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने तय गरिएको छ । प्रतियोगितमा प्रदेश, विभागीय टोलीदेखि विदेशी टीमसम्म सहभागी हुनेछन् । प्रतियोगितामा पुरुष र महिलातर्फ समान ६ टीमले भाग लिने निश्चित भएको छ ।

गण्डकी प्रदेशमा भलिबलको सदाबहार क्रेज छ । अघिल्ला संस्करणको टाइगर कपमा पनि दर्शकको बाक्लो उपस्थिति थियो । अघिल्लो संस्करणमा पुरुषतर्फ गण्डकीले फाइलनमा एपीएफलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । गण्डकीले घरेलु प्रतियोगितामा विभागीयलाई टक्कर दिँदै आएको छ ।

लामो समयदेखि मोफसलमा आफ्नो प्रभुत्व जमाउँदै आएको आहा रारा पोखरा गोल्डकपको २३औं संस्करण माघ दोस्रो साता हुँदैछ । सहारा क्लबले आयोजना गर्दै आएको उक्त प्रतियोगितामा ए डिभिजनका प्रतिष्ठित क्लबहरुले सहभागिता जनाउँदै आएका छन् ।

अघिल्लो संस्करणमा भुटानिज युथ क्लबलाई पराजित गर्दै संकटा क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि चुमेको थियो । हरेक वर्ष आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्डकपले पोखरेली दर्शकहरुको राम्रो साथ पाउँदै आएको छ । आयोजकले २३औं संस्करण माघ दोस्रो साता गर्ने गरी तयारी थालेको छ ।

१८औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आउँदो फागुन ५ गते हुँदैछ । भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा म्याराथनको तयारी सुरु भइसकेको छ । गत वर्ष १६ देशका धावक प्रतियोगितामा सहभागी थिए । यसपालि हालसम्म ३० भन्दा बढी विदेशी धावकले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।

म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा, ह्विलचियर, दृष्टिविहीन र रन फर फनमा १० हजार बढी धावक दौडने छन् ।

पोखरामा सोमबार मुवाँथाई च्याम्पियनसिप हुँदैछ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा विश्वमै लोकप्रिय बन्दै गएको मुवाँथाईको खेल पोखरामा हुन लागेको हो ।

अंग्रेजी नयाँ वर्षको अवसरमा फेवाताल किनारमा पोखरा कप अन्तरक्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)को आयोजनामा पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा १२ टीम सहभागी छन् ।

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनको मुख्य स्रोत विद्यालय भएको बताए । उनले यस्ता खालको प्रतियोगिताबाट राम्रो खेलाडीको पहिचान हुने उल्लेख गरे ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले गण्डकीमा निरन्तर खेलकुद गतिविधि हुँदा नयाँ खेलाडी पहिचान गर्न सजिलो हुने बताए ।

‘प्याब्सन, हिसान, पालिका, जिल्ला, संघसंस्थाले प्रतियोगिता आयोजना गरिराख्नुभएको छ । जसले गर्दा नयाँ खेलाडीले अवसर पाएका छन् । यसले खेलाडी पहिचान गर्न सजिलो हुन्छ’, उनले भने, ‘जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै खेलाडीको स्तर वृद्धिमा टेवा पुग्छ ।’

प्रतियोगिता आयोजकसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेको सदस्य सचिव शर्माले सुनाए । ‘हामीले सञ्चालन भएको प्रतियोगितामा आयोजकसँग सहकार्य, समन्वय गरेर अगाडि बढेका छौं । प्रतियोगिताको दौरानमा आइपर्ने समस्या न्यूनीकरण गर्न हामी प्रतिबद्ध छौं’, उनले भने ।

गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापनको पढाइ हुँदै आएको छ । विश्वविद्यालयले नेपालमै पहिलो पटक ब्याचलर्स इन स्पोर्टस्को पढाइ २ वर्षअघि सुरु गरेको थियो ।

तस्विरहरु : प्रेम थापा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *