संविधानको धारा ४ हेर- मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर – Nepal Press
सम्पादकीय

संविधानको धारा ४ हेर- मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी हुन् र संविधानविरोधीलाई देशद्रोही करार गरेर झ्यालखानामा हाल्ने चेतावनी दिएका छन् । मन्त्रीको तहबाट आएको यो धम्की सामान्य होइन ।

मन्त्रीले संविधान नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने भनिसकेपछि संविधानमा के छ भनेर बुझ्नुपर्ने हुन्छ । धर्मनिरपेक्ष भन्नाले संविधानको धारा ४ मा सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता भनिएको छ ।

संस्कृतिमन्त्री किराँतीले संविधानको धारा ४ को ठाडो उल्लंघनमात्र गरेका छैनन्, धर्म परिवर्तनलाई दण्डनीय भन्ने संविधानको व्यवस्थाको समेत उल्लंघन गर्दै सार्वजनिक रुपमा क्रिश्चियन धर्म मान्न दबाबसमेत दिएका छन् ।

संविधानको धारा ४ ले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षण गर्ने दायित्व सरकारलाई सुम्पिएको छ । सनातनदेखि चलिआएको धर्म-संस्कृति भन्नाले हिन्दू, बौद्धलगायत ओमकार परिवारले मान्ने धर्म तथा स्वयं मन्त्री किराँतीको सम्प्रदायले मान्ने किराँत र प्रकृतिलगायतका परम्परागत धर्म-संस्कृति हुन् । तर, मन्त्री किराँतीले संविधानको धारा ४ नमान्न उक्साएर (उनकै शब्दमा) ‘देशद्रोह’ गरेका छन् । उनले भनेको मान्ने हो भने सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर हतकडी लगाउँदै झ्यालखानामा हाल्नुपर्छ । यो अरुको माग होइन, उनकै भनाइ हो ।

व्यक्तिका रुपमा सुदन किराँतीलाई जुनसुकै धर्म मान्ने स्वतन्त्रता छ । आफूले मान्ने धर्मको प्रचार गर्न पनि उनी स्वतन्त्र छन् । तर, मन्त्रीका रुपमा निश्चित धर्मको समर्थन वा विरोध गर्ने हक उनलाई छैन ।

संस्कृतिमन्त्रीका रुपमा त उनको जिम्मेवारी नै हो, सबै धर्म-संस्कृतिको सम्मान गर्नु । र, धार्मिक सद्भावका लागि समाजलाई प्रोत्साहित गर्नु । तर, किराँतीले हिजो जे अभिव्यक्ति दिए, त्यो मन्त्रीको मर्यादा प्रतिकूल त छँदैछ, त्योभन्दा बढी नेपाली समाजको धार्मिक सहिष्णुता र सामाजिक सद्भावविरुद्ध छ ।

व्यक्तिका रुपमा सुदन किराँतीलाई जुनसुकै धर्म मान्ने स्वतन्त्रता छ । आफूले मान्ने धर्मको प्रचार गर्न पनि उनी स्वतन्त्र छन् । तर, मन्त्रीका रुपमा निश्चित धर्मको समर्थन वा विरोध गर्ने हक उनलाई छैन ।

उनले निश्चित धर्मको चर्को वकालतमात्रै गरेका छैनन्, त्यो धर्म नमान्नेलाई संविधानविरोधी मात्र होइन, देशद्रोही नै करार गरेका छन् ।

व्यक्ति आस्तिक वा नास्तिक दुबै हुनसक्छ । नास्तिक हुँ भन्नेले पनि संस्कृतिका रुपमा धार्मिक गतिविधिमा आफूलाई सहभागी गराएको हुनसक्छ । त्यसैले आस्तिक (जुनसुकै धर्मका) वा नास्तिक दुबैलाई समान व्यवहार गर्नु राज्यको दायित्व हो ।

यो देशमा संविधान नै सर्वस्वीकार्य छैन । त्यसप्रति विभिन्न दल, वर्ग र समुदायको असन्तुष्टि छ । र, तीमध्ये कतिपयले बेला बेलामा संविधानविरोधी गतिविधि पनि गर्छन् । लोकतन्त्रमा संविधानप्रति शान्तिपूर्ण असन्तुष्टि जनाउन पाइन्छ । र, वैधानिक बाटोबाट सामर्थ्य पुर्‍याएर बदल्छु भन्न पनि पाइन्छ । तर, मन्त्री किराँतीले गैरईसाईलाई संविधानविरोधी भनिदिए । यसको अर्थ नेपालको करिब ९८ प्रतिशत जनसंख्या संविधानविरोधी हो त ? किनकि पछिल्लो जनगणनाअनुसार नेपालमा ईसाईको जनसंख्या १ दशमलब ७६ प्रतिशतमात्रै छ । अनि, तीबाहके अरु सबै देशद्रोही हुन् त ?

मन्त्री किराँतीले संसारमा क्रिश्चियन धर्म मान्नेहरू सबैभन्दा धेरै (३० प्रतिशत) रहे पनि नेपालमा चाहिँ त्यो सम्प्रदायमाथि थिचोमिचो गरिएको गम्भीर आक्षेपमात्रै लगाएका छैनन्, ‘संसारले मानेको धर्म हामीले नमान्ने ?’ भनेर प्रश्नसमेत गरेका छन् ।

पहिलो- क्रिश्चियन धर्म मान्नेहरुको संख्या ०.३६ प्रतिशतले बढेको छ । २०६८ मा १.४ प्रतिशत थियो, जुन २०७८ को जनगणनामा बढेर १.७६ प्रतिशत पुगेको छ । यो तथ्यांकले क्रिश्चियन धर्म मान्नेमाथि थिचोमिचो होइन, उर्बर वातावरण छ भन्ने देखाउँछ ।

दोस्रो- धर्म वैज्ञानिक आविस्कार जस्तो होइन कि संसारले संसारले अपनाओस् । देश, समाजको पुरातन संस्कृति र परम्पराको निरन्तरतासँगै व्यक्तिको धारणाले धर्मको प्रसार हुने भएकाले संसारको ३० प्रतिशत जनसंख्याले मान्ने धर्म सबै नेपालीले ग्रहण गर्नुपर्छ भन्ने मन्त्री किराँतीको धारणा कुर्तक हो ।

यो देशमा संविधान नै सर्वस्वीकार्य छैन । त्यसप्रति विभिन्न दल, वर्ग र समुदायको असन्तुष्टि छ । र, तीमध्ये कतिपयले बेला–बेलामा संविधानविरोधी गतिविधि पनि गर्छन् । लोकतन्त्रमा संविधानप्रति शान्तिपूर्ण असन्तुष्टि जनाउन पाइन्छ । र, वैधानिक बाटोबाट सामर्थ्य पु¥याएर बदल्छु भन्न पनि पाइन्छ । तर, मन्त्री किराँतीले गैरईसाईलाई संविधानविरोधी भनिदिए ।

मन्त्री किराँतीले आफूमात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत धार्मिक विवादमा मुछ्ने प्रयास गरेका छन् । उनले भनेका छन्- ‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिसस जस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्ड जस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मनपर्छ रे !’

किराँतीको यो विवादास्पद अभिव्यक्तिको खण्डन प्रधानमन्त्रीले गर्छन् वा किराँतीले संकेत गरे झैं ‘जिससकै उत्तराधिकारीका रुपमा’ प्रफुल्ल भइरहन्छन्, त्यो पनि हेर्दै जाऔं । तर, मन्त्रीका रुपमा उनले दिएको अभिव्यक्तिबारे भने प्रधानमन्त्रीले जवाफ दिनैपर्छ । मन्त्रीलाई बर्खास्त गरेर होस् वा स्पष्टीकरण मागेर ।

मन्त्री किराँतीका अभिव्यक्ति क्रिश्चियन समुदायकै लागि पनि घातक छ ।

पहिलो- उनले प्रचण्ड जस्तो सामान्य व्यक्तिलाई उनीहरुको आस्था केन्द्र जिसससँग तुलना गरेका छन् । जिससको यो हदको बद्ख्वाइँ क्रिश्चियन समुदायमाथि नै प्रहार हो ।

दोस्रो- किराँतीको अभिव्यक्तिसँगै बढ्दै जाने बहस वा विरोधले अल्पसंख्यक क्रिश्चियन समुदायको पहिचानमा कुनै न कुनै कोणबाट प्रहार हुनसक्छ । र, त्यसले सदियौंदेखिको हाम्रो सामाजिक सद्भावमा असर गर्नसक्छ । त्यसैले, आफ्ना अभिव्यक्तिबारे सार्वजनिक रुपमा क्षमायाचना गर्न र सामाजिक सद्भावको आह्वान गर्न क्रिश्चियन समुदायले नै मन्त्री किराँतीलाई बाध्य पार्नुपर्छ ।

धर्म वैज्ञानिक आविस्कार जस्तो होइन कि संसारले संसारले अपनाओस् । देश, समाजको पुरातन संस्कृति र परम्पराको निरन्तरतासँगै व्यक्तिको धारणाले धर्मको प्रसार हुने भएकाले संसारको ३० प्रतिशत जनसंख्याले मान्ने धर्म सबै नेपालीले ग्रहण गर्नुपर्छ भन्ने मन्त्री किराँतीको धारणा कुर्तक हो ।

मन्त्रीको लहडपूर्ण अभिव्यक्तिको असर सिंगो धार्मिक समुदायमा पर्न दिनुहुँदैन । क्रिश्चियन महोत्सवका आयोजकले हार्दिक रुपमा मन्त्री किराँतीलाई हाम्रो सामाजिक सद्भावको चरित्र बुझाउन सक्नुपर्छ ।

मन्त्री किराँतीले सार्वजनिक रुपमा क्षमायाचना गर्लान् पनि । तर, त्यो मात्रै पर्याप्त हुँदैन । आफूलाई समेत धार्मिक विवादमा तान्ने मन्त्री किराँतीलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ । किनकि सरकारमा बसेर निश्चित धर्मको प्रचार गर्न पाइन्न । धार्मिक सद्भावप्रति खेलवाड गर्न त झनै पाइन्न ।

गलत अभिव्यक्तिका कारण मन्त्री पद गुमाएका उदाहरण हामीसँग छन् । शरतसिंह भण्डारी र शेरबहादुर तामाङ पछिल्ला उदाहरण हुन् । जबकि तामाङको अभिव्यक्ति त जायज नै थियो । यी नजिरलाई आत्मसात गर्दै प्रधानमन्त्रीले धर्मभीरु किराँतीलाई जिम्मेवारी मुक्त गर्नैपर्छ । त्यसो गर्दा किराँतीले बिराएको बाटोलाई प्रधानमन्त्रीले सच्याएको ठहर्छ ।

किराँतीको बर्खास्तीलाई क्रिश्चियन समुदायले पनि आफूप्रतिको अनुदार दृष्टिकोणबाट होइन, सदियौंदेखिको धार्मिक सहिष्णुता र सामाजिक सद्भावको पक्षमा ऐतिहासिक निर्णयको रुपमा ग्रहण गर्नुपर्छ ।

विवादको न्यूनीकरण, सामाजिक सद्भावको सन्देश प्रवाह र प्रधानमन्त्रीको उचित ‘एक्सन’ प्रमाणित गर्न पनि मन्त्री किराँती बर्खास्त हुनुपर्छ ।


प्रतिक्रिया

One thought on “संविधानको धारा ४ हेर- मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर

  1. दुई कौडीका नेताहरू जसले खान दियो उसकै भजन गाउँदै हिडछन् । अलि बढी खान दियो भने देशै पनि बेच्छन् । यस्ता दुई कौडीका देश बेचुवाहरूलाई पहाडमा दिनभरी बाटो खन्न लगाएर दुई छाक खान दिनुभन्दा अरू केही पनि काममा मौका दिनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *