इलाम उपचुनावको रुझान : जातीय पहिचानवादी धार अस्वीकार, रवि र हर्कलाई मिलेन प्यार ! – Nepal Press
टिप्पणी

इलाम उपचुनावको रुझान : जातीय पहिचानवादी धार अस्वीकार, रवि र हर्कलाई मिलेन प्यार !

मतदाताभन्दा धेरै मत माग्नेहरु पुगे । स्थानीयभन्दा धेरै ‘बाहिरिया’को भिड लाग्यो । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपचुनावले इलाममा राजनीतिक पर्यटन बढायो ।

उसो त वैशाख १५ को उपचुनाव बझाङ १(१) मा पनि थियो । इलाममा जस्तै त्यहाँ प्रमुख दलका उमेद्वारहरु थिए । भारतसँग सीमा जोडिएको सूदुरपूर्वी जिल्ला इलामको चुनावभन्दा चीनसँग सीमा जोडिएको सुदुरपश्चिमको जिल्ला बझाङको चुनावको चर्चा कम भयो । कांग्रेसका दुवै महामन्त्री इलाम पुगे, बझाङ पुगेनन् । एमाले अध्यक्ष ओली पनि इलाम पुगे, बझाङ पुगेनन् ।

इलाममा मात्रै स्वतन्त्र उम्मेदवार थिएनन् । बझाङमा पनि थिए । धरानका स्वतन्त्र उम्मेदवार भएर मेयर बनेका हर्क साम्पाङ इलाम पुग्दा बझाङ पुगेनन् ।

गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेको उम्मेदवार प्रदेशमा नभएकोले उनी बझाङ नजानु स्वभाविक भयो । खासमा नेपालका मुलधारका शीर्ष नेताहरुले संघीयतालाई पत्याएको देखिएन । संघ उम्मेदवार जिताउन जुलुस लाएर इलाम पुग्ने शीर्ष नेताहरुले प्रदेश उम्मेदवार जिताउन त्यही तदारुकता देखाएनन् ।

अहिले इलाम र बझाङ उपनिर्वाचनको प्रारम्भिक मतगणना भइरहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनालाई मास मिडिया र सोसल मिडियाले जनजनमा देशदेखि विदेशसम्म फिँजाइरहेका छन् । प्रारम्भिक नजिता हेर्दा पहिलो र दोस्रो स्थानको लागि एमालेका सुहाङ नेम्वाङ र कांग्रेसका डम्बर खड्काको प्रतिस्पर्धा देखिएको छ ।

तेस्रो र चौथो स्थानको लागि स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वपाका मिलन लिम्बूको दौड चलिरहेको छ । चुनाव जित्दै आएको रास्वपाले अब इलाम बजारलाई आफ्नो ‘कोर एरिया’ कल्पना गर्दै त्यहाँको मतले तेस्रोसम्म हुने आकांक्षा पालेको छ । इलामको उनिर्वाचनले मुलतः चार सन्देश दिएका छन् ।

सन्देश एकः सामाजिक सञ्जालमा चर्चा चलेजस्तो मुलधारका दलहरुको लोकप्रियता निमिट्यान्न भइसकेको छैन । रवि लामिछानेको पहिलेभन्दा मतान्तर बढाउने चितवनका ग्रामीण भेगदेखि रुखको चालू किल्ला पहिलो किस्तामै घण्टीबाट भत्काउने स्वर्णिम वाग्लेले चुनाव जितेको तनहुँसम्मको चित्र देखाएर मुलधारको दलको विश्वास कमजोर भएको व्याख्या हुँदै आएको थियो । मुलधारका दलहरुसँग जनता जति असन्तुष्ट भए पनि चितवन र तनहुँकै जस्तो अवस्था देशभर नभएको लिट्मस टेस्ट इलामको चुनावी गणितले देखाएको छ ।

मुलधारका दलहरु खासगरि नेकपा एमाले र नेपाली कांग्रेसको शक्ति क्षयीकरण सोचेजस्तो भइनसकेको पुष्टि भयो । वंशजका आधारमा टिकट दिएकोेमा होस् अथवा पुरानै अनुहार देहोर्याएको आधारमा होस्, जनताले परम्परागत दललाई अविश्वास नगरेको सन्देश देखिइएको छ ।

सन्देश दुईः कोशी प्रदेश सडकमा देखिएको पहिचानवादी मत मतपत्रमा अभिव्यक्ति नहुनु इलामे चुनावी गणितको अर्को सन्देश हो । प्रदेशको नाम पहिचानको आधारमा नभएर पुरानै अञ्चलको नाममा राखिएपछि भड्किएको समूहले सडकमा निरन्तर हंगामा गर्दै आएको थियो ।

त्यसैको बहकाउमा परेका थिए एमाले बाहेकका अन्य राजनीतिक दलहरु । तर, ब्यालेट बक्समा ‘पहिचानवादी जनमत’ सोचेजस्तो गह्रुंगो देखिएन । जनताले मत दिएर पहिचानको मुद्दा बोक्नेलाई जिताउन चाहेनन् ।

यसो हुनुमा पहिचानको नाममा उठ्ने स्वतन्त्र उम्मेदवारलाई दलीय राजनीतिमा लागेका भेट्रानहरुले राजनीतिक नेतृत्व नमानेको पनि हुनसक्छ ।

मुद्दा पहिचानको लिने तर आफूभन्दा अर्को कोही नेता भएको नमान्ने खालको अवस्था देखिएको छ । अर्थात् पहिचानको मुद्दामा एकमत देखिएका परम्परागत दलभित्रका नेता–कार्यकर्ताहरु पहिचानको मुद्दा बोक्ने मानक सर्वसम्मत अनुहार बनाउन भने इच्छुक छैनन् ।

मुलधारको राजनीतिक दलमा हुँदाको देशभरको राज्यसत्ता र देशव्यापी दलको सत्ता सम्पर्क र सम्बन्ध गुमाउन नचाहेर पनि मुलधारका दलभित्र रहेका पहिचान पक्षधरहरुले खुलेर व्यालेट विद्रोह गर्न र गराउन नसकेको देखिएको छ । त्यही कारण कोशीको पहिचानपक्षको वजन सडकमा भन्दा धैरै फितलो रुपमा मतपत्रमा खसेको हो ।

सन्देश ३ः चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका थेगिमका प्रमुख प्रचारक जसरी लागेका थिए हर्क सम्पाङ । यो चुनाव एकप्रकारले साम्पाङको व्यक्तिगत लोकप्रियताको मापन पनि थियो । मतदानको रुझानले साम्पाङ र उनका समर्थकहरुले दाबी गरेजस्तो बलियो जनाधार देखिएन ।

साम्पाङका झण्डै साढे आठ लाख फेसबुक पेजमा लाइक गर्नेहरु सबै उनका मतदाता थिएनन् नै । चुनाव अगाडि घण्टीका मिलन लिम्बू तथा अन्य रास्वपा नेताहरुले हर्कको साथ पाउन जुन लविङ गरेका थिए, त्यो हर्कको चुनावी वजनलाई धेरै सोचेर गरिएको थियो ।

हर्कले मुढाको पक्षमा व्यापक मत मागे । इलाम पुगेर भाषण गरे । यद्यपि, त्यसले पनि मतदातालाई ठूलो प्रभाव पार्न सकेन । फलस्वरुप हर्कको क्रेजले मुढा पहिलो त परै जाओस्, दोस्रो शक्ति बन्न नसक्ने अवस्था देखिएको छ ।

यसले मुढा उम्मेदवार मात्रै होइन लौरोबाट स्वतन्त्र चुनाव जितेका हर्कलाई पनि धरानमा अब हुने चुनावमा उठ्दा सोचेजस्तो सहज नभएको संकेत गर्छ ।

हर्कले समर्थन गरेका उम्मेदवारको चुनावी परिणाम विज्ञापन गरेर उनका विपक्षीहरुले उनीविरुद्धको चुनावी मोर्चामा जनतालाई राजी गराउन प्रयत्न गर्न सक्ने आधार तय भएको छ ।

इलाम नगरपालिका र धरान उपमहानगरपालिका पूर्वमेयर तारा सुब्बाको पालामा औपचारिक रुपमै मितेरी नगर भएका थिए । इलाम नगरपालिका समेटिएको क्षेत्रको चुनावी परिणामले यो संकेत दुवै मितेरी सहरहरुमा समान हुन पनि सक्छ ।

सन्देश चारः एउटै क्षेत्रको परिणाम देशभरिका लागि सत्य नहुन सक्छ, तर इलामको उपचुनावले रास्वपालाई राम्रै धक्का लागेको छ । चुनाव जित्ने दाबी गरेको रास्वपा प्रारम्भिक मतगणनामा चौंथो स्थानमा रहेर संघर्ष गरिरहेको छ ।

रास्वपाले चितवन र तनहुमा स्वर्णिम र रवीको नाममा पाएको जुन लोकप्रिय मत थियो, त्यसको नोस्टाल्जीयाका कारण पार्टीले यो उपचुनावमा पनि ठूलै महत्वाकांक्षा राखेको थियो ।

यो उनीहरुको भ्रम सावित भयो । यसमा चुनावी मुद्दा कमजोर भएर हो वा चुनावी मुहार कमजोर भएर हो, त्यसमा रास्वपालाई गृहकार्यको बाटो खुलेको छ ।

चितवन र तनहुँको उपनिर्वाचनको नोस्टाल्जियाले चुनाव ८४ को परिणाममा रास्वपाले सोचेजस्तो र अरु मुलधारका दलहरुले डर मानेजस्तो फरक नपर्ने सन्देश इलामबाट आएको छ । कांग्रेसले हारेकै उम्मेदवार उठायो ।

एमालेले बाबुको ठाउँमा छोरा उठायो । रास्वपाले आलोचना गर्ने, राजनीति गर्ने क्षेत्र धेरै पाएको थियो । गर्न खोजेको पनि हो । तर, मतदाताले पत्याएनन् । यसले रास्वपाको चुनाव ८४ को आत्मबललाई नै कमजोर बनाइदिएको छ ।

 


प्रतिक्रिया

2 thoughts on “इलाम उपचुनावको रुझान : जातीय पहिचानवादी धार अस्वीकार, रवि र हर्कलाई मिलेन प्यार !

  1. विराट जीको आग्रहपूर्वग्रह लेख, तेस्रो दौडमा घन्टि र मुढा हैन यो समाचार प्रकाशन भईरहेको समयमा दोस्रो स्थानको लागि रुखसंग टक्कर भईरहेको छ । अर्को कुरा मुढाको मत हेर्दा पहिचानवादीहरुलाई निराश हैन नया राजनीतिक शक्तिको रुपमा अगाडि वढ्ने स्पष्ट संकेत गरेको छ । उत्साहित वनाएको छ । कसरी वढ्ने फ्रन्टलाईनमा रहने साथीहरमा निर्भर रहन्छ ।

  2. एकदम गलत विश्लेषण । कच्चा । ८४ को लागी यो खतरनाक सकेत हो, बेलमा बु्ौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *