हार्दै डा. केसीको हठ- जनताको साथ नपाएपछि खाली हात अनशन तोड्न बाध्य – Nepal Press
टिप्पणी

हार्दै डा. केसीको हठ- जनताको साथ नपाएपछि खाली हात अनशन तोड्न बाध्य

डा. गोविन्द केसीको २० औँ अनशन हिजो सकियो, जुन सम्भवतः अहिलेसम्मकै छोटो थियो । तीन दिनमै सरकारले माग पूरा गरेर उनी अनशनबाट उठेका भने होइनन् । यो पटक अनशनले केही हात पर्दैन भन्ने बुझेर उनले पहिल्यै बुद्धि पुर्‍याएका हुन् ।

डा. केसी अनशन तोड्दै गर्दा निराश देखिन्थे । साथमा कोही नभएको जस्तो महसुस गरे उनले । शुक्रवार करिब सात बजे उनी अनशन बसेका थिए । आइतबार तीन दिन पुग्दै थियो । केसीका सहयोगी डा. अमृत जैशीले आइतबार नै अनशन तोड्न सुझाव दिएका थिए । ७२ घण्टा नपुगेको भन्दै आइतबार अनशन तोड्न नमानेका केसीले सोमवार भने हात उठाए ।

२०७९ साल भदौ २७ गते २० औँ अनशन पनि केसी धनगढीमै बसेका थिए । २० औँ अनशन बस्दा सरकार उनको अगाडि निरीहजस्तो बनिरहेको थियो । उनको माग सम्बोधन गर्न जनदबाब चर्कै थियो । केसीको माग सम्बोधन गराउन नागरिक समाज, राजनीतिक दल, युवा, विद्यार्थी, चिकित्सक, डाक्टर सबै सडकमा आइरहेका थिए । यसअघि पनि प्रत्येक सत्याग्रहमा केसीको साथमा जनता थिए । तर, यस पटकको माहोल भिन्नै थियो ।

गेटामा प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बस्न गएका केसीलाई पहिलो गाँसमै ढुङ्गा लाग्यो । सुदूरपश्चिममा आमजनता गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएको हेर्न चाहन्छन् । तर, केसी भने आफूसँग २० औँ अनशन तोड्दा सरकारले गरेको सहमतिअनुसार गेटा मेडिकल कलेज सञ्चालनको लागि एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि बढाउनु पर्ने बताउँछन् । केही समयअघि काठमाडौँमा पनि केसीले यस्तै धारणा सार्वजनिक गरेका थिए ।

गेटाको विषयमा सुदूरपश्चिमका जनताको चाहना एकातिर र केसीको माग अर्कैतिर भएपछि यस पटकको अनशन उपलब्धिमूलक बन्न सकेन । शुक्रवार पहिलो पटक केसीलाई स्थानीयले अवरोध गरे । जसको लागि लडिरहेको दाबी गरिरहेका छन्, उनीहरूबाटै भएको अवरोधलाई पनि केसीले सहज रूपमा बुझ्न सकेनन् । स्थान फेरेर उही मागका लागि अनशन बसे । शुक्रवार अवरोध गरेको समूहले शनिवार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमको मागविरुद्ध डा. केसी लडिरहेको बतायो । सोही दिन डा. केसीको विरुद्धमा प्रदर्शन भयो ।

२० औँ अनशन धनगढीमै बस्दा उनको समर्थनमा प्रदर्शन गर्नेहरू पनि यस पटक उनको समर्थनमा खुल्न सकेनन् । कारण थियो यस पटकको माग सुदूरपश्चिममा नागरिकले स्वीकार गर्न नसक्नु । सुदूरपश्चिममा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा बहस हुन थालेको अढाई दशक नाघिसकेको छ । कहिले मेडिकल कलेज, कहिले प्रतिष्ठान हुँदै अहिले विश्वविद्यालयको विधेयक पारितको तयारी भइरहेको छ ।

मन्त्रिपरिषद् बैठकबाट सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भइसकेको छ । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले पनि विश्वविद्यालयकै रूपमा अगाडि बढ्ने आश्वासन दिइसकेका छन् । यस्तो अवस्थामा फेरी डा. गोविन्द केसीले यहाँ विश्वविद्यालय गर्न नहुने अडान लिएपछि अन्योल उत्पन्न भएको छ ।

यहाँका नागरिकले विश्वविद्यालयभन्दा बाहिर गएर प्रतिष्ठान वा मेडिकल कलेजको विषय उठाउँदा पहिलो पटक केसीमाथि मात्रै खनिएका भने होइनन् । यसअघि सरकार विरुद्ध पनि स्थानीयले प्रदर्शन गरेका थिए । सरकारले गेटामा दशरथ चन्द मेडिकल विश्वविद्यालय स्थापना गर्ने माघ २९ गते निर्णय गर्‍यो । तर जेठ १५ गतेको बजेट भाषणमा प्रतिष्ठान बनाउने भनेपछि विवाद उत्पन्न भएको थियो । मन्त्रिपरिषद्कै निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै विद्यार्थी, राजनीतिक दल, कार्यकर्ता, सर्वसाधारण सडकमा आएका थिए ।

गेटामा मेडिकल विश्वविद्यालयको ठाउँमा प्रतिष्ठान बनाउन खोजेको भन्दै अत्तरियामा एक घण्टा चक्काजाम समेत गरिएको थियो । त्यो विषयले सुदूरपश्चिम प्रदेश सभामा पनि प्रवेश पाएको थियो । सांसदहरूले सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

३० लाख जनसंख्या भएको भूगोलमा हालसम्म एक उच्च तहको स्वास्थ्य शिक्षा पढाई हुने कलेज नहुनु र उच्च दक्ष जनशक्ति सहितको एक सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्यकै कुरा हो । राजनीतिक नेतृत्व र राज्यसत्तासम्म पहुँचका सवालमा तीन जना व्यक्ति पटक–पटक प्रधानमन्त्री भैसकेको क्षेत्रमा नागरिकहरू अहिले पनि सुविधा सम्पन्न उपचारका लागि कि भारत कि नेपालगन्ज वा काठमाडौँ जानुपर्ने बाध्यता छ । पटक पटक प्रधानमन्त्री, दर्जनौँ पटक मन्त्री दिइसकेको यो भूमिमा अहिले पनि उपचार नपाएर ज्यान गुमाउनेहरूको उत्तिकै छन् । अस्पतालसम्म पुर्‍याउन सहज अवस्था अझै छैन ।

कोही जनता उपचार नपाएर छट्पटिरहेका छन् त कोही मेडिकल माफियाहरूको चङ्गुलमा परेर घरबारविहीन भएका छन् । सुदूरपश्चिमको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पतालको अवस्था मात्र हेर्ने हो भने पनि स्थिति भयावह देखिन्छ । न उपकरण पर्याप्त छन् न विशेषज्ञ चिकित्सक । यस्तो बेला नागरिकले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा निर्माण भएर घर आँगनमै सर्भ सुलभ उपचार पाउने मात्रै होइन दक्ष जनशक्ति पनि प्रदेशमा उत्पादन हुने आशा पलाएको छ ।

यस्तो आशाको बिचमा केसीले भन विश्वविद्यालय बन्न नसक्ने जिकिर गरिरहेका छन् । आफ्नो तीन दिने अनसन तोड्दै उनले विश्वविद्यालयको नाममा नेताहरूले जनतालाई धोका दिइरहेको आरोप लगाए ।

‘नेपालमा कहीँ पनि त्यस्तो छैन । उहाँहरू न डाक्टर हो न त मेडिकल विज्ञ । के आधारमा उहाँहरूले विश्वविद्यालयको कुरा उठाइरहनु भएको छ ?’ उनले भने, ‘यसका लागि ३०० बेडको अस्पताल आवश्यक पर्छ ।’

उनले विश्वविद्यालय स्थापनाका लागि संघर्षरत स्थानीय जनतालाई समेत ‘माफिया’ को संज्ञा दिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झन् केही भन्न बाँकी राखेनन् ।

‘ठग, अपराधी, माफिया, आततायी गिरोह पनि यसमा सम्मिलित छ । त्यो गिरोहको नेता भनेको को हो भन्नुहोस् त ?’ उनले प्रश्न सोधेर आफैँ जवाफ दिँदै भने, ‘त्यसको नाममा हो दुर्गे प्रसाईँ । म दुर्गा पनि भन्दिनँ । दुर्गा त भगवानको नाम हो । त्यो ठग हो । अपराधी हो । माफिया हो ।’

यस पटक उनको अनसनलाई कसैले वास्ता नगरेपछि मर्यादाको सीमा नाघेर उनले थुप्रै पटक गम्भीर आरोप लगाए ।

‘विशेषज्ञ सेवा पनि दिने र स्वास्थ्यसम्बन्धी पठनपाठन पनि सुरु गर्ने कुरा मेडिकल कलेजले दिइरहेको छ । प्रतिष्ठानले दिइरहेको छ । यहाँ विश्वविद्यालयको के आवश्यकता ?’ केसीको प्रश्न थियो ।

प्रचण्ड पहिलो कार्यकाल प्रधानमन्त्री हुँदा २०६५ सालमा गेटामा मेडिकल कलेज निर्माणका लागि सम्भाव्यता अध्ययन भएको थियो । अहिले पनि प्रचण्ड प्रधानमन्त्री छन् । आफूले सुरु गरेको योजना फत्ते गर्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । तर, कहिले मेडिकल कलेज, कहिले प्रतिष्ठान त कहिले विश्वविद्यालयको नाममा भइरहेको राजनीतिले यहाँका नागरिक आजित भइरहेका छन् । उनीहरूको माग पछिल्लो पटक सरकारले निर्णय गरेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने छ ।

मेडिकल कलेज निर्माण सुरु गरिँदा आठ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान रहेको थियो । यो आयोजनाको गुरुयोजना अद्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा चार अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ ।

सुदूरपश्चिममा नागरिकको माग विरुद्ध माग उठाएर अनशन गरेको आरोप झेलेका केसीको अनशन पहिलो पटक यति फितलो र दिशाविहीन देखिएको हो । उसो त गोविन्द केसीले मेडिकल शिक्षा सुधारका लागि आन्दोलन थालेको एक दशक बढी भइसक्यो । केसीले मेडिकल शिक्षाको बेथिति सहन नसकेपछि एक दशकअघि २०६९ असार २१ गते महाराजस्थित शिक्षण अस्पतालमै पहिलो पटक सत्याग्रहको घोषणा गरेका थिए । उनको अनशनमा झुकेर सरकारले थुप्रै पटक सम्झौता गरे पनि धनगढीमा भने केसी बहिष्कृत भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *