सरकार-सांसद विहे र पास्नीमा मस्त, बागमती प्रदेशसभा दुई महिनादेखि अस्तव्यस्त – Nepal Press

सरकार-सांसद विहे र पास्नीमा मस्त, बागमती प्रदेशसभा दुई महिनादेखि अस्तव्यस्त

हेटौंडा । गत असोज २२ गते दुईवटा विधेयक पारित गरेर अनिश्चितकालको लागि स्थगित भएको बागमती प्रदेशसभा बैठक दुई महिना बितिसक्दा पनि बस्न सकेको छैन ।

सरकारले अनिश्चितकालको लागि स्थगित गरेको प्रदेशसभा बैठकको बर्खे अधिवेशन सकिएको निर्णय गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पत्राचार गरेपछि शर्माले असोज २३ मा नै अधिवेशनको अन्त्य गरिएको सूचना जारी गरेका थिए ।

सामान्यतया वर्षे अधिवेशन सकिएपछि बढिमा १५ दिनको सेरोफेरोमा हिउँदे अधिवेशन बोलाएर जनजीविकाको सवालमा प्रदेशसभामा छलफल चलाउने चलन छ । तर सरकार प्रदेशसभा सञ्चालनतर्फ उदासीन बन्ने गरेको छ ।

प्रदेसभाको दोश्रो कार्याकालको पछिल्लो ९ महिनामा बागमती प्रदेशसभामा दुईवटा अधिवेसन सम्पन्न भएको छ । नौ महिनाको अवधिमा प्रदेशसभाले सातवटा विधेयक पारित गरेको छ । ९ महिनाको अवधिमा भएका ५७ वटा बैठकले सातवटा विधेयकलाई पारित गरेको हो ।

प्रदेशसभाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको साविकको व्यवस्था जगाउने विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,विनियोजन विधेयक, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, स्थानीय तहको सेवा गठन तथा सञ्चालनसम्बन्धी विधेयक, निजामती सेवा विधेयक, र प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको छ ।

मन्त्री र सांसदहरु विवाह, पास्नीमा व्यस्त

आम नागरिकको समस्या बोल्ने, विकास निर्माणको विषयमा छलफल चलाउने र कानून निर्माणको आधिकारिक निकायको रुपमा रहेको प्रदेशभा बैठक २ महिनासम्म नबस्दा प्रदेशसभा सांसदहरुलाई भने चासो भएको पाइदैन ।

प्रदेशसभा सांसदहरुले बैठक बोलाउनको लागि आफ्नो दलमार्फत सरकारलाई कुनै दबाब दिएका छैनन् । नेपालको प्रमुख चाडपर्व सम्पन्न भएपछि फुर्सदिलो बनेका सांसद तथा सरकारलाई प्रदेशसभा सञ्चालन गरेर प्रदेशलाई चलायमान बनाउन हतारो नै देखिन्न ।

दोश्रो कार्यकालको ९ महिना बितिसक्दा समेत ‘मिनि सांसद’को रुपमा रहने गरेको संसदीय समितिहरुमा पदाधिकारी तोक्न नसक्नु सरकारको अर्को लाचारीपन भएको प्रमाणित नै भएको छ । सांसदलाई कामकाजी बनाएर प्रदेशलाई चलायमान बनाउनुपर्नेमा सरकार सदन सञ्चालनको विषयमा मौन बस्दा सांसदहरुलाई पनि हाइसन्चो भएको देखिएको हो ।

बागमती प्रदेशभाका मन्त्री, सांसदहरु अहिले विवाह, पास्नी लगाएतका पारिवारिक समारोहमा बढि नै व्यस्त हुने गरेको देखिन्छ । प्रदेशसभा सांसदले सभामुखमार्फत प्रदेशसभा बैठक आह्वान गर्न दबाब दिन सक्छन् तर बागमती प्रदेशसभाको हकमा त्यस्तो कार्य भएको देखिएको छैन ।

दल मिलाउने सभामुखको पहल पनि असफल

यसैबीच बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभा सञ्चालमा देखिएको जटिलता फुकाउने प्रयास गरेका छन् । प्रदेशसभा बैठक बस्न नसकेको करिब २ महिना पुग्नै लाग्दा सभामुख पाठकले गत मंसिर १७ गते बोलाएको बैठक बिना निष्कर्ष सकियो । बैठकमा सरकारप्रति एमाले निकै आक्रमक ढंगबाट प्रस्तुत भएको थियो ।

सरकारले यस अघि प्रतिपक्ष दलसँग गरेको बाचा भुलेको, सरकार एनजिओ शैलिमा चलेको बन्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आक्रोश व्यक्त गरेपछि रिसाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बैठक सकिनुअघि नै बाहिरिएका थिए ।

सदनलाई नियमित बनाएर भएका समस्यालाई सदनमार्फत समाधान गर्नुपर्ने अडानमा रहेका पाठकलाई सर्वदलीय बैठकले कुनै प्रतिफल दिन सकेन । पाठक पुनः सर्वदलीय बैठक बोलाएर सहमति गर्ने पक्षमा रहेको बताउँछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर