केदारलाई सकस- संकटका साथीलाई बोक्ने कि गठबन्धनकालाई च्याप्ने – Nepal Press
कोशी प्रदेश

केदारलाई सकस- संकटका साथीलाई बोक्ने कि गठबन्धनकालाई च्याप्ने

विराटनगर । कोशी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै हुँदा मुख्यमन्त्री केदार कार्कीलाई सकस परेको छ । आफ्नै गुट र गठबन्धनका सांसदको व्यवस्थापनमा चुनौती थपिएको उनीनिकट नेता बताउँछन् ।

अहिले १० जनाभन्दा बढी सांसद मन्त्रीकव दौडमा छन् । उनीहरूले केन्द्रीय नेता लगाएर मुख्यमन्त्रीलाई ताकेतासमेत गराइरहेका छन् । एमालेसँगको सहमतिविपरीत माओवादी र नेकपा एसलाई भित्र्याएपछि एमाले भने सरकारबाट बाहिरिसकेको छ ।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसबाट विद्रोह गरेर काँध थापेका ७ जनामध्ये शमसेर राईमात्र मन्त्री छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको निर्णयविरुद्ध उनी जान सक्ने अवस्था नरहेको बताइन्छ ।

मुख्यमन्त्रीनिकट एक नेताले भने, ‘आफ्नै समूहलाई कसरी सेटल गर्ने समस्या भइरहेको बेला । माथिबाट भनेकालाई कसरी बनाउने खै !’

कार्कीलाई साथ दिएका सांसद रामकुमार खत्रीलाई तत्काल मन्त्री बनाउन डा. शेखर कोइरालाको दबाब छ । खत्री उद्धव थापा नेतृत्वको सरकारमा पनि केही दिन मन्त्री थिए । कार्कीलाई मुख्यमन्त्री बनाउन ‘डिजाइनर’ मानिएका कांग्रेस नेता डा. सुनील शर्माले मोरङका मानबहादुर लिम्बूलाई मन्त्री बनाउन दबाब दिँदै आएका छन् । मानबहादुरका लागि मोरङ कांग्रेस सभापतिसमेत रहेका संघीय युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पनि फोन गरिरहेका छन् ।

यस्तै मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरे पनि अन्तिम समयमा केदार कार्की खेमामा पुगेका हिमाल कार्की पनि मन्त्रीको लाइनमा छन् । शेखर निकटकी इन्दिरा थापाले पनि लबिङ गरिरहेकी छन् । उनी कोइराला परिवारसँग अत्यन्त नजिक मानिन्छिन् । जीपी फाउन्डेसनमा समेत काम गरेकी उनलाई मन्त्री बनाउन कोइराला परिवारको दबाब रहेको कार्कीनिकट स्रोतले बतायो ।

लीला राई पनि आकांक्षी देखिएकी छन् । कांग्रेस संस्थापन पक्षका २१ सांसदमध्ये मन्त्रीका आकांक्षी धेरै छन् । यसअघिका प्रमुख सचेतक भूपेन्द्र राईले पनि दौडधुप बढाएका छन् ।

माओवादीबाट पनि लर्को

संविधानको धारा १६८ (५) अन्तर्गत कोशीमा माओवादीका इन्द्र आङ्वोलाई अघि सार्ने शीर्ष नेताको निर्णय केदार कार्की समूहकाले एमालेसँग समीकरण बनाएपछि कार्यान्वयन भएन । भागमा आएको मुख्यमन्त्री नपाएको भन्दै माओवादी केन्द्रले मन्त्रीमा भने धेरै हिस्सा मागिरहेको छ ।

माओवादीबाट अहिले गणेश उप्रेती मन्त्री भइसकेका छन् । उदयपुरका नारायण बुर्जा मगर पनि लाइनमा छन् । उद्धव थापा मुख्यमन्त्री बन्दै बुर्जालाई मन्त्री बनाउने बचन दिइएकोमा राजेन्द्र कार्की नियुक्ति गरेपछि उनले फेसबुकमा पार्टी छाड्नेसम्मको धम्की दिएर तीव्र असन्तुष्टि जनाएका थिए । सभामुखबाट राजीनामा गर्न लगाइएका बाबुराम गौतमले पनि आफ्नो ‘हक’ नै लाग्ने बताइरहेका छन् ।

मगर र गौतम बाहेक राजेन्द्र कार्की, गम्बु शेर्पा, महिला कोटाबाट गीता तिम्सिना दाबेदारका रूपमा देखिएका छन् । गठबन्धनको अर्को घटक नेकपा एसले थप एकजना मन्त्री मागेको छ । अहिले कमलप्रसाद जबेगु मन्त्री छन् ।

कोशीमा हिक्मत कार्कीले आफ्नो पालामा मन्त्रालयको संख्या १३ बाट घटाएर ९ बनाएका छन् । गठबन्धन दल, आफ्नै गुटमा मन्त्री बन्न तँछाडमछाडले मन्त्रालय थप्दा पनि भाग पुर्‍याउने अवस्था नभएको भन्दै कसरी सबैको चित्त बुझाउने भनी मुख्यमन्त्रीलाई चिन्ता थपिएको चर्चा बढ्न थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर