भूकम्पबाट धादिङमा २० घर भत्किए, ७५ वटा चर्किए – Nepal Press

भूकम्पबाट धादिङमा २० घर भत्किए, ७५ वटा चर्किए

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । भुइँचालोबाट ७५ घर चर्किएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।

पटक-पटक चार रेक्टरस्केलभन्दामाथिका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए ।

६ वटा घरमा भने पूर्ण क्षति पुगेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार भूकम्पका कारण ज्वालामुखी ५ का भक्कि कुमाल, रमेश कुमालको कच्ची घरको पछाडिको गारो पूरै भत्किएको छ ।

त्यसै गरी पुन्टे कुमालको घरको भित्ता चर्किएको छ भने खाना पकाउने चिम्नि बांगिएको छ । सोही ठाउँका प्रताप कुमालको ढुङ्गा माटोले बनेको कच्ची घरको चिम्नी बांगिनुको साथै भित्ता चर्किएको छ ।

ज्वालामुखी-७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनाईको चिम्नी खसेको छ । त्यस्तै ज्वालामुखी-१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किनुका साथै एउटा खसी घाइते छ ।
भूकम्पको कम्पनले ज्वालामुखी ५ बुङकोटघाट सिम्लेमा पहिरो खस्दा दुई वटा घर जोखिममा छ ।

वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पपछि लगातार जसो पराकम्प आइरहेकाले सचेत हुन आग्रह गरेका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पको केन्द्रबिन्दु खरी क्षेत्रमा भएको क्षतिको आवश्यकताअनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी अवस्था बुझ्न घटनास्थलतर्फ टोली पठाइएको बताए ।

भूकम्प गएको ठाउँ गोरखासँग सीमा जोडिएको बूढीगण्डकी नदीको तटीय क्षेत्र हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान ७:३९ मा ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर