कोशीमा राप्रपाको साथ कसलाई ? छिनोफानो गर्न पदाधिकारी बैठक जारी – Nepal Press

कोशीमा राप्रपाको साथ कसलाई ? छिनोफानो गर्न पदाधिकारी बैठक जारी

काठमाडौं । कोशी प्रदेशमा विकसित राजनीतिक परिस्थितिबारे समीक्षासहित आवश्यक निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ । पार्टी मुख्यालय धुम्वाराहीमा बसिरहेको बैठकले मुख्यमन्त्रीमा कसलाई साथ दिने/नदिनेलगायतको निर्णय गर्ने बताइएको छ ।

नयाँ सरकार गठनमा प्रदेशमा राप्रपाको भूमिका र भावी रणनीति बैठकको मुख्य एजेन्डा रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यसबाहेक मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल हुनेछ ।

कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दुईजनाले दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङ्ग परामर्शमा छन् । सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस शेखर पक्षका केदार कार्कीले पनि एमालेको समर्थनमा पार्टीका ८ सांसदसहित मुख्यमन्त्री दाबी गरेका छन् ।

राप्रपाले भने दुवैतिर हस्ताक्षर गरेको छैन । पदाधिकारी बैठकले आफ्नो अडान स्पष्ट गर्ने बताइएको छ ।

केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङदेनलाई सुम्पिएको थियो । लिङदेनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले सत्ता गठबन्धनलाई सघाउन आग्रह गरे तापनि लिङदेनले ठोस जवाफ दिएका छैनन् ।

प्रदेशसभामा राप्रपासँग ६ सीट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर