गठबन्धनको सुझावपछि संसदको चालू अधिवेशन भोलिदेखि अन्त्य गर्ने सरकारको तयारी


काठमाडौं । सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनको बैठकमा सहमति भएअनुसार नै सरकारले अधिवेशनको अन्त्य गर्ने तयारी गरेको हो ।
चालू अधिवेशनको अन्त्य गर्नेबारे गठबन्धन बैठकमा छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्ने विषयमा हामीसँग सुझाव माग्नुभएको थियो । हामीले अब चाडपर्व पनि सुरु भइसकेकाले भोलिबाट अन्त्य गर्दा हुन्छ भन्ने सुझाव दिएका छौं ।’
भोलि मन्त्रिपरिषद्को बैठक बसेर अधिवेशनको अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ ।
प्रतिनिधिसभाको बैठक भोलि २ बजे बोलाइएको छ । त्यसबारेमा प्रधानमन्त्रीले आजै सत्तारुढ दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि छलफल गरेका थिए ।