नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आजबाट नेतृत्व चयनमा प्यानल भिडन्तको तयारी – Nepal Press

नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आजबाट नेतृत्व चयनमा प्यानल भिडन्तको तयारी

विराटनगर । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदै छ । इटहरीमा हुने अधिवेशनको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उद्घाटन गर्ने छन् । अधिवेशनमा जम्मा ७ सय ३० प्रतिनिधि सहभागी हुने छन् ।

पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिए पनि सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना टर्दै गएको छ ।

सुनसरी अध्यक्षका लागि पार्टीका निलम खनाल र खेमराज पोख्रेलले आकंक्षा देखाएका छन् । दुवै जनाले एक अर्काको नेतृत्व स्वीकार नगरेपछि सुनसरीको नेतृत्व छनौट चुनावी प्रक्रियाबाट हुने देखिएको छ ।

अध्यक्षको आकांक्षी खेमराज पोख्रेल यस अघि सातौँ जिल्ला अधिवेशनमा पनि पराजित भएका थिए । उनी रेवतीरमण भण्डारीसँग पराजित भएका थिए । निलम खनाल भने अहिलेका उपाध्यक्ष हुन् ।

खेमराज पोख्रेल र निलम दुवै पार्टी अध्यक्ष निकट हुन् । अघिल्लो अधिवेशनमा पार्टी अध्यक्ष ओलीको निर्देशन विपरीत खेमराज अध्यक्षको प्रत्याशी भएपछि उनको सम्बन्ध ओलीसँग बिग्रिएको बताइन्छ ।

निर्वाचन भए ओलीको साथ वर्तमान उपाध्यक्ष खनाललाई रहने छ । यसअघि नै अध्यक्षले लाइन दिएपछि उनी अध्यक्ष बन्ने तयारीमा लागेका छन् ।

खनाललाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राई, बर्तमान अध्यक्ष रेवतीरमण भण्डारी, केन्द्रीय सदस्यहरू लक्ष्मी गौतम, जगदीश कुसियैतले साथ दिएका छन् । खेमराज पोख्रेलको पक्षमा भने भीम आचार्य उभिएका छन् ।

यस्तै उनलाई १० बुँदे समर्थितहरूले साथ रहनेछ । यसअघि खेमराजलाई केन्द्रीय सदस्य तथा मन्त्री भगवती चौधरीले साथ दिएकी थिइन् । तर यस पटक भने उनी मौन छन् ।

प्यानलमा को को ?

अध्यक्षका दुई प्रत्याशी भएपछि प्यानल नै भिडन्त हुने पक्का भएको छ । तर अहिलेसम्म दुवै पक्षबाट प्यानल भने बनिसकेको छैन । प्यानलको अन्तिम टुङ्गो नलागे पनि निलम पक्षको उपाध्यक्षमा परशुराम यादवलाई उठाउने तयारी भएको छ । उनलाई जगदीश कुसियैतले उपाध्यक्ष बनाउनु पर्ने दबाब दिँदै आएका छन् ।

मधेस पहाड मिलाउनुपर्ने भएकाले उनलाई उपाध्यक्ष बनाउनुपर्ने माग छ । तर याम सुब्बाले पनि उपाध्यक्षमा आकांक्षा देखाएका छन् । निलमको पक्षबाट सचिवमा भने राम कोइराला उम्मेदवार बनाउने तयारी छ । उनी अहिलेका उप सचिव हुन् ।

यस्तो सो समूहबाट उप सचिवमा धरानकी इन्द्रकला राईलाई उम्मेदवार बनाउने तयारी भएको छ । उप सचिवमा उपाध्यक्ष नभए याम सुब्बा उप सचिवको उम्मेदवार हुने छन् ।

खेमराज प्यानलबाट भने नन्द बस्नेत उपाध्यक्षको उम्मेदवार बन्ने छन् । यस्तै सचिवमा भने मीन सुब्बालाई उम्मेदवार बनाउने तयारी भएको छ । उप सचिवमा भने अझै नाम टुङ्गोमा पुगिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर