ओलीलाई जनार्दनको जवाफ- जनयुद्धकै कारण तपाईं हामी सार्वभौम संसदमा उभिएर बोल्न पाएका छौं (भिडिओ) – Nepal Press

ओलीलाई जनार्दनको जवाफ- जनयुद्धकै कारण तपाईं हामी सार्वभौम संसदमा उभिएर बोल्न पाएका छौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जवाफ फर्काएका छन् ।

ओलीले जनयुद्ध दिवसलाई हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै अर्को क्याबिनेटबाट बिदा फिर्ता नलिए कदम चाल्ने चेतावनी दिएपछि शर्माले जवाफ फर्काएका हुन् ।

उनले भने, ‘हामी सार्वभौम संसदमा छौं । आज यहाँ संसदलाई जसरी सार्वभौम भन्न पाएका छौं, यसलाई सार्वभौम भन्न, बनाउन सबै उत्पीडित वर्ग, जाति, लिंगका प्रतिनिधिहरु सहभागी हुन पाउन नेपालमा विगतको सामन्ती राजतन्त्रको विरुद्ध संघर्षको एउटा प्रक्रियामा त्यसलाई परास्त गरेर अघि बढ्ने र आज समानुपातिक, समावेशी संसद बनेको हो । अझै हाम्रा संस्थाहरु सुदृढ हुन बाँकी छ, संस्थागत गर्न जरुरी छ । तर, संविधानमा जे अधिकार लेखिएका छन् । ती लेखिएका अधिकारलाई सार्वभौम संसदसम्म आएर सार्वभौम बनाउने एउटा ऐतिहासिक प्रक्रियाको थालनी भएको फागुन १ गते जहाँ गरिब, उत्पीडितहरुले, महिला, दलित, आदिवासीहरुले आफ्नो आवाज बुलन्द गरेको महान दिन हो ।’

नेपालको विगतका अधुरा आन्दोलनहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संविधानसभामार्फत् नयाँ संविधान दिन एउटा संकल्प गरेको उल्लेख गर्दै उनले त्यस्तो ऐतिहासिक दिनको सम्मान गर्न सरकारले बिदा दिएकोमा धन्यवादसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर