अभियन्ता ईःलाई भेटेपछि सुनिताले भनिन्- उपमेयरको कार्यकारी भूमिका छैन, संवेदनशील भएर समन्वय गर्छु (भिडिओ) – Nepal Press

अभियन्ता ईःलाई भेटेपछि सुनिताले भनिन्- उपमेयरको कार्यकारी भूमिका छैन, संवेदनशील भएर समन्वय गर्छु (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अभियन्ता ई ले उठाएको मागप्रति संवेदनशील रहेको बताइन्  । फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि उभिएका ईःलाई भेटेर यस्तो बताएकी हुन् ।

उपप्रमुख डंगोलले करीब २० मिनेट जति उनीसँग कुराकानी गरेको थिइन् । उनले भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मानवीय संवेदनाका हिसावले पनि भेट्नुपर्छ भनेर भेट गरेको र उहाँहरुको मागबारे जानकारी लिएको बताइन् ।

‘ईः लगायत केही दिनदेखि आफ्नो माग पूरा गर्नुपर्छ भनेर आन्दोलनमा हुनुहुन्छ,’ डंगोलले भनिन्, ‘मैले उहाँहरुसँग आज भेट गरेँ । मैले उहाँहरुलाई भेट्नुको उदेश्यचाँहि मानवीय हिसावले जे भैरहेको छ, त्यो संवेदनशील छ भन्ने मनन गरेर हो ।’

उपमेयर डंगोलले जनताका कुरा तर्कसंगत छन् वा छैनन् त्यो फरक कुरा भएको भन्दै कुरा सुन्नुपर्ने बताइन्। ‘मैले उहाँहरुसँग भेट गरेँ, उहाँहरुका कुरा सुनेँ,’ डंगोलले भने, ‘म काठमाडौंँ महानगरपालिकाको उपप्रमुखको हैसियतले भन्नुपर्दा उपप्रमुखको कार्यकारी भूमिका छैन । त्यसैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने मेरो कार्यकारी जिम्मेवारी छैन । मैले गर्न सक्ने भनेको समन्वय हो । समन्वयकारी भूमिका मैले विगतदेखि नै गर्दै आएको छु र त्यसको निरन्तर प्रयास जारी नै छ ।’

काठमाडौं महानगरपालिका भित्र व्यवस्थापन गर्नुपर्ने धेरै कुराहरु भएको भन्दै डंगोलले त्यो नयाँ नेतृत्वका लागि चुनौति सँगै अवसर पनि भएको उल्लेख गरिन्।

‘हामीले सडक व्यापारीको कुरा गर्दा यो व्यवस्थापनको विषय काठमाडौं महानगरपालिकासँगको मात्रै विषय अवश्य पनि होइन,’ उनले भनिन् ‘त्यसैले केन्द्र सरकारबाट काठमाडौं महानगर केन्द्रित मात्रै नभएर एकीकृत हिसावले नीति ल्याउन जरुरी छ । देशभरीको यो मुद्धालाई उठान र सँगसँगै सम्वोधन हुने गरी नीति बनाउन जरुरी छ । काठमाडौं महानगरले एउटा नीति बनाउला, फेरि अर्को नगरले अर्को नीति बनाउला त्यस्तो अवस्थामा नीति बाझिने वित्तिकै समस्या थप जटिल बन्नसक्छ ।’

उनले दीर्घकालिन समस्या समाधानका लागि एकीकृत नीति चाहिन्छ भन्दै त्यसका लागि माननीयहरु, केन्द्र सरकारकार रहेका, प्रदेश सरकारमा रहेका सबैलाई आग्रह गर्दै त्यसका लागि समन्वय र सहकार्यका लागि आग्रह गरिन् । उनले समन्वयका लागि महानगर तयार रहेको पनि उल्लेख गरिन्।

ईः ले १६५ घण्टा भन्दा बढी समयदेखि उँभिएको भन्दै सडक, साइकल, गाडा र परम्परागत खर्पनमा बोकेर व्यापार गर्नेहरु र हुँदा खाने वर्गलाईचाँहि बैकल्पिक स्थान र समयमा सामान्य शुल्क लिएर व्यवस्थापन हुनुपर्छ भनेर माग गरेको उल्लेख गरे ।

‘त्यो हाम्रो माग पनि होइन चुनाव अघि उहाँहरुले प्रतिवद्धता गरेको कुरा सम्झाएको मात्रै हो । ‘यो विषयमा उपेयर डंगोल सम्वेदनशीले देखिनु भएको छ । यो स्वागतयोग्य कुरा हो,’ उनले भने, ‘उनले प्रतिवद्धता पनि जनाउनु भएको छ । यो विषयको समाधानका लागि उहाँले पहल लिनुहुनेछ र हिजोको बाचा आज पनि उहाँले विर्सिनु भएको छैन भन्ने लागेको छ ।’

उनले मेयर बालेन साह भने मागप्रति संवेदनशील नभएको बताए । ‘एक दिन अघि दुई जना भेट्ने भनेर सल्लाह भएको थियो । उहाँले सडक व्यवसायीसँग प्रारम्भिक कुराकानीका लागि उहाँले भेट्न खोज्नु भएको थिएन । हामीले कानुनी रुपमा पनि बुझेको व्यक्तिसहित बसेर कुराकानी गर्ने भनेका थियौँ । तर, हिजो एक्कासी दिउँसो १२ बजे रुखो शैलीमा आएर भित्र भेट्न बोलाएको कुरा गर्नुभयो,’ उनले भने, ‘हामीले ३० मिनेटको समय मागेका थियौँ । त्यसो भए मेयरले भेट्दैनन् भन्ने सन्देश दिनुुभयो । त्यसको १० मिनेट पनि वित्न नपाउँदैँ स्ट्याटस लेख्नुभयो । त्यसको प्रतिक्रिया हामीले जनाउनुपर्ने बाध्यता भयो । सडक व्यवसायी र नारायण बाग्ले पनि साक्षी हुनुहुन्छ ।’

ईः ले पहिलाको भन्दा नयाँ नेतृत्व फरक हुनलाई युवा मात्रै भएर नहुने भन्दै न्युनतम शर्त जवाफदेहिता रहेको उल्लेख गरे । ‘ नेतृत्व सहानुभूतिशील र करुणादायी पनि हुनुपर्छ । सबैको कुरा सुन्ने हुनुपर्छ,’ हिजो गरिबको चमेली बोल्दिने कोही छैन भनेर उहाँले आश्वासन दिनु भएको थियो । आज त्यसको ठिक विपरीत एक वर्षदेखि गरिबलाई निर्घात कुटपिट गर्ने नियत देखियो । त्यसले झन हामीलाई जवाफदेही बनायो । हामीले हिजोदेखि युवा नेृत्व चाहिन्छ भनेको यस्तै नेतृत्व हो त ? भन्ने नैतिक प्रश्न गर्ने दायित्व थपियो ।’

उमेयर डंगोलसँगको कुराकानीमा ईः ले भविष्यको प्रधानमन्त्री देखिरहेको छु भन्दै उनले देखाएको व्यवहारिकताको प्रशंसा गरे । डंगोलले पनि मागप्रति सकारात्मक रहेको भन्दै यस्तो समस्या सबैतिर भएकाले यसकोे हलका लागि संघीय सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिए । ‘त्यसका लागि एकीकृत नीति चाहिन्छ । त्यो भयो भने मात्रै ठिक हुन्छ । तपाईँको पनि स्वाथ्यको ख्याल गर्नुहोला,’ डंगोलले भनिन् । ईःले पनि ज्यान जोखिममा राखेर बसेको छु भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर