नेपाली उत्पादनको प्रवर्द्धनमा करोडौं लगानी गरेका प्रकाश – Nepal Press

नेपाली उत्पादनको प्रवर्द्धनमा करोडौं लगानी गरेका प्रकाश

‘स्वदेशमै केही गर्न सकिन्छ, अनावश्यक निराशा नबाढौं’

रुपन्देही । बुटवलका युवा उद्यमी प्रकाश भुसालले स्वदेशी उत्पादन बेच्ने अभियान थालेको दुई वर्षमै अब यसको उत्पादनमा लाग्ने भएका छन् । करिब ३ करोड रकम लगानी गरेर सुरु गरेको नमुना व्यवसायबाट उनले आर्थिक रुपमा मनग्यै कमाएका त छैनन् तर धेरै युवा पिँढीले यहाँ भविश्य छैन भनेर विदेश दौडिरहेको बेला उनले स्वदेशमै बसेर केही नयाँ काम गर्नसके आफूसँगै धेरैलाई रोजगार दिन सकिने उदाहरण पेश गरेका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ अर्घातोषमा जन्मिएका प्रकाशले निमाविसम्मको पढाइ गाउँमै पूरा गरे पनि कक्षा ८ मा बुटवलको अक्सफोर्ड माविबाट प्रथम श्रेणीमा एसएलसी र तिलोत्तमा क्याम्पसमा आईएसी र बुटवल बहुमुखी क्याम्पसमा बीएस्सी अध्ययन गरेका हुन् ।

विश्वबजारमा समेत नाम कमाएका केही नेपाली ब्राण्ड यहाँका उपभोक्ताबीच परिचित नहुँदा समस्या परिरहेको भन्दै झन्डै एक दर्जन यस्ता ब्राण्डका स्वदेशी उत्पादनलाई राखेर उनले नेपाली लुगा घर संचालन गरेका हुन् ।

लामो समय शिक्षण क्षेत्रमा अनुभव संगालेका उनी नेपाली उत्पादनलाई व्यवसायिक रुपमा अघि बढाउन र नयाँ पुस्ताबीच सामीप्यता बढाउन आफूले यस्तो अभियान चलाएको बताउँछन् भुसाल । नेपाली बजारमा स्वदेशी उत्पादन लामो समयदेखि बिक्री वितरण हुँदै आए पनि ब्रान्डिङको अभावले ती उत्पादनले राम्रो चिनारी पाउन नसकेका उनको ठम्याई छ । तिनै नेपाली कपडाका ब्रान्डलाई उपभोक्तासम्म पु¥याउन उनले यति धेरै मेहनत गरेका हुन् ।

बुटवलमा डेल्टा सुपर मार्केट स्थापना गरेका प्रकाशले सबै प्रकारका नेपाली उत्पादनहरु राखेर ‘स्पेसिफाइभ नेपाली लुगा घर’ सञ्चालनमा ल्याएका भुसालले यहाँ नेपाली उद्योगबाट उत्पादित लुगासहित अन्य सामग्रीहरु राखेका छन् । अहिले यो ग्राहकको रोजाईमा पर्दै गएको र धेरै ग्राहकहरु दोहोरिएर आउन थालेकाले लगानी थप बढाउने पक्षमा रहेको बताउँछन् ।

‘अहिलेसम्म नेपाली उत्पादनको प्रवद्र्धनमा लगानी गरेँ, अब आफूले पनि निश्चित ब्राण्ड उत्पादन गरेर जाने योजनामा लागेको छु, अब छिट्टै त्यो अभियानले सार्थकता पाउँछ, स्वदेशमै केही गर्न सकिन्छ, यहीँको समाजलाई नेपालीपनमा रमाउने वातावरण बनाउन सकिन्छ भन्ने लक्ष्य हो’ भुसालले भने ।

स्वदेशमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा ग्राहकसम्म पुर्‍याउने उद्देश्यले चलाएको नेपाली लुगा घरमा अहिले नेपालीसहित विदेशी ग्राहक पनि आउन थालेको र बिस्तारै यसको सचेतना बढेको उनको भनाइ छ । ‘नेपालमा बस्दै आएका विदेशीले पनि नेपाली ब्रान्डलाई रूचाइरहेको अवस्था छ, अब हरेक सरकारी निकायमा यसको योजना बनाएर जानुपर्छ’ भुसालले भने ।

पछिल्लो समयमा खुलेर लगानी गरिरहेका प्रकाश आर्थिक मन्दी असफलता प्राप्त गरिरहेकाहरूलाई केबल बहाना मात्र बनेको बताउँछन् । नयाँ र फरक काम गर्न चाहने प्रकाश जे सोच्छन्, त्यो पूरा गरेरै छाड्छन् ।

‘स्वदेशी पहिरनले देशप्रेमको भावना बढ्ने भएर नै होला स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ,’ उनी भन्छन् । यहाँसम्म आउन प्रकाशले धेरै संघर्ष गरेका छन् ।

‘धेरैलाई आश्चर्य लाग्न सक्छ, याक एन्ड न्याक, भर्जिन्स, फ्रीडम, गोफी, के–के, ट्याग, फलानो लुगालगायत ब्रान्डको विदेशमा पनि धेरै माग छ । यस्ता कपडा नेपाली ग्राहकलाई सहज आपूर्ति गर्न नेपाली लुगा घर सञ्चालनमा ल्याएको हुँ । स्वदेशी उद्योग र उत्पादनलाई माया गर्नुपर्छ ।’ प्रकाश भन्छन्, ‘नेपाली ब्रान्ड विश्वबजारमा पुगेका मात्र छैनन्, धेरैको रोजाइमा पनि छन् ।’ उनको कामप्रति उत्पादक र उपभोक्ता दुवै खुशी छन् ।

डेल्टासँगै उनले बुटवलमै नेपाली जुत्ता घर सञ्चालनमा ल्याएका छन् । अहिले उनको ध्यान नेपाली कपडाका ब्रान्ड प्रबद्र्धनतर्फ केन्द्रित भएको छ । ‘डेल्टा र जुत्ता टीममा मिलेर गरेको हो, लुगा घरमा भने मेरो एकल लगानी छ,’ प्रकाशले भने ।

अहिले १५० जनालाई रोजगारी दिएका भुसाल आफ्नो उत्पादन गरेपछि त्यो संख्या धेरै हुने बताउँछन् । ‘ बजारमा वास्तविक ब्रान्डको भन्दा डुब्लिकेटको बोलवाला छ । नेपाली बजारमा देखिने अधिकांश ठूला ब्रान्डका कपडा डुब्लिकेट भएर आएका छन् । त्यो चिर्नका लागि पनि उत्पादनमा लाग्नुपर्ने अवस्था आएको हो ’ उनले भने ।

प्रकाशले सोचेअनुसार अझै धेरै नेपालीले यसको महत्व त बुझेका छैनन् तर अहिले एकपटक आएका ग्राहक दोहोरिएर आउन थालेपछि ऊर्जा थपिएको छ । ‘सोच अनुसार अझै यो व्यापारले पिकअप लिएको त छैन, तर म पूर्ण सन्तुष्ट छु, नेपालमा केही गर्न चाहने युवाका लागि धेरै अवसर छन् । यहाँ अवसर भएन भन्नेहरूले मेहनत नै गरेका छैनन् । त्यसका लागि पनि मेलै थप लगानी बढाउन खोजेको हुँ’ भुसालले भने ।

अहिले राष्ट्रियताप्रति केही भावनात्मक सम्मान गर्नेहरुको संख्या बढेको उनको भनाइ छ । ‘हरेक स्थानमा यसको विषयले प्रवेश पाएको छ । उत्पादनमा मात्र होइन नेपाली स्वाद चखाउन नेपालीले चासो दिन थालेका छन् । नेपाली ब्रान्डको इज्जत राखे आफ्नो इज्जत पनि बढ्छ ।

आफ्नो मुलुकमा उत्पादित सामग्री उपभोग र बजार विस्तार हुनु गौरव मात्र होइन, उनले भने ‘मुलुक समृद्धिको दिशातर्फ जाँदैछ भन्ने संकेत पनि हो । यस्ता उत्पादनले मुलुकको परिचय दिनुका साथै आयात प्रतिस्थापनमा ठूलो सहयोग गर्नसक्छ र अहिले हाम्रो उमेर समूहले यसलाई चिर्न जरुरी छ ।’

निर्यातको तुलनामा हरेक वर्ष नेपालमा आयात बढ्दो भएकाले यहीँका उत्पादनले चल्न सक्ने अवस्थामा पनि ध्यान नदिइएको उनले सुनाए ।

यसरी सुरु भयो भुसालको व्यसायिक यात्रा

उनको व्यवसायिक यात्रा भने बुटवल बहुमुखी क्याम्पसमा बीएस्सी पढ्दादेखि शुरू भएको हो । सुरूमा उनले बुटवलमा ‘ह्वाइट हाउस युनिफर्म’ सञ्चालनमा ल्याएका थिए, जहाँ ‘प्लस टु’ लेभलका विद्यार्थीका लागि शर्ट, पाइन्ट र कोटलगायत कपडा उपलब्ध हुन्थे । बुटवलमा ‘इन्ट्रान्स प्रिप्रेसन क्लास’ शुरू गर्ने श्रेय पनि उनैलाई जान्छ ।

बुटवलमा उनले ‘ब्रिज कोर्स’ शुरू गर्दा अरू कसैले पनि शुरू गरेका थिएनन् । त्यो बेलासम्म बुटवलमा प्लस टु पढ्ने विद्यार्थीहरूले कोटपाइन्ट लगाउने चलन शुरू भएकै थिएन ।

 ‘मैले कोटसहितको ड्रेस आवश्यक छ भनेर शुरू गर्दा कसैले विश्वास गरेका थिएनन्, अहिले हेर्नुस् त, बुटवलका सबैजसो प्लस टु स्कूलमा कोट अनिवार्य भएको छ,’ प्रकाशले भने । अहिले बुटवलमा युनिफर्म हाउसको संख्या ५० भन्दा माथि पुगेको छ ।

युनिफर्म हाउसपछि उनी उद्योगतर्फ मोडिए । पीएनके इन्डस्ट्रिज स्थापना गरी होटलका लागि आवश्यक प्याकिङ गर्ने आल्मुनियम कन्टेनरदेखि न्याप्किन पेपरसम्म बनाउने उद्योग खोल्ने योजनासहित उनले मशिन किन्न २५ लाख भारू भारत पठाए तर, न मशिन अयो न पैसा नै फिर्ता भयो । उनले मुद्दा लडे ।

जिते पनि । पैसा फिर्ता आउँदासम्म उक्त उद्योग सञ्चालन गर्ने कुरा असान्दर्भिक र चुनौतीपूर्ण बनिसकेको थियो । त्यसपछि उनले बुटवलकै भिजन लुम्बिनीमा ‘बोर्ड अफ डाइरेक्टर’ भएर ५ वर्ष काम गरे । उक्त जिम्मेवारीबाट बिदा भएपछि स्कूल लेभलका सबै सामग्री उपलब्ध हुने गरी डेल्टा एजुकेसन मार्ट स्थापना गरे ।

डेल्टामा उनी टीमसहित जोडिएका हुन् । नेपाली लुगा घरमा अहिलेसम्म यहाँका उत्पादन बिक्री गरेका भुसाल अब आफ्नै उत्पादन तयार बनाएर अन्तर्राष्ट्रिय बजारमा पठाउनेगरी योजना बनाएका छन् ।

व्यवसायसँगै सामाजिक सचेतना अभियान
भुसालले यो व्यवसायसँगै ल्याएको सचेतना अभियान अहिले चर्चामा छ । आफ्ना ग्राहकलाई मदिराको लत हटाउन उनले जीवन परिवर्तनको नया योजना ल्याएका हुन् ।

३८ वर्षीय भुसालले समाजमा मादक पदार्थकै कारण भएका पारिवारिक कलह, आर्थिक अवस्था कमजोर, जनस्वास्थ्यमा पारेको असर र मदिरा सेवनपछि भएका भयाभव दुर्घटनाका कारण हुने मानवीय र भौतिक क्षतिलाई रोक्ने अभियान चलाउन आफ्ना ग्राहकलाई विशेष छुटको ब्यवस्था गरेका हुन् ।

‘मैले थालेको यो अभियानले सबै निरुत्साहित हुन्छ भन्ने त छैन तर कम्तीमा मैलेजस्तै अन्य व्यवसायीले पनि यसलाई अगाडि बढाए यो गलत संस्कार र प्रवृति कम गर्न सकिन्छ भन्ने सन्देश दिन थालिएको हो’ उनले भने ।

उनले अगाडि सारेको नाराले नै धेरैलाई आश्चर्यमा पारेको छ । ‘साँझ टन्न खर्च, दिनभरी ह्याङ हैन, अब नेपाली लुगाघरले दिनभरी बनाउँछ स्मार्ट र योङ’ उनले आफ्नो पसलमा राखेको सूचनामा उल्लेख छ ।

उनको पसलमा आउने ग्राहकले मादक पदार्थ सेवन नगर्ने प्रतिवद्धता गरे त्यहाँ रहेका हरेक सामग्री खरिदमा २० प्रतिशत छुट दिने उनले बताए । ‘एकातर्फ स्वदेशी उत्पादनलाई प्रवद्र्धन र अर्कोतर्फ मापसेबाट हुने दुर्घटनाको क्षति रोक्ने गरि सचेतना दिने यो अभियान थालेको छु, चौतर्फी मन्दीको प्रभावका बेला नागरिकलाई स्वदेशी उत्पादन खपत गर्ने र विदेशबाट आयात रोक्न मद्दत मिल्ने अपेक्षा छ’ भुसालले थपे ।

भुसालले मापसेबाट हुने सबै क्षति कम गर्न सामाजिक सन्जालमा सचेतना अभियान चलाएका छन् । सुन्दा अचम्म लागेपनि यो जीवन परिवर्तन योजनाको सम्बन्ध देशको आर्थिक र स्वदेशी उत्पादनको प्रर्वद्धनसंग जोडिएको र यसले अरुर्लाइ पनि सिकाई हुनसक्ने उनको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *