एमाले कर्णाली अधिवेशन : दाबेदारहरू प्यानल बनाउने तयारीमा, अध्यक्षमा ५ जना मुख्य प्रतिस्पर्धी – Nepal Press

एमाले कर्णाली अधिवेशन : दाबेदारहरू प्यानल बनाउने तयारीमा, अध्यक्षमा ५ जना मुख्य प्रतिस्पर्धी

यामलाल र मीनबहादुरनिकटका नेता लबिङ बढाउँदै

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तीब्र तयारीसँगै भावी नेतृत्वको रस्साकस्की चलिरहेको छ । असोज १०-११ मा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि ६ सय प्रतिनिधि छनोट भएका छन् ।

अध्यक्षका लागि पाँचजनाको नाम चर्चामा छ । जसमा कालिकोटका मीनबहादुर शाही, प्रदेशका पूर्वसभामुख दैलेख ठाँटीकाँधका राजबहादुर शाही, कालिकोटकै प्रेमबहादुर सिंह, पोलिटब्युरो सदस्य गुलावजंग शाह र सुर्खेतका पूर्वसांसद सदस्य ध्रुवकुमार शाही छन् ।

गुलाबजंग र ध्रुवकुमार शाही दैलेख इन्चार्ज रहेका पार्टी स्थायी कमिटी सदस्य यामलाल कंडेलनिकटका हुन् भने मीनबहादुर शाही अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीनिकट हुन् । कर्णालीमा कँडेल र बोगटीको आ-आफ्नै समूह छ । उनीहरूले यतिबेला आफ्नो समूहबाट क-कसलाई उम्मेदवार बनाउने भन्नेमा गृहकार्यमा जुटेका छन् । कँडेलको समूहमा गुलावजंग शाह, लक्ष्मी पोखरेल, मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, टेकराज पछाइलगायतका नेताहरू छन् भने बोगटीको समूहमा विनोदकुमार शाह, विष्णु रिजाल, नगेन्द्र शाही नेशनल, नवराज रावत लगायतका नेताहरु छन् । दुवैतर्फ खासगरी पदाधिकारी तहमा प्यानल नै बनाउनेहरू टीम व्यवस्थापनमा जुटिरहेका छन् ।

अधिवेशनको मिति नजिकिँदै गर्दा सर्वसम्मत नेतृत्व चयन गर्ने बताएपनि कर्णालीमा भने मतदान हुने निश्चित देखिन्छ । नेतापिच्छे गुट उपगुट बनिरहेका छन् । पाँचजनामध्येमा मीनबहादुर शाही, गुलाबजङ्ग शाह र राजबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । सर्वसम्मत हुन नसकेमा यी तीनजनाको प्रतिस्पर्धा हुने निश्चित छ ।

कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार ८३७ जना छन् । अधिवेशनका लागि कर्णालीका १० वटा जिल्लाबाट पाँच सय ५० र जनवर्गीय संगठनबाट ५० जना गरि जम्मा ६०० जना प्रतिनिधि छनौट भएर आउने बताइएको छ ।

पार्टीका २२ वटा जनवर्गीय संगठनहरु मध्ये २१ वटा संगठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशन समेत दिइसकेको छ । आठवटा जनवर्गीय संगठनलाई तीन/तीन जना र १३ वटा संगठनले दुई/दुई जना प्रतिनिधि चयन गर्ने पाउने छन् ।

जसमा अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातीय मु्क्ति समाज, राष्ट्रिय युवा संघ नेपाल, प्रेस चौतारी नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यवासायी महासंघलाई एक महिला अनिवार्य सहित तीनजना प्रतिनिधि तोकिएको छ ।

यस्तै, दुईजना प्रतिनिधि पाउने संगठनमा नेपाल वुद्धिजिवी परिषद्, नेपाल भूमिहीन सुकुम्वासी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल खेलकुद महासंघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, अनेरास्ववियु, रिटर्नी फेडरेशन नेपाल र राष्ट्रिय सांस्कृतिक महासंघ रहेका छन्। उनीहरुले एक महिलासहित २ जना प्रतिनिधि हुन पाउने छन् ।

जसमा अधिवेशनमा पाँच सय ५० जना प्रतिनिधि सहभागि हुँनेमा सबै भन्दा बढी प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन् । १० हजार ५५५ जना पार्टी सदस्य रहेका सुर्खेतबाट एक सय १२ जना प्रतिनिधि छनौट हुनेछन् । जसमा खुल्लातर्फ ३० महिला, ५६ पुरुष र दलिततर्फ नौ महिला र १८ पुरुष छनौट हुने छन् ।

यस्तै, सल्यानबाट तीन हजार ५८८ पार्टी सदस्य रहेकामो ३८ जना प्रतिनिधि सहभागि हुनेछन् । जसमा महिलातर्फ आठ, पुरुषतर्फ २२ र दलिततर्फ महिला दुई र पुरुष ६ जना छन् । दुई हजार १७० संगठित सदस्य रहेको रुकुमपश्चिमा २३ जना प्रतिनिधि चयन हुनेछन् । जसमा खुलतर्फ महिला ६, पुरुष १२ र दलिततर्फ महिला २ र पुरुष ३ चयन हुने छन् ।

साथै, जाजरकोटमा ६ हजार ८०० पार्टी सदस्य रहेकोमा ७५ जना प्रतिनिधि चयन हुनेछन् । जसमा खुल्लाबाट महिला १८, पुरुष ३८, दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि सहभागी हुने छन् ।

यस्तै, डोल्पाबाट तीन हजार आठ सय ३६ जना संगठित सदस्य रहेकोमा ३९ जना प्रतिनिधि चयन लागेका छन् । जसमा ११ महिला, २३ पुरुष खुल्लाबाट र तीन पुरुष, दुई महिला दलिततर्फ छन् । मुगुमा एमालेका तीन हजार ३१ जना संगठित सदस्यमा ३२ जना प्रतिनिधि चयन हुने छन् । जसमा खुल्ला महिलातर्फ आठ, पुरुषतर्फ १७ जना र दलिततर्फ दुई महिला र ६ पुरुष छन् ।

हुम्लाबाट चार हजार ६६५ जना संगठित सदस्य रहेकोमा ४८ जना प्रतिनिधि छनौट हुने भएका छन् । जसमा १३ महिला २९ पुरुष खुल्लातर्फ र दलिततर्फबाट दुई महिला र चार पुरुष छन् । ६ हजार ६५३ संगठित सदस्य रहेको दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष प्रतिनिधि चयन हुनेछन् भने दलिततर्फ पाँच महिला र आठ पुरुष गरी ७२ जना छन् ।

यस्तै, चार हजार ४४३ जना संगठित सदस्य संख्या रहेको जुम्ला जिल्लाबाट ४६ जना प्रतिनिधि चयन हुनेछन् । जसमा १३ महिला, २५ पुरुष खुल्लाबाट र दलिततर्फबाट दुई महिला र ६ पुरुष छन् । कालिकोटमा ६ हजार १०३ पार्टी सदस्य रहेकोमा ६५ जना प्रतिनिधि छानिनेछन् । जसमा १६ महिला, ३३ पुरुष खुल्लाबाट र दलिततर्फबाट पाँच महिला र १० पुरुष रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर