‘एक भागवत र एक गीता’ को व्यापारले पिकअप लिएको हो ? यसो भन्छन् वितरक शाही – Nepal Press

‘एक भागवत र एक गीता’ को व्यापारले पिकअप लिएको हो ? यसो भन्छन् वितरक शाही

काठ्माडौं । भदौ २९ गतेबाट देशव्यापी लागेको चलचित्र ‘एक भागवत र एक गीता’ ले निराशाजनक ओपनिङ गर्यो । शुक्रबार र शनिबार चलचित्रले हलहरुमा दर्शक तान्न सकेन ।

निर्माणअघि नै नामका कारण तीव्र विवादित बनेको चलचित्र जसोतसो रिलिज भएको थियो । तर, चलचित्रले गतिलो व्यापार गर्न नसक्दा निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापा तनावमा परेका छन् । निर्माण पक्षले अहिलेसम्म चलचित्रको कलेक्सन सार्वजनिक गरेको छैन ।

यसैबीच हिजो चलचित्रका वितरक गोविन्द शाहीले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ‘भगवत गीता’ को व्यापारमा अचानक उछाल आएको दावी गरे । उनले केही स्क्रिनसट समेत राखेर छैटौं दिनमा भगवत गीता हाउसफुल भइरहेको बताएका छन् ।

चलचित्र हलबाट उत्रिन लागेको हल्लाबीच एक्कासी ‘हाउसफुल’ हुन थालेको दावी गरेका शाहीलाई हामीले प्रश्न गर्यौं– साँच्चै हाउसफुल भएको हो कि फन्डा मात्र हो ?

उनले गम्भीर हुँदै उत्तर दिए, ‘फन्डा होइन, हाउसफुल नै छ । हिजोको शो त अल नेपाल हाउसफुल थियो । शुक्रबार र शनिवार सोचेजस्तो व्यापार भएन । दर्शक सोचेजस्तो आउनुभएन। तर हिजोदेखि राम्रै पिकअप लिएको छ । शोहरु थपिएका छन् । बिग मुभिजमा शो ३ वटाबाट थपिएर ४ वटा पुगेको छ । आइप्लेक्समा ४ वटा छ ।’

‘एक भागवत एक गीता’ सँगै दयाहाङ राई स्टारर चलचित्र ‘नाङ्गो गाउँ पनि भाद्र २९ बाटै रिलिज भएको थियो । एकातर्फ दुई नेपाली चलचित्र जुध्नु र अर्कोतफ बलिउड चलचित्र ‘जवान’ को दबदबाले व्यापारमा असर परेको हुनसक्ने शाहीको अनुमान छ ।

‘सकेसम्म चलचित्र नजुधेको राम्रो । एक–अर्कासँग कुरा गरेर आपसी समझदारीमा अगाडि बढेको भए राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘बाहिर हेर्नुस न, चलचित्र जुध्ने भयो भने कुरा गरेर कसरी मिलाउने भनेर अगाडि बढ्छन् । उस्तै परे अर्काको चलचित्रको प्रोमोसनसमेत गरिरहेका हुन्छन् । हाम्रोमा त्यस्तो छैन । पालैपालो एउटा–एउटा गर्दै चलचित्र लागेको भए दुइटैलाई राम्रो हुन्थ्यो ।’

उनले थपे, ‘जवानको त के कुरा गर्नु र ? उहाँहरुको ठूलो मार्केट छ । पब्लिसिटीदेखि लिएर प्रोमोसन नै उहाँहरुको बेग्लै ढंगको हुन्छ । त्यहीमाथि विश्वव्यापी रुपमा लाग्ने चलचित्र । हाम्रो सानो मार्केट छ । त्यही पनि दर्शकको माया पाइरहेका छौ, हाम्रो लागी त्यही ठूलो कुरा हो ।’

शाहीले भगवत गीताको ओपनिङ राम्रो नभएको स्वीकार गरे । चलचित्र राम्रो हुँदाहुँदै पनि सोचेजस्तो नचलेपछि निर्माण पक्ष दुखी हुनु स्वभाविक भएको उनको भनाइ छ ।

शाही भन्छन्, ‘उहाँहरु अलि निराश नै हुनुहुन्छ जस्तो लाग्छ मलाई । पहिलाका चलचित्रहरुले राम्रो गरेका थिए । यो चलचित्रले पनि राम्रै बजार लिनुपर्ने हो । तर सबैथोक राम्रो हुँदाहुँदै पनि खै किन हो सोचेजस्तो भईरहेको छैन । लगातार हिट चलचित्र दिइरहेको बेलामा सोच्दै नसोचेको परिणाम आएपछि अलिकति निराश त हुने नै भइयो । हामीले यस्तो स्लो जान्छ होला भन्ने कल्पना पनि गरेका थिएनौं ।’

चलचित्रको कलेक्सनबारे उनले बताएनन् ।

‘अब हेरौँ चलचित्रले यो हप्ता कस्तो गर्छ । दर्शक कत्तिको आउनुहुन्छ । अझै पनि ‘एक भागवत एक गीता’ सँगसँगै दुई–तीनवटा चलचित्र अरु पनि लागिरहेका छन् । ठूलो लगानीको चलचित्र हो । लगानी उठाउन सहज पनि छैन । तर सम्भावना छ । जे होस्, चलचित्र यो हप्ता र अर्को हप्ता चल्नुपर्छ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर