सुदूरपश्चिमका १३ सयभन्दा बढी सामुदायिक वनमा आगलागी – Nepal Press

सुदूरपश्चिमका १३ सयभन्दा बढी सामुदायिक वनमा आगलागी

डोटी । सुदूरपश्चिम प्रदेशका झण्डै एक हजार ३४० सामुदायिक वनहरुमा आगलागी भएको छ । प्रदेश वन निर्देशनालयले दिएको जानकारीअनुसार सामुदायिक वनहरुमा प्रत्येक दिन आगलागी भइरहेको छ ।

‘जिल्लाहरुबाट आएको सूचनाअनुसार हालसम्म ४० प्रतिशत सामुदायिक वनहरुमा आगलागी भएको छ’, प्रदेश बन निर्देशक हेमराज बिष्टले भने, ‘अझै आगलागी भएका सूचनाहरु आईरहेका छन् ।’

बिष्टका अनुसार सुदूरपश्चिम प्रदेशमा तीन हजार ३५० सामुदायिक वन रहेका छन् । उनका अनुसार करिब एक हजार ३४० सामुदायिक वनमा डढेलो लागेको छ । उनले आगलागी भएका सबै वनहरु पूर्ण रुपमा क्षति नभएको तर केही वनहरुमा धेरै क्षति भएको बताए ।

‘आगलागी प्रत्येक वर्ष भइरहेको छ, प्रत्येक वर्ष आगोले ठूलो धनजनको क्षति भइरहेको छ’, बिष्ट भन्छन्, ‘पहाडमा सल्लाका पातहरु हुन्छन् छिट्टै आगो टिपिहाल्छ, तराईमा पनि गर्मीयाममा सुकेका पातहरु भएका कारण आगो छिट्टै फैलिन्छ ।’

उनी जानकारी नभएका कारण जंगलमा आगो लगाउने नभइ केही व्यक्तिको लापरवाहीका कारण आगो लाग्ने गरेको बताए । उनी थप्छन्, ‘केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि वन जंगलमा आगो लगाउने गरेको छन् ।’

आगो निभाउने क्रममा पनि उपभोक्ताहरुले लापरवाही गर्ने गरेको बिष्टको भनाइ छ । ‘आगो लागेको ठाउँमा जान्छन्, निभाएजस्तो मात्रै गर्छन्’, निर्देशक बिष्ट भन्छन्, ‘आफ्नो वन हो सोचेर जिम्मेवार हुँदैनन् ।’ आगो निभाउनका लागि व्याक पम्प लगायत सहयोगी सामग्रीहरुको अभाव रहेको समेत बिष्टले बताए ।

डोटीमा ५० सामुदायिक वनमा आगलागी

डोटी जिल्लामा पनि दिनहुँ जंगलमा आगलागी भइरहेको डिभिजन वन कार्यालय, डोटीका डिभिजन अधिकृत गोकुल रिजाल बताउँछन् ।

‘हालसम्म ५० वटा सामुदायिक वनमा आगलागी भइसकेको छ’, रिजालले भने, ‘करिब २५ हेक्टर वन जंगल डढेलोको जोखिममा रहेको छ ।’ फागुन १५ देखि जेठ १५ सम्मको आगलागीको उच्च जोखिमको समय भएका कारण सबैले सतर्कता अपनाउनु पर्ने रिजाल बताउँछन् ।

‘जंगलमा कसले आगो लगायो भन्ने पत्तै हुँदैन’, रिजाल भन्छन्, ‘आगो लगाउने व्यक्तिलाई कारबाही गर्न सक्यो भने आगलागीका घटनाहरु कम हुने थिए ।’ स्थानीय तहका जनप्रतिनिधिहरु र स्थानीयबासीले पनि आगो लगाउने व्यक्तिको विषयमा सूचना दिनु पर्ने रिजालको भनाइ छ ।

आगलाढीबाट वर्षेनी वन्यजन्तु, वनस्पति, चराचुरुङ्गीहरुको क्षति भइरहेको रिजालले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर