महिलाहरुले सार्वजनिक यातायातमा खेप्नुपर्छ यौन दुर्व्यवहार – Nepal Press

महिलाहरुले सार्वजनिक यातायातमा खेप्नुपर्छ यौन दुर्व्यवहार

डोटी ‘हामी बुढी मान्छेहरुलाई सार्वजनिक यातायातका साधनहरुमा सिट दिन्नन् तर युवतीलाई कोचाकोच गरेर पनि आफुसँगैको सिटमा बसाउँछन् ।’

बझाङ जिल्लाको केदारस्यूँ गाउँ कार्यपालिकाकी सदस्य रम्भु बोहराको भनाई हो यो । सार्वजनिक यातायातमा महिलामाथी धेरै पटक यौनजन्य हिंसा भएको उनले महसुस गरेकी छन् ।

‘एक पटक हामी धनगढी जानु पर्ने थियो, मसंग एउटा युवती पनि थिइन्’ दुई वर्ष पहिलेको एउटा घटना सम्झिदै रम्भु भन्छिन् ‘हामी दुवै गएर ढोकानिरको सिटमा बस्यौं, गाडी स्टाफ आएर मलाई यो स्टाफको सिट हो भन्दै पछाडि जान भन्यो ।’ स्टाफको कुरा मान्दै आफूहरु पछाडि जान खोज्दा ति स्टाफले युवतीको हात तानेर स्टाफकै सीटमा बस्न आग्रह गरेको उनी बताउँछिन् ।

सो बिषयलाई लिएर आफ्नो गाडीवालासँग भनाभन् समेत भएको उनले बताइन् । ‘यस्तो मैले धेरै पटक देखेको छु, वृद्ध–वृद्धाहरुलाई रोक्दैनन् गाडीवालाहरु, तर युवती भएपछि आफ्नै छेउमा राखेर लैजान्छन्’ रम्भु भन्छिन् ‘त्यसपछि ति युवतीमाथी पटक पटक यौनजन्य दुर्व्यवहार हुने गर्छ ।’

रम्भुको भनाईमा सहमति जनाउँछिन् ‘केदारस्यूँ गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी । उनी भन्छिन् ‘बेला बेलामा चालकले अभद्र व्यवहार गरेका खवरहरु सुनिन्छन् तर समाजमा आफ्नै लाज हुने डरले महिलाहरुले आवाज उठाउँदैनन् ।’ यौनजन्य दुर्व्यवहारमा परेका महिलाहरुले कानुनी उपचारका लागि हिम्मत गर्नु पर्ने उपाध्यक्ष धामीको भनाई छ ।

आफूमाथि पनि सार्वजनिक यातायातमा यौनजन्य दुव्र्यवहार भएको सुर्मा गाउँपालिकाकी एक महिला बताउँछिन् । ‘स्थानीयस्तरमा चल्ने बोलेरो जीपमा अगाडिको सिटमा तीन जना राख्यो’ उनी भन्छिन् ‘त्यसपछि गाडी मोड्ने वहानामा, गियर बदल्ने बहानामा अनेक हर्कत गर्न थाल्यो ।’ लगातार यस्तो गर्न थालेपछि आफुले प्रतिवाद गरेको उनी बताउँछिन् ।

जनप्रतिनिधि महिलाहरु पनि यौनजन्य दुर्व्यवहारको शिकार हुन्छन् । यौनजन्य दुर्व्यवहारबाट जनप्रतिनिधि महिलाहरु समेत पिडित भएको महिलाहरु बताउँछिन् ।

‘हामीलाई बाटोमा हिँड्दा, गाडीमा हिड्दा, फोनमा, कार्यक्रममा पनि कुनै न कुनै प्रकारले यौन हिंसा हुने गरेको छ’ एक जनप्रतिनिधि महिलाले भनिन् ‘कतिपय जनप्रतिनिधि महिलाहरुले नै प्रतिवाद गर्न सकिरहेका छैनन् ।’ जनप्रतिनिधि पुरुषहरुले पनि बेला न कुबेला फोन गरेर श्रीमान् कहाँ हुनुहुन्छ, घरमा को को हुनुहुन्छ भनेर अनावश्यक कुराहरु सोध्ने गरेको उनको भनाई छ ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको बिषयमा स्थानीय तहका सवै जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी दिनुपर्ने बताउँछिन् जयपृथ्वी नगर कार्यपालिकाका सदस्य सरस्वती जोशी । ‘कतिपयले जानीजानी पनि यौनजन्य दुर्व्यवहार गरिरहेका हुन्छन्, कतिलाई थाह हुँदैन’ जोशीले भनिन् ‘तर पनि महिलाहरुलाई उनको व्यवहारबाट अप्ठेरो महसुस भइरहेको हुन्छ ।’

कार्यस्थलमा महिलाहरुमाथी यौनजन्य दुर्व्यवहार हुने गरेको बताउँछन् । दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्याल । उनले भने ‘हामी जनप्रतिनिधिहरुलाई समय कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको बारेमा जानकारी छैन भने अरुको त झन के अवस्था होला?’

हरेक महिला जीवनको कुनै न कुनै अवस्थामा यौनजन्य दुर्व्यवहारमा पर्ने गरेको वताउँछिन् बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्या कुमारी जोशी ।

उनले भनिन् ‘यौनजन्य हिंसा होस् कि यौनजन्य हिंसा होस्, सवै महिलाहरुले कुनै न कुनै ठाउँमा भोगेकै हुन्छ ।’ महिलामाथि हुने सवै प्रकारका हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रम आवश्यक भएको उनी बताउँछिन् ।

महिलाहरुले आफूमाथि हुने हिंसा सहेर बसेका कारण पनि थप हिंसा सहनु परेको जोशीको भनाई छ । उनी भन्छिन्, ‘महिलाहरुले प्रतिवाद गर्न सक्नु पर्छ र पुरुषहरुले उनीहरुलाई साथ दिनु पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर