विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी : कांग्रेसले अवराेध गर्ने, एमालेले भाेलि नदिने – Nepal Press

विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी : कांग्रेसले अवराेध गर्ने, एमालेले भाेलि नदिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए ।

सोही सूचनाको आधारमा शुक्रबार प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

शुक्रबार बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ । ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए ।

‘मुख्यमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण तयारी गर्नुभएको छ’, उनले भने, ‘बिहान कार्य व्यवस्था परामर्शको बैठक बस्छ । पाँच बजे विश्वासको मत लिनुहुन्छ र पाउनुहुन्छ ।’ दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको बताए ।

यता माओवादी केन्द्रले पनि ११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी भएको माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए ।
‘हामी विश्वासको मत दिने तयारीमा छौँ ११ बजे संसदीय दलको बैठक बसेर विश्वासको मत दिने गरि ह्विप जारी गर्छौ’ उनले भने ‘सत्ता गठबन्धनमा विश्वासको मत दिने समझदारी भएको छ ।’

केन्द्रमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने छलफल भएको समेत उनले जिकिर गरे ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दाहाल र ओलीबिच छलफल भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइन्छ ।

सञ्चारकर्मीको जवाफ दिँदै अध्यक्ष ओलीले संसद्को बजेट अधिवेशन बोलाउने मामिला संसद् र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरेका थिए । सुदूरपश्चिम प्रदेशमा विश्वासको मत दिने वा नदिने भन्ने विषयमा ओलीले केही बताएनन् ।

एमाले नेताहरू पनि शुक्रवार विश्वासको मत दिने गरि केन्द्रबाट त्यस्तो कुनै निर्णय नआएको बताउँछन् । ‘हामीले विश्वासको मत नदिने भनेका छैनौँ’ एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले भनिन्, ‘हामी छलफल गर्छौ । विश्वासको मत नदिने भन्ने होइन तर, २१ गते नै दिने सम्भावना भने छैन ।’

समाचार तयार गर्दा सम्म एमाले शीर्ष नेताहरूले सुदूरपश्चिम प्रदेशमा सोडारी सरकारलाई विश्वासको मत दिन कुनै निर्देशन जारी गरेका छैनन् । एमाले संसदीय दलका नेता तथा सदस्यहरू पनि २१ गते पछि मात्र विश्वासको मतका बिषयमा निर्णय हुने बताउँछन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको बताए ।

‘उपनिर्वाचनमा एकीकृत समाजवादी र एमाले नेताहरूबिच एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो तर उहाँहरू एमाले उम्मेदवारलाई नै हराउन लाग्नुभयो’, थापाले भने, ‘सहमति एउटा, काम अर्को भएपछि विश्वासमा सङ्कट थपियो ।’

एमाले अन्य सांसदहरूले पनि शुक्रवार नै विश्वासको मत दिने सम्भावना नरहेको बताउँछन् ।

‘छलफल र सहमतिबिनै उहाँहरूले विश्वासको मत लिने भनेर बैठक आह्वानको तयारी गर्नुभएको छ । तर हामीलाई थाहा नै छैन’, एमाले सुदूरपश्चिम प्रदेशका एक सांसदले भने, ‘हामी छलफलमै छौ, छलफल नै नगरी बोलाएको भोलीको बैठक सर्न सक्छ। यदि सरेन भने हामी विश्वासको मत दिन सक्दैनौ ।’ स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत विश्वासको मतका लागि अहिले नै हतार नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

‘अहिले विश्वासको मत दिन हतार गर्नुपर्दैन’, अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षकै सन्देश यस्तो आएपछि हामीले मत दिने कुरा भएन ।’ यता नागरिक उन्मुक्ति पार्टीमा रेशम पक्षका पाँच सांसदहरूले पनि विश्वासको मत नदिने बताएका छन् ।

हामी विश्वासको मत दिँदैनौँ रेशम पक्षका संसदीय दलका नेता घनश्याम चौधरीले भने । यता रन्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् ।उनीहरु दुबै जना प्रदेश सरकारमा सहभागी छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमालेले समाचार तयार पार्दा सम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ । बझाङ बाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ ।

कांग्रेसले अवरोध गर्ने

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने बताएको छ ।

असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ ।

आज संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गरेको निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले जानकारी दिए । ‘उहाँको (सोडारी) नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’

 


प्रतिक्रिया

One thought on “विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी : कांग्रेसले अवराेध गर्ने, एमालेले भाेलि नदिने

  1. माधवभन्दा बढि कुण्ठाले भरिएको मान्छे । पतन अवश्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर