जर्मनी, बेल्जियम र नेदरल्याण्डलाई हराउँदै ब्राजिल बन्यो सन २०२७ को महिला विश्वकप आयोजक – Nepal Press

जर्मनी, बेल्जियम र नेदरल्याण्डलाई हराउँदै ब्राजिल बन्यो सन २०२७ को महिला विश्वकप आयोजक

काठमाडौं । जर्मनी, बेल्जियम र नेदरल्याण्डको साझा उमेदवारीलाई हराएर ब्राजिल सन २०२७ को महिला विश्वकपको आयोजक चुनिएको छ ।

थाइल्यान्डमा भएको फिफा प्रतिनिधिहरूको चुनावमा भारती मतान्तरले ब्राजिलले आयोजनाको चुनावी जित निकालेको छ । जर्मनी, बेल्जियम र नेदरल्याण्डको साझा उम्मेदवारी ७८ मत आउँदा ब्राजिल एक्लैको मत ११९ आएको थियो ।

दशौँ महिला विश्वकप फुटबल आयोजनाको चुनावी जितपछि ब्राजिलमा उत्साह छाएको फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ । ब्राजिलले महिला विश्वकपमा सन २०१४ को विश्वकपमा प्रयोग भएका १० रंगाशालालाई प्रस्तुत गरेको थियो ।

ब्राजिलको आइकोनिक माराकाना रंगशालामा उद्घाटन र समापन खेल हुने बताइएको छ । सन २०२३ मा अष्ट्रेलिया र न्यूजील्याण्डमा भएको महिला विश्वकप खेलपछि धेरै देशले आयोजनामा चासो राखेका हुन् । यी दुई देशको आयोजनामा भएको खेलमा २७ करोड डलर आय भएपछि यस्तो चासो बढेको फ्रान्स २४ ले उल्लेख गरेको छ ।

पुरुष विश्वकप फुटबलमा सबैभन्दा बलियो विरासत भएको ब्राजिलको महिला फुटबलको विरासत भने कमजोर छ । अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन भने गत वर्षको विश्वकपमा समूह चरणबाटै ब्राजिली महिला फुटबल टोली घर फर्किएको थियो ।

दशौँ संस्करणमा ब्राजिलले आयोजनाको अनुमति पाएकोमा यो ब्राजिलको मात्रै होइन समग्र ल्याटिन अमेरिकी महादेशकै पहिलो आयोजना अनुमति हो । यसभन्दा अगाडि एसिया, युरोप तथा अस्ट्रेलिया क्षेत्रमा मात्रै आयोजना भएको थियो ।

सबैभन्दा पहिले चीनबाट सन १९९१ मा महिला विश्वकप फुटबल आयोजना भएको थियो । दोस्रो संस्करण स्विडेनले आयोजना गरेकोमा तेस्रो र चौथो अमेरिकाले आयोजना गरेको थियो । पाँचौँ आयोजकमा चीन आएको थियो । छैटौँ, सातौँ र आठौँ आयोजकहरूमा क्रमशः जर्मनी, क्यानडा, फ्रान्स थिए । नवौँ संस्करणमा आयोजक देशहरू अस्ट्रेलिया र न्यूजील्याण्ड थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर