बाँकेमा आजदेखि एमालेको जिल्ला अधिवेशन, नेतृत्वको लागि तीन जना मैदानमा – Nepal Press

बाँकेमा आजदेखि एमालेको जिल्ला अधिवेशन, नेतृत्वको लागि तीन जना मैदानमा

रुपन्देही । बाँकेमा नेकपा एमालेको नयाँ नेतृत्वका लागि आजदेखि नवौँ अधिवेशन सुरु भएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको यो जिल्लामा अधिवेशनका लागि ४५८ जना प्रतिनिधि छनौट भएका छन् । यसबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन हुने हो । यो अधिवेशनमा नेतृत्वको लागि त्रिपक्षीय लडाई चलेको छ ।

नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष किस्मतकुमार कक्षपति दोहोरिने तयारीमा छन् उनीसँगै पूर्वअध्यक्ष निरक गुरुङ, वर्तमान उपाध्यक्ष डिल्ली बिसी, नेता घननाथ खनाल अध्यक्षका प्रत्याशीका रूपमा लागेका छन् ।

गुरुङ नेकपा कालमा अध्यक्ष बनेका थिए भने घननाथ प्रदेश कमिटीमा छन् । केही कार्यकर्ताले घननाथले निरकलाई अगाडि सारेर जाने तयारी गरेको अनुमान गरेका छन् ।

अहिले मैदानमा ४ जना पात्र देखिए पनि निर्वाचनको अन्तिम समयमा कक्षपति र गुरुङबीच नै प्रतिस्पर्धा हुने जिल्ला नेताहरूको आंकलन छ ।

प्रतिनिधि छनोटका क्रममा अध्यक्षका प्रत्याशीहरू समूहगत रूपमै सक्रिय भएको कार्यकर्ताले जनाएकाले यहाँको प्रतिस्पर्धा अलिक बढी पेचिलो बनेको छ । बाँकेमा केन्द्रमा भएको कुनै नेता विशेषको समूह नभएर स्थानीय रुपमै बनेको समूह छन् ।

प्रतिनिधि छनोटले नेतृत्वलाई स्पष्टता प्रदान नगरेकाले अहिले नै नेतृत्वको आंकलन गर्न नसकिने स्थानीय नेताहरूको बुझाई छ ।

अहिलेका अध्यक्ष कक्षपतिले आफूले पूरा कार्यकाल बिताउन नपाएको र यो समयमा जिल्लामा पार्टीलाई बलियो बनाएकाले आगामी कार्यकालमा दोहोरिने तयारी गरेको बताए ।

अध्यक्षका अर्को प्रत्याशी डिल्ली बिसीले आफू उपाध्यक्ष बनिसकेकाले अध्यक्षमा जाने स्वभाविक बाटो भएको जनाए ।

‘कम्युनिष्ट पार्टीमा नेतृत्व विकासको आकांक्षा राख्नु स्वभाविक हो, मैले सबै तहका जिम्मेवारी पूरा गरेर अध्यक्षमा आकांक्षा राखेको हुँ, अन्य आकांक्षीहरु एकपटक नेतृत्वमा पुगिसकेका हुनहुन्छ, त्यसैले पनि मैले पाउनुपर्छ भन्ने हो’ उनले भने ।

एमाले नेताहरू नेतृत्व सर्वसम्मत बनाउन नेताहरू लागे पनि आकांक्षीहरु धेरै भएकाले त्यो सम्भावना कम रहेको छ ।

अध्यक्षपछि उपाध्यक्षमा प्रदेशमा मन्त्री रहेका रत्न खत्री र रवीन्द्र लम्साल, सचिवमा बलराम भट्टराई, भीम वली, दत्तप्रसाद आचार्य, खिमा भुसाललगायतका नेताहरू तयारीमा छन् । उपसचिवमा भने एक दर्जनले दाबी गरिरहेका छन् ।

अधिवेशन उद्घाटन गर्न एमालेका अध्यक्ष केपी ओली आउने अन्तिम समयसम्म प्रचार गरिए पनि महासचिव शंकर पोखरेल पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर