‘मनसरा’ को प्रिमियरमा निश्चलदेखि प्रदीपसम्म, कसले के भने ? (भिडिओ) – Nepal Press

‘मनसरा’ को प्रिमियरमा निश्चलदेखि प्रदीपसम्म, कसले के भने ? (भिडिओ)

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ को बुधवार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा सेलिब्रेटी र पत्रकारको भिड लागेको थियो ।

सुब्बाको अघिल्लो चलचित्र जारी ब्लकबस्टर भएकाले मनसरा दर्शकको पर्खाइमा रहेको फिल्म हो । चलचित्रमा दयाहाङ र मिरुना मगरको हिट जोडी हेर्न पाइनेछ । प्रिमियरमा आगन्तुकहरूले चलचित्रको खुलेर तारिफ गरेका थिए ।

निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लव प्रतीक, गायक तथा संगीतकार काली प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महतलगायत मनसराको प्रिमियरमा उपस्थित भए ।

निर्देशक बस्नेतले चलचित्रमा काम गरेका सबै कलाकारको काम उत्कृष्ट लागेको भन्दै निर्देशक सुब्बाको प्रशंसा गरे ।

‘उहाँको पहिलो चलचित्र हेर्दा नै पहिलो हो जस्तो लागेको थिएन । ‘मनसरा’ त्यो भन्दा अझ उत्कृष्ट र परिष्कृत बनेको छ । उहाँले नेपाली चलचित्रमा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भयो,’ निर्देशक बस्नेतले भने ।

निर्देशक प्रदीप भट्टराईले फरक–फरक धारका चलचित्रहरू आउनु पर्ने भन्दै ‘मनसरा’ पनि फरक भएको बताए ।

उनले भने, ‘चलचित्र उद्योग भनेको बगैँचा जस्तो हो । त्यहाँ एकथरि मात्रै फूल फुल्यो भने त कामै भएन नि । ‘जारी’मा उपेन्द्र दाइले एक दुई थरी फूल फुलाउनु भएको थियो । यसपालि ‘मनसरा’ लाई पुरै बगैँचा नै बनाउनु भएको छ । सुन्दर बगैँचा एक पटक घुम्नै पर्ने खालको छ,’ निर्देशक भट्टराईले भने ।

अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन् ।

‘उपेन्द्र दाइ मायालाई कसरी बुझ्नु हुन्छ भन्ने प्रश्न सोध्न मन लाग्छ । यस्तो सिरियस प्रेम, समाजमा पाच्य नहुने अथवा हामीलाई प्रश्न गरिरहने प्रेम सम्बन्धलाई पनि साधारण र पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल हुनु भएको छ ।’

निर्देशक सुब्बासँगै अभिनेता प्रवीण खतिवडाको अभिनयको तारिफ भएको थियो । यो चलचित्रपछि खतिवडाको करियरले फड्को मार्ने विश्लेषण धेरैको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *