मिस युनिभर्स नेपाल २०२४ को आवेदन जेठ १ देखि खुला – Nepal Press

मिस युनिभर्स नेपाल २०२४ को आवेदन जेठ १ देखि खुला

काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल’को आवेदन खुलेको छ । ग्लोबल ग्ल्यामर भेन्चरले काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ‘मिस युनिभर्स नेपाल २०२४’को आवेदन खुलेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर सङ्गीता पुरीले आवेदन जेठ १ देखि असार १ गतेसम्म खुला रहने बताइन् । इच्छुक महिलाहरुले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेश गर्न सकिने उनले बताइन् ।

आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरुको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीको साथै गैरआवासीय नेपाली महिलाहरुले पनि सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

सहभागीहरुमध्ये असार १८ गते प्रतिस्पर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धी छानिनेछ र असार २७ गते मिनीगाला कार्यक्रम गरेर उत्कृष्ट ३० प्रतिस्पर्धी छानिने आयोजकले बताएको छ । त्यस्तै साउन १६ गते शीर्ष २२ छानिनेछ । उनीहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ ।

प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ । ग्रान्ड फिनालेमा मिस युनिभर्स २०२३ शेन्निस पलासिओस पनि उपस्थित हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा उत्कृष्ट ६० सहभागीले २ दिने प्रशिक्षण प्राप्त गर्नेछन् । छानिएका शीर्ष २२ प्रतिस्पर्धीलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरुलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् ।

मिस युनिभर्स नेपाल २०२४ का विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा हुने ७३ औं मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर