संसद बैठक ११ बजे बस्दै, गृहमन्त्रीले बोल्ने छैन कार्यसूची – Nepal Press

संसद बैठक ११ बजे बस्दै, गृहमन्त्रीले बोल्ने छैन कार्यसूची

काठमाडौं । कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज पनि ११ बजे बोलाइएको छ । हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । गृहमन्त्रीले संसद बैठकमा आफूमाथि लागेका आरोपबारे जवाफ दिन पाउनुपर्ने माग गर्दै आए पनि त्यसमा कांग्रेस सहमत छैन ।

हिजोको बैठकमा कांग्रेसको नारावाजबीच सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएका थिए । तर, कांग्रेस सांसदहरुको अवरोधले त्यो सम्भव भएन । बरु कांग्रेस र एमालेका सांसदहरु घम्साघम्सीमा उत्रिए । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापनि धनराज गुरुङबीच व्यक्तिगत टकरावसमेत भएको थियो ।

आजको संसद बैठकमा भने गृहमन्त्रीले बोल्ने कार्यसूची छैन । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ६ वटा विषय छन् । पहिलोमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले नै प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ ।

तेस्रो कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बाेधनको प्रति टेबुल गर्नेछन् । त्यसैगरी सभामुखले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

हेर्नुस कार्यसूची

आजको संसद बैठक पनि सम्भवतः कांग्रेसले चल्न दिनेछैन । संसद बैठक अगाडि कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । रास्वपाले हिजै अब संसदीय समिति नबन्ने घोषणासमेत गरिसकेकाले राजनीति थप मुठभेडतिर गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर