गायक प्रकाश दुतराजको बादी समुदायका महिलाको कथा बोकेको ‘करिम’ सार्वजनिक (भिडिओ) – Nepal Press

गायक प्रकाश दुतराजको बादी समुदायका महिलाको कथा बोकेको ‘करिम’ सार्वजनिक (भिडिओ)

काठमाडौं । नेपाली शिक्षक हरिराम शाही कक्षामा पहिलो दिन पढाउन जान्छन् । कक्षा सुरु गर्नु अघि उनले विद्यार्थीको परिचयबाट सुरु गर्छन । परिचयको सुरुमा एक जना शर्मा थर गरेका विद्यार्थीले आफ्नो नाम, आमाको र बाबुको नाम भन्दै परिचय सक्काउँछन् ।

लगत्तै परिचय दिन उठ्छन् छात्रा कुमारी बादी । उनले आफ्नो आमाको नाम उर्मिला बादी भने लगत्तै बुवाको नाममा गएर रोकिन्छिन् । बुवाको नाम भन्न नसकेको देखेर विद्यार्थी सबै उनलाई ट्वाल्ल परेर हेर्छन ।

तीन जना बादी समुदायका महिला कर्णाली नदी किनारमा नुहाउन पुगेका छन् । उनीहरुबीचमा कुराकानी भइरहेको हुन्छ, एक जना महिलाले भन्छिन्, ह्या चमेली, हेर न यो कर्णालीले रगत र पसिना बगाए जसरी हाम्रा पन दुख पिडा बगाई लग्या भए हुनेछियो धेकी । अर्की महिलाले थप्दै भन्छिन्, अम के दिदी हामी की कति हलुको हुनेछियो है दिदी । अर्की महिलाले थप्दै भन्छिन्ः अ राइके साइली बच्चा पाउने छ भन्यो, त्यो बच्चा पन माथी पशलेको हो हरे । अर्की महिलाले थप्दै भन्छिन्, अझ हेर न, लाग्ने खर्च पनि दिन्छु भनेको छ हरे । अर्की महिलाले भन्छिन्, छोरी भया त हाम्रै जसो दुख हुन्याहो धेकी । अर्की महिला थप्दै भन्छिन्, अ छोरै भइदिया हुनेछियो । त्यसपछि मात्रै बल्ल गीत सुरु हुन्छ ।

यि सम्वाद बादी समुदायका महिलाको कथा बोकेको गीत एवम म्यूजिक भिडियो ‘करिम’काे सुरुवाती चरणका अंश हुन् । राउटे समुदायको दुख पिडा समेटिएको रिमै गित तथा म्यूजिक भिडियोको अपार सफलतापछि गायक एवम सर्जक प्रकाश दुतराजले भर्खरै मात्रै बादी समुदायका महिला तथा बालिकाले बाध्यताले यौन व्यवसायमा लाग्नु परेको कथा व्यथा समेटेर ‘करिम’ गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गायक दुतराज र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको १५ मिनेट ११ सेकेण्डको म्यूजिक भिडियो करिम गायक दुतराजकै यूट्यु च्यानलबाट सार्वजनिक भएको हो । १२ घण्टा अघि सार्वजनिक भएको गीत यूट्युवमा एक लाख २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

शब्द र संगीत दुतराजकै रहेको गीतमा संगीत संयोजन बिबी अनुरागीले गरेका छन् भने गितार सञ्जिव बराइली, सार्रगी हेमन्त कान्छा रसाइली, ध्वनी मिश्रण श्यामश्वेत रसाइलीको रहेको छ । कमल सिंजाली र गोविन्द अनेक रेकडिष्ट रहेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो । गीतमा गायक दुतराजसँगै अन्जु चौलागाई, सुस्मिता कुँवर, दिपेश परियार, सन्तोष दुतराज, सर्जुन राई, गौरब गिरी र रोहित देउवाले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा बाल कलाकार आयुषा गौतम, सिम्रन परियार र प्रमिसा कटवालको पनि अभिनय रहेको छ । अनिल के मानन्धरले छायांकन गरेको म्यूजिक भिडियो नविन घर्तिमगरले निर्देशन गरेका हुन् । प्रस्तुत गीत कथा सदिऔँ देखि शोषण, दमन, दुःख कष्ट, पिर र अभावमा पर्दै आएका बादी समुदायका छोरी, चेली र आमाप्रति समर्पित रहेको गायक दुतराजले बताए ।

म्यूजिक भिडियोको अन्तिममा बादी समुदायकै एउटा महिलाले आफ्नो मृत्यु भन्दा अघि लेखेको पत्र उनको मृत्युपछि गायक दुतराजको हातमा पर्छ, जहाँ लेखिएको छ, पिरमा पन छ्रैन, सिरमा पन छैन । हाम्रा त तकदिरमा नै सिन्दुर छैन । म उर्मिला बादी । न मन बुझाउने ठाउँ छ, न मनको सुनाउने ठाउँ छ । न गरी खाउँ भनि सरकारले दियाको माटो नै छ । कैलाई सुनाउ मेरा दुखका कुरा । कैलाई भनु म मेरा रगतका कथा । कल्ले मलम लगाइदिने मेरा शरिरका घाउमा । सबै कुरा फेरिदैँ आए । राजा रजौटा फेरिए, राज्यका नक्सा फेरिए । व्यवस्था पन फेरियो । हाम्रो जनजिवन फेरिएन । न समाजले हेर्ने नजर फेरियो । म त मरिजाउला, ति मेरी कोपिला जस्ती छोरीको चिन्ता लाग्दोछ । सम्हाली दिनु है । फेरि दाग नलाग्ने गरी ।

पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो । नेपालको जनगणना २०६८ अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरेर यो समुदायको जम्मा जनसंख्या ३८ हजार मात्रै छ । यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा ससानो संख्यामा बस्दै आएका छन् ।

इतिहासकारका अनुसार भारतमा १४ सय शताब्दीमाा राजा, रजौटाको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि बाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर