समृद्धिका लागि सदाचार शिक्षा र सिर्जनशीलता ! – Nepal Press

समृद्धिका लागि सदाचार शिक्षा र सिर्जनशीलता !

भ्रष्टाचारले संसारलाई आक्रान्त पार्दै आएको छ । प्राचीन कालमा सबै प्रकारका कलुषित आचरणलाई भ्रष्टाचार मानिन्थ्यो । क्रमशः सामाजिक प्रथा-पद्धति, परम्पराविरुद्धका आचरणलाई भ्रष्टाचार मानियो । सदाचार र अनुशासनलाई धर्मको विषय र दुराचार र अधर्म-कुकर्मलाई भ्रष्टाचारका रूपमा औंल्याइयो । पछि राज्यहरूको विकासपछि राज्यको नीति, विधिविपरीतको कार्यलाई भ्रष्टाचार मानियो । यी सबै कालखण्डमा त्यति बेलाका निर्धारणअनुसारका दण्डात्मक व्यवस्था गरियो । नर्कगमन, जातिच्युत, कठोर श्रमदण्ड, आर्थिक-चल सम्पत्ति दण्ड, कारावास, देश निकाला आदि आदि दण्ड-सजायको माध्यमबाट भ्रष्टाचार निवारण तथा सदाचार स्थापित गर्ने विधिहरू अवलम्बन गरेको पाइन्छ । त्यसैले भ्रष्टाचार निवारणको विषय त्यति सहज छैन, निवारण नगरी पनि हुँदैन ।

आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरेर, छल गरेर, सामाजिक-सार्वजनिक सम्पत्ति हत्याउने, कानूनद्वारा निषेध गरिएका तरिका अपनाएर अरुलाई संलग्न गरी वा आफैं गर्ने अनुचित आर्जनलाई अहिले भ्रष्टाचार भनिएको छ । भ्रष्टाचार हुने अनेकौं क्षेत्र छन् र सोहीअनुसारका परिभाषा पनि छन् । भ्रष्टाचार अत्यन्त घटिया, नीचकर्म हो । यो समाजमा रहँदा समाज र राष्ट्रमा हुँदा राष्ट्र नै भ्रष्ट चित्रित हुन्छ । भ्रष्टाचारको क्षेत्र विस्तार-दायरा अन्तर्राष्ट्रियस्तरको छ । कसको संलग्नता पुष्टि हुन्छ, कसको हुँदैन, यो आफ्नो ठाउँमा होला, तर यस प्रकारको भ्रष्ट कार्य यहाँ भएको छ । यो सामान्य शक्तिले गर्न सक्ने काम होइन, यसमा राष्ट्रका ठूला जिम्मेवारहरूको संलग्नता रहेको विषयमा कसैले आनाकानी गर्ने ठाउँ छैन । यस्ता भ्रष्टाचारीहरूलाई कांग्रेस, कम्युनिष्ट र अन्य कुनै राजनीतिक दर्शनमा ओत लागेको भ्रष्टाचारीमा वर्गीकरण गरी यस विषयलाई कमजोर बनाइनु हुँदैन । भ्रष्टाचार भ्रष्टाचार नै हो, यसका कर्ता जोसुकै होऊन् ।

सन् २००३ मा संयुक्त राष्ट्रसङ्घले महासन्धि पारित गरेपछि सन् २००४ देखि यसका पक्ष राष्ट्रहरूले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन सुरु गरेको भए पनि सन् २००५ देखि प्रभावकारी भएको छ । हासम्म यस अभिसन्धिमा संसारका १४० राष्ट्रले हस्ताक्षर गरेका छन् । हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । यसको आसय हो, यो विश्वव्यापी समस्या हो । तर, यसको समाधान जहाँको त्यही गर्नुपर्छ ।

राजनीति र प्रशासनलगायत सामाजिक जीवनका हरेक क्षेत्रमा भ्रष्टाचारले गाँजेको छ । अहिले हरेक भाषण भ्रष्टाचारका विरुद्ध हुने गरेको छ । हरेक प्रशासनिक निर्देशन भ्रष्टाचारका विरुद्ध हुने गरेको छ । भ्रष्टाचारका विरुद्ध जनजनले बोल्ने गरेको सुनिन्छ । गाउँ-शहरका हरेक चिया पसल र चौतारी भ्रष्टाचारविरुद्धका गफका केन्द्र बनेको देखिन्छ । भ्रष्टाचारका विरुद्ध नियम-कानून पनि बाक्लै बनेका छन् । डरलाग्दा सजायका प्रावधान बनेका छन् । भ्रष्टाचार निवारणका लागि संवैधानिक आयोगसमेत बनेको छ । तर, भ्रष्टाचारमा कमी आएको देखिँदैन । भ्रष्टाचारका नयाँ नयाँ आयाम विस्तार हुँदै आएको छ ।

राजनीति र प्रशासनलगायत सामाजिक जीवनका हरेक क्षेत्रमा भ्रष्टाचारले गाँजेको छ । अहिले हरेक भाषण भ्रष्टाचारका विरुद्ध हुने गरेको छ । हरेक प्रशासनिक निर्देशन भ्रष्टाचारका विरुद्ध हुने गरेको छ । भ्रष्टाचारका विरुद्ध जनजनले बोल्ने गरेको सुनिन्छ । गाउँ-शहरका हरेक चिया पसल र चौतारी भ्रष्टाचारविरुद्धका गफका केन्द्र बनेको देखिन्छ ।

सोझो हिसाबले यसरी भनौं- भ्रष्टाचारका विरुद्धमा नीति, ऐन-कानून, निर्देशन, चर्चा परिचर्चाले भ्रष्टाचार रोक्न सकेको छैन । भ्रष्टाचार निवारणका अनेकौं प्रयत्न भइरहेका पनि छन् । भ्रष्टाचार निवारणका लागि निषेधात्मक उपायमा जोड दिइएको छ । तर, हामी कसैले पनि सदाचारका बारेमा कहिल्यै मन लगाएर सोचेनौं । यस विषय कहिल्यै गम्भीर भएर चिन्तनमनन पनि गरेनौं । सदाचार विस्तार गर्ने, हुर्काउने बढाउनेबारेमा कुनै तहमा शिक्षाको प्रवन्ध गरिएन । बरु, भ्रष्टाचारका विषयमा यतिविघ्न गर्नुभन्दा सदाचार विस्तारबारे त्यसभन्दा कमै प्रयास गरेको भए ठूलो परिणाम आउन सक्थ्यो । ढिलै भए पनि अब यस विषयमा सोच्न र केही गर्न आवश्यक छ ।

सदाचारलाई कर्ममा जोड्नु शिक्षाको सन्दर्भमा महत्वपूर्ण विषय हुन आउँछ । हाम्रो पूर्वीय वाङ्मयमा धर्म, अर्थ, काम र मोक्षलाई जीवनको लक्ष्य मानिएको छ । वास्तवमा आध्यात्मिक विषय छाम्दा ज्ञान, भक्ति र योग यी तीन वटाको सदुपयोगको सत्परिणाम नै मोक्ष हो भन्ने स्पष्ट हुन्छ । यसमा सदाचार अन्तर्निहित हुन्छ । किनभने धर्मको सम्बन्ध सत्कर्मसँग हुन्छ । सद्+आचार=सदाचार हो । अर्थात् शुद्ध-सम्यक आचरण-व्यवहार नै सदाचार हो । यसको विपरीत भ्रष्ट आचार वा आचरण भ्रष्टाचार हो ।

तत्काल घटना जे जस्तो देखिए पनि भ्रष्टाचार सम्पत्तिका लागि हुन्छ । प्राचीन कालमा अहिलेको जस्तो रुपैयाँ-पैसाको प्रचलन नहुँदा पनि भ्रष्टाचार धन-सम्पत्तिमा नै हुन्थ्यो र त्यसबाट कसरी जोगिने भन्ने विषयमा अथर्ववेदमा भनिएको छ, ‘प्र पतेतः पापि लक्ष्मि नश्येतः प्रामुतः पत । अयस्मयेनाङ्केन द्विषते त्वा सजामसि ।’ अर्थात् ‘हे अन्यायका धन ! तँ यहाँबाट टाढा जा । यहाँबाट भागेर हाम्रा शत्रुका नजिक गएर बस । हामी फलामे लठ्ठीले तँलाई हाम्रा शत्रुतिर लखेट्छौं ।’ अथर्ववेदको यो मन्त्र आर्थिक भ्रष्टाचारका विरुद्ध सदाचारप्रति परिलक्षित छ । आजको शिक्षामा कानूनको डर देखाएर, दण्डका प्रावधान घोकाएर भ्रष्टाचारविरोधी बनाउने प्रयत्न गरिन्छ । तर, भ्रष्टाचारप्रति मानिसको मनैदेखि घृणा उत्पन्न हुने र सदाचारी हुने विषय पठनपाठनमा रहेको देखिँदैन ।

अर्थको सम्बन्ध भनेको समृद्धिसँग र कामको सम्बन्ध सत्परिणामसँग रहेको स्पष्ट छ । यसरी आफूसँग भएको ज्ञानको सदुपयोग सत्परिणामको कामनासँग निष्ठापूर्वक समर्पण गर्नु नै परिणामतः योग हो र यो योग आफैंमा विशिष्ट शक्तिपुञ्ज हुन्छ । त्यसैले यो विषय पनि सदाचारसँग अभिन्न रूपले जोडिन्छ, जोडिएको छ, जोड्न आवश्यक छ । ज्ञानहीन/आडम्बरी, समर्पणहीन/स्वार्थी, ऊर्जा/शक्तिहीन फोस्रा प्रमाण-पत्रधारी जमात उत्पादनबाट समाजले, राष्ट्रले पाउने भनेको आडम्बरी, स्वार्थी, पूर्वाग्रही, मगन्ते, गुनासे, आरिसे, भ्रष्टमात्रै हो । आजको नेपाली समाजले भोगिरहेको यथार्थ यही होइन र ?

सदाचार विस्तार गर्ने, हुर्काउने बढाउनेबारेमा कुनै तहमा शिक्षाको प्रवन्ध गरिएन । बरु, भ्रष्टाचारका विषयमा यतिविघ्न गर्नुभन्दा सदाचार विस्तारबारे त्यसभन्दा कमै प्रयास गरेको भए ठूलो परिणाम आउन सक्थ्यो । ढिलै भए पनि अब यस विषयमा सोच्न र केही गर्न आवश्यक छ ।

सदाचार प्रवर्द्धन गर्न परम्परागत गुरुकुल शिक्षामा रहेका विषय कालजयी छन् । तर, तिनीहरूलाई पनि घोकन्तु र कर्मकाण्डी बनाइएको छ । शिक्षाका यी विषयलाई व्यवहारिक बनाउन सके मौलिक पहिचान र स्वाभीमान बढ्नसक्छ ।

ऋग्वेदमा भनिएको छ- ‘भद्रमिच्छन्त ऋषयः स्वर्विदस्तपो दीक्षामुपनिषेदूरग्रे । ततो राष्ट्रं ज्ञद्ध बलमोजश्च जातं तदस्मै देवा उपसंनमस्तु ।’ अर्थात्- ‘सबैका हितचिन्तक, आत्मज्ञानी ऋषिहरूले सृष्टिका आरम्भमा तपस्या र दीक्षा आदिको नियम पालन गरेका थिए । त्यसैबाट राष्ट्रिय भावना र राष्ट्रिय सामर्थ्य उत्पत्ति भयो । त्यसैले ज्ञानी मानिसहरू त्यस राष्ट्रका सामु विनम्र भएर राष्ट्रसेवामा लागून् ।’ यहाँ सदाचारको विषय स्पष्ट देख्न सकिन्छ ।

माथि नै उल्लेख भइसकेको छ, भ्रष्टाचार भनेको आर्थिक क्षेत्र- घुस खानेमात्र होइन, शक्तिको दुरुपयोग सबैभन्दा ठूलो भ्रष्टाचार हो । त्यसैले त्यतिबेलाका ठूला देवता रुद्रलाई शक्तिको दुरुपयोग नगर्न जोडदार रूपमा आवाज घन्काएका छन् । यथा: ‘…मा नो महान्तमुत मा नो अर्भकं मा न अक्ष्यन्तमुत मा नद्रउक्षितम् । मा नो वधीः पितरं मोत मातरं मा नः प्रियास्तन्वो रुद्र रीरिषः ।’ अर्थात्- ‘हे रुद्र ! हाम्रा ज्ञानी र बलिया वृद्धलाई नसताऊ । हाम्रा साना बालकलाई हिंसा नगर । हाम्रा बलिया युवाहरूलाई घात नगर । हाम्रा गर्भस्थ शिशुहरूलाई हिंसित नगराऊ र हाम्रा आमा-बालाई नाश नगरिदेऊ । हाम्रा आफन्तको शरीर कष्टमा नपार ।’ (यजुर्वेद)

समानता र मेलमिलाप, द्वन्द्वरहित समाज निर्माणका लागि प्रेरित गर्ने अनेकौं प्रसङ्ग वेदमा रहेका छन् । एउटा उदाहरण: ज्यायस्वन्तश्चित्तिनो मा वि यौष्ट संराधयन्तः सधुराश्चरन्तः । अन्यो अन्यस्मै वल्गु वदन्त एत सध्रीचीनान् वः सम्मनसस्कृणोमि ।’ अर्थात्- ‘हे मानिसहरु ! कोही नछुटिकन साना–ठूला सबैलाई ख्याल राख्दै, समान व्यवहार गर्दै, विचार मिलाउँदै मिलेर काम गर । एकापसमा प्रेमपूर्ण कुरा गर्दै हिँड । हामी पनि तिमीहरुको जस्तै काममा लाग्नेछौं ।’ (अथर्ववेद)

भ्रष्टाचारका विरुद्ध सडकमा प्रदर्शन गरिँदैछ । त्यस्ता कतिपय प्रदर्शनमा जनस्तरमा भ्रष्ट भनेर चिनिएका अनुहार पनि देखिन्छ । भ्रष्टाचारका विरुद्धमा नियम, कानून, दण्ड, कारावास, खबरदारीका लागि सडक प्रदर्शन आदि गर्ने विषय नराम्रो होइन, तर सदाचार प्रवर्द्धनका उपाय खोइ ? सदाचार बढाउने शिक्षा खोइ ?

मातृभूमिप्रतिको निष्ठा वेदमा उत्तिकै प्रबल छ । आजका युवाले वेदमा भएका यी कुरा बुझ्ने माध्यम केही छ ? ‘सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रह्म यज्ञः पृथिवीं धारयन्ति । सा नो भूतस्य भव्यस्य पत्न्युरुं लोकं पृथिवी नः कृणोतु ।’ अर्थात्- ‘सत्यनिष्ठा, यथार्थको व्यापक जानकारी, दक्षता, पराक्रम, तपश्चर्या, ब्रह्मज्ञान र त्याग बलिदान यिनै भावनाले नै भूमि वा मातृभूमिलाई पालनपोषण र संरक्षण गर्दछन् । विगतका र आउँदो समयका सबै प्राणीलाई पालन गर्ने मातृभूमिले हामीलाई विस्तृत स्थान देओस् ।’ (अथर्ववेद)

‘भद्रमिच्छन्त ऋषयः स्वर्विदस्तपो दीक्षामुपनिषेदूरग्रे । ततो राष्ट्रं बलमोजश्च जातं तदस्मै देवा उपसंनमस्तु ।’ अर्थात्- ‘सबैका हितचिन्तक, आत्मज्ञानी ऋषिहरूले सृष्टिका आरम्भमा तपस्या र दीक्षा आदिको नियम पालन गरेका थिए । त्यसैबाट राष्ट्रिय भावना र राष्ट्रिय सामर्थ्यको उत्पत्ति भयो । त्यसैले ज्ञानी मानिसहरू त्यस राष्ट्रका सामु विनम्र भएर राष्ट्रसेवामा लागून् ।’ (अथर्ववेद)

हाम्रो राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने सामर्थ्य वैदिक शिक्षामा प्रबल छ । यसको अर्थ वेद पढेपछि सदाचारी भइन्छ भन्ने होइन, तर शिक्षाको सम्बन्ध निजी जीवन, सामाजिक जीवन र मरणोपरान्त पनि रहने हुँदा सदाचार शिक्षामा जोड दिनुपर्छ भन्ने हो ।

मानिसलाई धेरैजसो भ्रष्टतामा लैजाने विषय सहज धन (इजी मनी) हो, विलास र विलासिता हो । भ्रष्टाचारका विरुद्ध सडकमा प्रदर्शन गरिँदैछ । त्यस्ता कतिपय प्रदर्शनमा जनस्तरमा भ्रष्ट भनेर चिनिएका अनुहार पनि देखिन्छ । भ्रष्टाचारका विरुद्धमा नियम, कानून, दण्ड, कारावास, खबरदारीका लागि सडक प्रदर्शन आदि गर्ने विषय नराम्रो होइन, तर सदाचार प्रवर्द्धनका उपाय खोइ ? सदाचार बढाउने शिक्षा खोइ ? अब भ्रष्टाचार निवारणका लागि आरोप-प्रत्यारोप, अदालत, जुलुस, धर्ना, विचार गोष्ठी, सेमिनार आदि मात्र पर्याप्त हुँदैन, यसमा खर्च हुने समय र शक्ति सदाचार शिक्षामा लगाउन सके सदाचारी पुस्ता विकास हुनसक्छ ।

सिर्जनशील उपायहरूको माध्यमबाट सदाचार प्रवर्द्धन र भ्रष्टाचार निवारणमा बल पुर्‍याउन सकिन्छ । यसका लागि समाजमा रहेका सकारात्मकताको सञ्चार गर्ने, सदाचारीहरूप्रति सम्मान भाव राख्ने, प्रकृति र मानवमा भएका गुणहरूको खोजी गरी तिनीहरूबाट शिक्षा लिने सामाजिक राजनीतिक वातावरण बनाउन आवश्यक छ ।

(कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *