टी-२० विश्वकप : २५ तारिखसम्म टिम हेरफेर गर्न सकिने, सन्दीपको फैसला पर्खाइमा क्यान – Nepal Press

टी-२० विश्वकप : २५ तारिखसम्म टिम हेरफेर गर्न सकिने, सन्दीपको फैसला पर्खाइमा क्यान

क्यानले रिजर्भ खेलाडीको घोषणा गरिसकेको छैन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर सन्दीप लामिछाने छुट्न पुगे । यो अनपेक्षित थिएन, किनकि अदालतमा विचाराधीन मुद्दाका कारण उनी क्रिकेटबाट बाहिर छन् ।

नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा फ्यानहरू खिन्न हुनु स्वभाविक हो ।

यद्यपि, सन्दीपले टी-२० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्ने क्यान स्रोत बताउँछ ।

टी-२० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।

नेपालले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ । ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ । सन्दीपको झिनो आशा भनेको यही नै हो ।

क्यानले किन रिजर्भ खेलाडी घोषणा गरेन भन्ने प्रश्नमा एक पदाधिकारीले सन्दीपको मुद्दातर्फ संकेत गरे । उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यसअघिका तीन वटा सुनवाइ यत्तिकै स्थगित भएका थिए । यदि आइतबार सुनवाइ सुरु भयो भने एक-दुई दिनमा नै फैसला आउन सक्छ । यदि उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दियो भने उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने ती पदाधिकारीले बताए ।

आइसीसीमा दर्ता भएका २५ जनाको सूचीमा सन्दीप पनि छन् भन्ने स्रोतको अपुष्ट दाबी छ । यो सूचीबाट क्यानले आफ्नै खर्चमा रिजर्भ खेलाडीहरू लैजान पाउँछ । अहिले नेपालको स्क्वाडमा सन्दीपको ठाउँमा स्पिनरको रूपमा सागर ढकाललाई समावेश गरिएको छ । यदि सन्दीप अमेरिका जान पाए भने उनले सागर ढकाललाई प्रतिस्थापित गर्न सक्नेछन् ।

तर, सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ आइतबार सन्दीपको सुनवाइ सुरु हुनु र उनले सफाइ पाउनु हो । यदि उच्चले पनि सन्दीपलाई दोषी ठहर्‍यायो भने चाहिँ उनका सबै ढोकाहरू बन्द हुनेछन् ।

सन्दीप लामिछाने पहिलो पटक विश्वकप खेल्न निकै व्यग्र थिए ।

उच्चबाट क्लीन चिट लिएर अमेरिका जान पाउने आशा थियो उनको । तर, सुनवाइ पटक पटक धकेलिँदा उनी अधैर्य बन्दै गएका छन् । सोही अधैर्यता उनले हिजो आफ्नो फेसबुक स्टाटसमा पोखे । जिल्ला अदालतले दोषी ठहर गरेयता पहिलो पटक उनले सार्वजनिक टिप्पणी गरेका हुन् । क्रिकेट फ्यानहरू उनको चर्को समर्थनमा देखिन्छन् ।


प्रतिक्रिया

2 thoughts on “टी-२० विश्वकप : २५ तारिखसम्म टिम हेरफेर गर्न सकिने, सन्दीपको फैसला पर्खाइमा क्यान

  1. सन्दीप लाई लागेको आरोप झुट्टा साबित होस र सन्दिप खेलमा फर्किन पाउन । यदि पुर्वाग्रह राखेर सन्दिपलाई फसाउन खोजे देशका सम्पुर्ण युवाले प्रतिकार गर्नु पर्छ ।

  2. Sandeep jasto kheladi jassri bhayepani team ma lyaunai parxa..kinaki,unnma xemata xa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर