राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोक्कालाई – Nepal Press

राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोक्कालाई

रुपन्देही । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१ औँ स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुटवलमा राष्ट्रिय हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता आयोजना गरेको थियो।

म्याराथनमा च्याम्पियन बनेका रोक्काले नगद एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन्।

‘सबैका लागि खेल’ भन्ने नारा सहित आयोजना गरिएको म्याराथनमा नेपाली सेनाकै नरेन्द्र रावत दोस्रो भएका छन्। १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेका रावतले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भएका छन्। बस्नेतले नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन्।

हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, नेपाली सेनाकै श्रीष लाल पाँचौँ तथा सशस्त्र प्रहरीका किरण सिंह बोगटीले छैटौँ स्थान प्राप्त गरेका छन्।

चौथो बनेका बुढाले ३० हजार, पाँचौँ बनेका श्रीष लालले २० हजार र छैटौँ बनेका बोगटीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटी आई समापन भएको थियो।

प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसको अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो।

जसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेज स्तरीय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरीय खुल्ला छात्र र तिन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो।

सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौँसम्म हुने खेलाडीहरूलाई नगद सहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

प्रतियोगिताका उत्कृष्ट धावकहरूलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर