हर्कजी ! कसरी फुर्छन् यस्ता गीत ? – Nepal Press

हर्कजी ! कसरी फुर्छन् यस्ता गीत ?

काठमाडौं । ‘सुन साइँली’, ‘वाफ’, ‘घुमीघुमी’, ‘बटौली’, ‘के माया लाग्छ र ?’, ‘फूलथुंगे रानी’, ‘जुनी काट्छु भन्थ्यौ नि’ । यी गीतहरुका गीतकार हुन्- हर्क साउद ।

हर्क गीत लेख्छन्, गीतसित कथा र कथासित जीवन लेख्छन् । उनको गीतका शब्द मनमा च्वास्सै बस्छन् । हर्क गीत कमै संख्यामा लेख्छन् । तर, बहुल संख्याका दर्शकको मन जित्छन् ।

निर्माणाधीन फिल्म ‘ऊनको स्वेटर’कै शीर्ष गीतको शब्द हेर्नुहोस्-

तिमीविना तिमी हुनु
नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर
सम्झाइरहनु नबर्सेर
ए… बुकी फूल
तिमी जस्तै न्यानो, तिमी जस्तै शीतल
ऊनको स्वेटर

फिल्मको मोसन पोस्टर सार्वजनिक कार्यक्रममा शीर्ष गीतको यी अन्तरामात्रै प्रस्तुत गरिएको थियो । सुजन चापागाईंको स्वर, संगीत रहेको गीतको यो टुक्रा नै काफी भइदियो, दर्शकको मन बहलाउन ।

यस्तो मनमा बस्ने गरी, जिब्रोमा अल्झने गरी कसरी गीत लेख्न सकेका हुन् हर्कले ?

यो गीतको कथा यसरी सुरु हुन्छ-

‘ऊनको स्वेटर’ फिल्ममा एउटा पात्र छ । त्यो पात्रको जीवन भोगाइ छ । निर्देशक नवीन चौहानले तिनै पात्रलाई सम्बोधन गर्ने गरी शब्दहरु उन्न लगाए हर्कलाई ।

हर्कले माथिका टुक्रा लेखे । गीतको मेलोडी सुजनले तयार पारे । स्वर भरे ।

सुरुमा त हर्कले सोचेका थिए, यो गीतको स्थायी नै यही हो । तर, बाँकी थप लाइनहरु कोर्दै जाँदा गीतले ठ्याक्कै यू-टर्न लियो । अगाडि स्थायी र अन्तरा थपिए । स्थायी सोचिएको लाइन अन्तिम अन्तरा बन्यो ।

गीत लेख्नुअघि फिल्ममा पात्रको मनोदशामाथि छलफल भयो ।

‘पात्रको मनोदशा के छ भने हामी सधैंभरि परिवारकै सदस्यसँगै रहिरन सक्दैनौं । अत्यधिक प्रेम गरेको मान्छे हरपल आफ्नो साथमा पनि हुँदैन’, हर्क सुनाउँछन्, ‘जिन्दगीमा एक्लै हिँडिरहँदा प्रेम गरेको मान्छेलाई कति सम्झनुहुन्छ ? त्यो मान्छेको सामीप्य र प्रेमको याद कतिको आँउछ ? कोही मान्छे साथमा हुँदा र नहुँदा साथमै भए जस्तो भाव कस्तो हुन्छ ? यही भावलाई गीतमा उनेको हो ।’

कोही मान्छे भौतिक रुपमा साथमा नहुँदा पनि भक्तिपूर्वक, श्रद्धापूर्वक गरिने प्रेमलाई हर्कले गीतका शब्दमा उनेका छन् । कसैको अनुपस्थितिमा पनि उही समर्पण देखाउने भावका शब्दहरु हर्कले यस गीतमा उने ।

मोसन पोस्टर सार्वजनिक गर्दा लेखिएको यस टुक्रालाई हर्कले यसरी पूर्ण बनाए-

फूलहरु मुस्काउँछन् तिमीले देख्छौ र ?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र ?
लेकैमा कुहिरो पर्खिरहेछ सिमसिम पानी
सिमसिम हिउँपानी बर्सिरहेछ

जून हेर्नु तिमी माथि माथि सगरको
म हेर्छु मेरो जून तिम्रो नजरको
चिना रेखा केही देखाउन्नँ म भाग्य फेरौंला
तिमी बिहान साँझ मेरो म तिम्रै बाटो हेरौंला

तिमीविना तिनी हुनु…..

निर्देशक नवीनले कथाको सार भनेपछि हर्कले लेख्न, मेट्न, केर्न सुरु गरे । हर्क गीतहरुमा आफ्नो अनुभूति पनि मिसाउँछन् । आफू वरिपरिको परिवेश र परिस्थिति पनि समेट्छन् । कसैसँग बस्दा थोरै कुरा गर्छन् । धेरै अब्जर्भ गर्छन् ।

हर्क सुनाउँछन्, ‘म तपाईंसँग पनि सामान्य कुरा गरिरहेको हुन्छु । तर, सँगै धेरै कुरा नबोलेरै गरिरहेको हुन्छु ।’

यो गीत लेख्ने प्रसंग आइसकेपछि हर्कले एक जना साथी सम्झिए । जोसित रातभर कुराकानी गर्थे । ती साथी टाढा थिए । तर, हर्कको मनको समीप थिए । गीत लेख्ने चरणमा ती साथीसँगको संवाद र अनुभूति पनि सम्झिए । यो गीत तयार हुनुमा ती साथीलाई पनि क्रेडिट दिन्छन् हर्क ।

यो गीतमा ‘तिमीविना तिमी हुनु’ भनेर उत्तरार्द्धको कथा भनेका थिए । लेख्दै जाँदा गीत रिभर्स भएर वयस्कको कथा पनि आयो, ‘फूलहरु मुस्काउँछन्, तिमीले देख्छौ र ?’

हर्क एकै पटकमा गीत लेखेर सकाउँदैनन्, चरण चरणमा लेख्छन् । लेख्दालेख्दै गीतले लय पक्रन्छ । लामो भयो भने छोट्याउनतिर लाग्छन् । दोहोर्‍याएर, तेहेर्‍याएर लेखेपछि मात्रै अरुलाई सुनाउँछन् । गीत संगीतका लागि जान्छ ।

‘मैले अधिकतम ३० पटकसम्म पनि सम्पादन गरेको छु । ‘तीनपाते’ लेख्दा त तीन महिना लागेको थियो । यो गीतमा त प्रत्येक लाइनमा छलफल भयो’, उनी सुनाउँछन् ।

०००

‘तीनपाते’ गीत बनाउँदा नवीन, हर्कलगायतले कथाको एउटा प्लट तयार गरेका थिए । जहाँ एउटा किसानको आफ्नै आठ दश रोपनीभित्र कृषि फार्म हुन्छ । गीतको कथा त्यही फार्मभित्रको थियो । तर, पछि छलफलकै क्रममा गीतलाई यतिमै सीमित नराख्ने सल्लाह भयो । नेपालमा मेहनत गरिखाने वर्गलाई सम्बोधन गर्ने गरी गीत बनाउने कुरा भएपछि हर्कले लेखे-

केटा:

देखेर तिमीलाई हेरेर तिमीलाई
भेटेर तिमीलाई सम्झेर तिमीलाई
मनैमनमा माया तीनपाते भइदियो

हर्क भन्छन्, ‘केटाले नबोलेरै भनेको कुरा हो । नबोलेरै मनमनै भनेको कुरा हो ।’

केटी:

विपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
मेरो रसरंग सबै तिमीतिरै गइदियो

हर्क थप्छन्, ‘दुवैको हेराहेरमात्रै भएको छैन । उनीहरु सानैदेखि बोलिरहेका छन्, सँगै हिँडिरहेका छन् । सँगै स्कुल जान्छन्, घर आउँछन् । मेलापात सँगै जान्छन् । अनि उमेर आएपछि प्रेममा परे ।’

हुकलाइन छ:

बाँसै काटी चोया चोया खिपी डोको
तिमीसँगै घामछायाँ हुने मनको धोको

इलामको ग्रामीण भेगमा प्रायःजसो बाँस पाइन्छ । बाँस काटेर डोको, थुन्से बनाइन्छन् । त्यसैलाई आधार बनाएर एक-अर्काप्रति प्रेमको समर्पण देखाउन यो हुकलाइन प्रयोग गरियो ।

यसपछि गीतमा केटाकेटीको बिहे हुन्छ । महिला पात्र जो छिन्, उनलाई गाउँमा अरु मान्छे घोडा चढेर आफ्नै घरको दैलो हुँदै टकटक हिँड्दा त्यसरी नै बजार गएर सामान लिएर आउन पाए हुन्थ्यो भन्ने लोभ पलाउँछ । हर्क थप्छन्, ‘थोरै लोभ हुन्छ मान्छेमा ।’

अनि केटीले गाउँछेः

शीरैफूल शीरैमा, लाउँला कसरी
नौगेडी गालेमा लाउँला कसरी
औंठैमा हाँसो आउला कसरी
सुन्छु नि कानैभरि मन उड्छ डाँडैभरि

केटीले यसरी चिन्ता प्रकट गर्छे । महिलाहरु गरगहनाले झकिझकाउ भएर कतै गइरहेको देख्छिन् । यस्तो गरगहनाले आफू पनि सजिन पाए हुन्थ्यो भन्ने भाव प्रकट गर्छिन् ।

तर, केटाले ढाडस दिन्छ:

आफैं मुस्काऊ मुसुक्क, जूनतारा टिपी कोही दिँदैन
थोपाथोला मिली बग्छ खोला, सागरको कुनै मुहान हुँदैन
रातपछि हुन्छ उजेली, मनचरी गाउला सुसेली

हर्क भन्छन्, ‘एक दिन सुख आउँछ, चाहे क्षणिक नै किन नहोस् । अँध्यारोपछि उज्यालो आउँछ । त्यतिञ्जेलका लागि चिन्ता नगर्नू । अहिले दुःखको फेजमा छौं, अहिले हामीले संघर्ष गर्नुपर्छ भनेर ढाडस दिन्छ ।’

अनि उनीहरुको संघर्ष सकियो । उनीहरु सफल र समृद्ध भए ।

केटीले गाउँछेः

आऊ समाउ यी नाडी मेरा
तिम्रै नाममा दिनरात चल्छन्
उठाऊ यी मेरा नजरका घुम्टोहरु
तिम्रै मुहार हेर्न चञ्चल छन्

हर्क भन्छन्, ‘उनीहरु यत्रो वर्षदेखि सँगै रहेर पनि एकअर्कासँग राम्रोसँग समय बिताएका छैनन् । सम्पन्न भएर दुःखपछि सुखको अवस्थामा छन् । संघर्षका दिनमा बिहानै उठेर काममा जान्थे । साँझ घर आउँदा अँध्यारो भइसक्थ्यो । अहिले सम्पन्न भएपछि केटीले ‘नाडी समाऊ, घुम्टो उघारिदेऊ’ भनेर आस्था र विश्वास जताउँछे ।’

०००

हर्क सुदूरपश्चिमको मान्छे । देउडा संस्कृतिबाट हुर्किएका मान्छे । तर, सुदूर पूर्वको परिवेशमा गीत लेखे । यसको एकै कारण हो, हर्कको स्वभाव ।

हर्क कतै भ्रमणमा निस्कँदा स्थानीयको बोल्ने, बस्ने, घुलमिल हुने तरिकाले उनलाई छुन्छ । इलाममा पनि केही समय बस्ने मौका पाएका थिए उनले । सांस्कृतिक क्रियाकलापको अब्जरभेसन पनि गरेका थिए- बच्चाहरुले कसरी खेल्छन्, के बोल्छन्, के खान्छन्, कस्तो गीत गाउँछन् ।

यिनै कारणले नेपालको कुनै पनि भूगोलको गीत लेख्न सक्छु भन्ने आँट छ हर्कमा । तर, गीत चाहिँ एकदमै कम लेख्छन् । यसको एकै कारण हो, हर्क पारम्परिक गीतको संरचनाभन्दा फरक तरिकाले काम गर्छन् ।

हर्क भन्छन्, ‘मेहनतले धेरै कुराको माने राख्छ । कसैलाई रेडिमेड गीत चाहिएको हुन्छ, डायरी पल्टाउनुस् भन्छन् । तर, मेरो हकमा त्यो लागू हुँदैन । मलाई डायरी होइन, परिवेश र कथा चाहिन्छ । अनि समय चाहिन्छ ।’

०००

हर्कको अर्को गीत ‘वाफ’ पनि पूर्वकै कथा हो, सीमा पारि र वारिको । इलामको बोर्डर लाइनमा माथिल्लो गह्रामा नेपाल छ, तल्लो गह्रामा भारत । तर, प्रेमलाई त सीमाले छेक्दैन ।

केटा:

के भो खै के भो
छैन म म जे हो
फुस्सै उडें म वाफ भई
रहिनँ म आफूमै

यो गीतको कथाले भन्छ- दुई जना केटाकेटी सीमा वारि र पारिका छन् । केटा त्यही गाउँमै छ । आफ्नै काम गरिरहेको छ । पारितिरकी केटी दार्जिलिङमा पढ्छिन् । गाउँ वेलावेला आउँदा भेटघाट हुन्छ ।

केटी:

के के हुन्छ, हुन्छ के के
छैन म थिएँ जे
लाग्यो किन किन लाज झैं
लुके आँखा त्यसै त्यसै

गीतको यी लाइनमा आइपुग्दासम्म उनीहरु प्रेममा परिसकेका छन् ।

हुक लाइन:

तिम्रै दायाँ तिम्रै बायाँ, ज्यान घुम्छ फनफन्ती
झ्याप्पै ठोकी लाहाछाप मायालाई सिलबन्दी

यसपछि टाढा हुँदा….

केटाः

तिमीलाई हेर्न जुनकिरी आउला
तिमीलाई सुनाउन बतासले गाउला

हर्क भन्छन्, ‘यहाँ चाहिँ केटाले तिमीलाई हेर्न जुनकिरीको भेषमा आउँछु । तिमीलाई सुनाउन बतासको सिरसिरमा मैले यहाँ गाइरहेको छु, यो बतासले मेरो गीत बोकेर तिम्रो घरको झ्यालसम्म पुर्याइदेओस् भनेको हो ।’

केटी:

बादलु सर्दैसर्दै यतै त आउला
तिम्रो खबर मैलाई त सुनाउला

हर्क थप्छन्, ‘बादलुको कुनै सीमा हुँदैन । पानीमा, आकाशमा सीमाना लगाएपछि प्राकृतिक कुरालाई रोक्न सक्दैन । अनि केटीले आकाशमा देखिएका बादल तिमीलाई छायाँ दिएर आएको हो, मलाई पनि शीतल दिएर जाला भनेर गाएको हो ।’

केटी:

मेरा सबै सबै कुरा तिमीतिरै छोडी आएँ
सम्झिएर पुर्‍याइजानु भन्ने खबर जूनलाई पठाएँ

केटा:

तिम्रो कालो केशको म छायाँमा हराएँ
धेरै गरुँ भन्दा माया म थोरै डराएँ

तर, हर्कको गीत लेखनको टर्निङ प्वाइन्ट भनेको चाहिँ ‘सुन साइँली’ हो । कालीप्रसाद बाँसकोटाको संगीत र हेमन्त रानाको स्वर रहेको यो गीतले नै हर्क गीतकारको रुपमा सुपरिचित भए । ‘सुन साइँली’ गीतको ‘४० कटेसी रमाउँला’ लाइन सर्वाधिक चर्चित भयो । विशेष गरेर सानै उमेरमा विवाहपछि खाडी भासिनुपर्ने बाध्यतामा रहेका नेपाली युवाहरुको कथालाई हर्कले गीतमा उनेका थिए ।

०००

कोभिड कालमा हर्क-सुजनको अर्को सहकार्य भयो, ‘घुमीघुमी’ ।

सामान्य ग्रामीण परिवेशको पहाडमा जन्मेहुर्केका युवायुवतीको प्रेमलाई मियो बनाएर हर्कले गीत लेखे । पहाडको बाटो नागबेली हुन्छ, हिँड्न सजिलो होस् भनेर । यही उकाली ओराली गर्दाको प्रेमलाई हर्कले गीतमा उने ।

केटा:

घुमीघुमी झर्‍यो ओरालीको बाटो
तिमी आउनु त्यही बाटो अरु आउनु साटो

उकालोको बाटोमा ओरालीमा जसरी छिटछिटो हिँड्न सकिँदैन, सुस्त सुस्त नै चढ्नुपर्छ । उकालो जाँदा बेंसीमा फलेका मेवा, केरालगायत फलफूल बोकेर पनि लाने गरिन्छ । केटीले त्यही फलफूल पनि भारी हुन्छ भने एक मुठी माया त लिएर आऊ भन्ने आश गरेको भावमा हर्कले केटीको गीत तयार गरे-

सुस्तै सुस्तै चढ्यो उकालीको बाटो
बोकी आउनु एक मुठी माया रित्तै आउनु साटो

०००

हर्कका प्रायः अधिकांश गीत सुपरहिट छन् । गीतले अत्यधिक चर्चा कमायो । हर्कले पैसा चाहिँ कति कमाए ?

हर्क सीधै भन्छन्, ‘गीत लेखेरै दैनिकी चलाउने कुरा मेरो हकमा लागू हुन सकेन ।’

उनी थप्छन्, ‘हाम्रो संगीत क्षेत्र सानो छ । यसमा पनि थोरैमात्र काम गरिन्छ । जुन काम जनरुचिका होस् । त्यसैले थोरै गीत आउँछ, मेहनत धेरै गर्नुपर्छ ।’

हर्कले एउटा गीत लेखेवापत् १५-२० हजार रुपैयाँ पारिश्रमिक बुझ्छन् । रोयल्टी कुरा लथालिंग छन् । रोयल्टी संकलन समाजले बाँडेको रोयल्टीमा एक पटक हर्कले जम्मा १२ हजार एक वर्षको रोयल्टी पाएका थिए ।

त्यसैले हर्क भन्छन्, ‘गीत लेखनमै एकाग्र भएर लागेर, आर्थिक हिसाबमा समृद्ध हुँला भन्नु मेरो हकमा गाह्रो कुरा हो । त्यसैले सानो रेस्टुरेन्ट व्यवसायमा पनि सक्रिय छु ।’

तर, हर्कले लेखेका गीत गाएका गायकगायिकाहरु दर्जनौं कन्सर्टहरुमा सहभागी भइरहेका हुन्छन् । उनीहरुले मोटो रकम पारिश्रमिक पनि लिइरहेका हुन्छन् । अहिले नेपालमै पनि गायकगायिकाले कन्सर्टमा कुनै गीत गाउँदा उक्त गीतको सर्जकलाई (गीतकार, संगीतकार)लाई पनि रोयल्टीवापतको पारिश्रमिक छुट्याइनुपर्छ भनेर छिटफुट बहस भएकाे छ । विदेशमा यसको अभ्यास पनि भएको देखिन्छ । तर, नेपालमा भने गायकगायिका आफ्नै तरिकाले पारिश्रमिक बुझेर कन्सर्ट, मेला, महोत्सवमा गाउँदै हिँडेका छन् ।

यस विषयमा हर्क भन्छन्, ‘यस विषयमा मैले गायक गायिकासँग कुराकानी गरेको छैन । यो कुरा मैले भनिरहनुपर्छ भन्ने पनि होइन । उहाँहरु विश्वभरि डुलेर, गाएर गुजारा चलाइरहनु भएको छ । संसारभरि डुल्नुभएको उहाँहरुलाई थाहा छ नि संसारभर कस्तो अभ्यास छ । अब उही स्रष्टाले नै बुझ्दैन भने हामीले टाउको दुल्खाएर हुँदैन नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *