नेपाली बलरसामु चुनौती: कोहली र बाबरलाई कस्तो बल फ्याक्ने ? – Nepal Press

नेपाली बलरसामु चुनौती: कोहली र बाबरलाई कस्तो बल फ्याक्ने ?

काठमाडौं । नेपालको क्रिकेट टीमले केही दिनमा क्रिकेटका दुई महारथी टीमहरुको सामना गर्दैछ । एसिया कपमा नेपालका प्रतिस्पर्धी भारत र पाकिस्तान दुवै भूतपूर्व विश्व विजेता हुन् भने आगामी एक दिवसीय विश्वकपका पनि दावेदार राष्ट्र हुन् ।

दुवै देशले एसिया कपको उपाधि जित्ने लक्ष्यसहित आफ्नो उत्कृष्ट टीम उतार्दैछन् । नेपालको लक्ष्य चाहिँ सम्मानजनक प्रतिस्पर्धा हो । प्रतिस्पर्धा एकतर्फी नहोस् भन्ने नेपाली क्रिकेट समर्थन चाहन्छन् । साँधुरो अन्तरको हार पनि नेपालका लागि उपलब्धि नै मानिने छ ।

दुईमध्ये एउटा म्याचमा ‘अपसेट रिजल्ट’ निकाल्न सके त्यो अभूतपूर्व र ऐतिहासिक हुनेछ ।

भारत र पाकिस्तान टीम फरक विशेषताहरुले सुसज्जित छन् । भारतको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित एवं उत्कृष्ट छ । टीममा अनुभवी र युवा खेलाडीहरुको मिश्रण छ । पाकिस्तान भने ३-४ खेलाडीहरुमा बढी निर्भर छ । पाकिस्तानका फास्ट बलरहरु धारिला छन् । तर, स्पिन केही कमजोर देखिन्छ ।

ब्याटिङको कुरा गर्दा भारत र पाकिस्तान दुवै टीममा केही विश्वस्तरीय ब्याट्सम्यान छन् । भारतका विराट कोहली, रोहित शर्मा, शुवमान गिल, हार्दिक पाण्ड्या जस्ता ब्याट्सम्यानहरुले एसिया कन्डिसनमा जस्तासुकै बलरलाई पनि पानी भन्न दिँदैनन् । पाकिस्तानका बाबर आजम, फकर जमान, इमाम उल हक, मोहम्मद रिजवान जस्ता ब्याट्सम्यान पनि कम प्रभावशाली छैनन् ।

यीमध्ये पनि दुई देशका दुई ब्याट्सम्यान यस्ता छन्, जोसँग उत्कृष्टभन्दा उत्कृष्ट बलरहरु पनि हैरान हुने गर्छन् । उनीहरु हुन् भारतका कोहली र पाकिस्तानका बाबर । अहिलेका विश्वस्तरीय ब्याट्सम्यानहरुको सूचीमा अग्रस्थानमा पर्छन् उनीहरु । बाबर लामो समयदेखि एक दिवसीय वरियताको शीर्ष स्थान ओगटेर बसेका छन् । कोहली अनेक कीर्तिमानको चाङमाथि उभिएका छन् ।

यी दुई ब्याट्सम्यानलाई क्रिजबाट हटाउन जुनसुकै टीमलाई पनि हम्मे पर्ने गर्छ । अझ ब्याट्सम्यानलाई सहयोग गर्ने एसियन पिचमा यी कोहली र बाबरको विकेट लिनु फलामकै च्यूरा चपाएसरह हुन्छ । हरेक प्रकारका बलहरुलाई झेल्न सक्ने र कुनै विशेष कमजोरी नभएकाले बलरहरुले उनीहरुलाई कस्तो बल फ्याक्ने भन्ने नै भेउ पाउँदैनन् ।

यस प्रतियोगितमा नेपाली बलरहरुको सबैभन्दा ठूलो सपना हो- कोहली वा बाबरको विकेट निकाल्ने, के उनीहरु सफल होलान् ?

विराट कोहली

अहिलेको क्रिकेटमा कोहली सबैभन्दा हाइप्रोफाइल खेलाडी हुन् । सक्रिय खेलाडीहरुमध्ये एक दिवसीयमा सबैभन्दा बढी रन बनाउने तथा सबैभन्दा धेरै शतक हान्ने रेकर्ड उनको नाममा छ । कोहलीले अहिलेसम्म २७५ एक दिवसीय खेल्दै १२ हजार ८९८ रनको पहाड खडा गरिसकेका छन् । उनको एक दिवसीय औसत रन ५७ भन्दा माथि छ, जसले उनको उत्कृष्टताको परिचय दिन्छ ।

कोहलीले एक दिवसीयमा मात्रै ४६ शतक बनाइसकेका छन् । उनी आफ्नै देशका क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरका हरेक रेकर्डहरु पछ्याइरहेका छन् ।

कोहली भारतका रन मेसिन नै हुन् । हरेक फर्म्याटको क्रिकेटमा उनको ब्याट चल्छ । उनी फास्ट र स्पिन दुवै बलरहरुमाथि हावी हुन सक्छन् । प्रायः जोखिपूर्ण सट खेल्दैनन् र पनि उनको रन गति उच्च हुन्छ । उनी ‘चेज मास्टर’ का रुपमा समेत प्रख्यात छन् । अर्थात्, दोस्रो ब्याटिङ गरेर विजयी लक्ष्य पछ्याउनमा उनी महारथ प्राप्त छन् ।

कोहली यस्तो बलमा संघर्ष गर्छन् भन्ने छैन । यद्यपि, थोरै अफस्टम्पतर्फ फ्याकिएको गुड लेन्थ बलमा उनी अलि कमजोर छन् भन्ने गरिन्छ । अफ साइडतिर स्वीङ भएको बललाई छेडछाड गर्ने क्रममा उनी धेरैपटक आउट भएका छन्, खासगरी इंग्ल्यान्ड र अष्ट्रेलियाका पीचमा ।

विराटको कभर ड्राइभ उत्कृष्ट छ । कभर ड्राइभबाट उनी प्रशस्त रन पनि बटुल्छन् । तर, कहिलेकाहीं ब्याट्सम्यानको उत्कृष्टता नै कमजोरी पनि बन्न पुग्छ । उनी कभर ड्राइभ खेल्दा कहिलेकाहीं गलत बलको छनोट गरेर आउट पनि हुन पुग्छन् । विराटको यही कमजोरीलाई विपक्षी बलरहरुले एक्सप्लोइट गर्न खोज्छन् ।

बाबर आजम

पाकिस्तानी टीमको ब्याटिङका मेरुदण्ड हुन् बाबर आजम । पाकिस्तानले आजसम्म जन्माएका उत्कृष्ट ब्याट्सम्यानहरुको सूचीमा उनको नाम आउँछ, जो धेरै समयदेखि एक दिवसीय विश्व वरियताको एक नम्बरमा छन् ।

२८ वर्षिय आजमलाई पाकिस्तानीहरुले प्रायः कोहलीसँग तुलना गर्ने गर्छन् । क्रिकेटको अंकगणितमा उनी अनेक रेकर्डहरु भत्काउँदै अघि बढिरहेका छन् । उनी टेस्ट, एक दिवसीय र टी-२० तीन वटै क्रिकेटको विश्व वरियतामा टप थ्रीभित्र थिए । ताजा वरियतामा उनी टेस्टमा ४ नम्बर र टी-२० मा ३ नम्बर छन् । एक दिवसीयमा भने उनलाई शीर्ष स्थानबाट कसैले हल्लाउन सकेको छैन ।

एक दिवसीयमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने बाबर मन्दविष जस्ता छन् । उनी आक्रामक खेल्दैनन् । विस्तारै रन बटुल्दै कतिबेला विपक्षी टीमको हातबाट खेल खोस्छन् पत्तै हुँदैन । जोखिम नलिइकन आफ्नै अन्दाजमा खेल्ने उनलाई आउट गर्न बलरहरुको पसिना छुट्ने गर्छ ।

बाबर सबैखाले बलहरुलाई सहज रुपमा खेल्न सक्छन् । विकेटको अनसाइड र अफसाइड दुवैतर्फ उनी सुदृढ छन् । आफ्नो रेञ्जमा आएको बललाई हिर्काउन उनी चुक्दैनन् । उनको पनि कभर ड्राइभ निकै सुन्दर हुन्छ ।

बढी रक्षात्मक खेल्नु बाबरको कमजोरी हो । सीमित ओभरको खेलमा बाबरको स्ट्राइक रेटलाई लिएर आलोचना हुने गरेको छ । उनी क्रिजमा बढी समय बिताउन रुचाउँछन् । बललाई हत्पत्ति हावामा खेल्दैनन् । त्यसैले उनको ब्याटबाट निकै कममात्र छक्का निस्किन्छ ।

नेपालको बलिङ

नेपालको बलिङ धेरै हदसम्म स्पिनरमा निर्भर छ । नेपालसँग स्तरीय फास्ट बलर छैनन् । सोमपाल कामी, करण केसी र गुल्शन झासँग त्यो गति र सटिकता छैन, जसले विराट-बाबरलाई दुःख देओस् । पाकिस्तान र श्रीलंकाको पीचमा धेरै उछाल नहुने भएकाले फास्ट बलरलाई खासै सहयोग पनि गर्दैन । त्यसैले नेपालले उनीहरुलाई बाँध्न स्पिनर लगाउनुको विकल्प हुँदैन ।

ललित राजवंशीलाई नेपालले विराट-बाबरविरुद्ध ‘मिस्ट्री बलर’का रुपमा प्रयोग गर्न सक्छ । साथै, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि उनीहरुको विकेट चट्काउन सक्ने अपेक्षा राख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर