सुदूरपश्चिमको क्याबिनेट : कतै निर्वाचन क्षेत्रपिच्छे मन्त्री, कतै जिल्लाकै छैन प्रतिनिधित्व – Nepal Press

सुदूरपश्चिमको क्याबिनेट : कतै निर्वाचन क्षेत्रपिच्छे मन्त्री, कतै जिल्लाकै छैन प्रतिनिधित्व

९ मध्ये ५ मन्त्री कैलालीका

कैलाली । बुधवार सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिमण्डल बिस्तार गरेसँगै मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ । ९ जना मध्ये २ जना राज्य मन्त्री छन् ।

कतै एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर रहेका दुवै प्रदेश सभा निर्वाचन क्षेत्रका सांसद पनि मन्त्री बनेका छन् भने कतै जिल्लाकै प्रतिनिधित्व नभएको पाइएको छ ।

कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका दुवै प्रदेशसभाबाट निर्वाचित सांसद मन्त्री भएका छन् । त्यस्तै कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका दुवै क्षेत्रबाट निर्वाचित सांसद मन्त्री भएका छन् ।

कैलाली ५ अन्तर्गत १ बाट माओवादीका रमेश धामी र २ बाट कांग्रेसका प्रकाश देउवा निर्वाचित भएका थिए । अहिले धामी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् भने देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

त्यस्तै कैलाली प्रतिनिधि सभा २ को १ बाट निर्वाचित कमल शाह प्रदेशको मुख्यमन्त्री छन् भने २ बाट निर्वाचित रामेश्वर चौधरी पनि बुधवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।

कैलालीका दुवै क्षेत्रबाट मन्त्री बन्दा दार्चुला, कञ्चनपुर, बझाङ र डोटीको प्रतिनिधित्व सुदूरपश्चिमको क्याबिनेटमा शून्य छ । बुधवार भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रीको नियुक्ति सँगै मुख्यमन्त्री सहित ९ जना मन्त्रीहरू मध्ये कैलालीका ५ जना समेटिएका छन् ।

राज्यमन्त्री बाहेकका मन्त्रीहरूका सन्दर्भका कैलालीका ४ जना समेटिएका छन् भन् ५ जिल्ला फुल मन्त्री विहीन अवस्थामा छ ।

कैलाली बाहेक सामाजिक विकास मन्त्रीमा अछामका झपट साउद, आर्थिक मामिला मन्त्रीमा बाजुराका नरेश शाही र आन्तरिक मामिला मन्त्रीमा बैतडीका शिवराज भट्ट छन् ।

यता ९ जना मन्त्रीहरू मध्ये डडेल्धुराकी गीता देवी माल एक्ली महिला राज्य मन्त्री हुन् । मन्त्रीपरिषद् बैठकमा राज्यमन्त्री बस्न नपाउने हुँदा सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकमा महिला सहभागिता शून्य देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर