रुपन्देहीमा पूँजीगत खर्चमा सुधार, ७१ प्रतिशत विकास खर्च – Nepal Press

रुपन्देहीमा पूँजीगत खर्चमा सुधार, ७१ प्रतिशत विकास खर्च

रुपन्देही । रुपन्देहीमा गएको आर्थिक वर्षमा विगतमा भन्दा केही पूँजीगत खर्च बढी भएको छ । आर्थिक वर्षको सुरुमा टेण्डर आह्वानमै ढिलाइ हुँदा वर्सेनि विकास खर्च न्यून भइरहे पनि आर्थिक वर्ष २०७९/०८० मा विकास खर्चमा सुधार भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार गएको आवमा ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४५१ रुपैयाँ अख्तियारी पाएकोमा कोलनिकाले पूँजीगततर्फ ७ अर्ब १७ करोड ३५ लाख ९३ हजार ४४० र चालूतर्फ ३४ अर्ब ८५ करोड ३३ लाख ७० अख्तियारी पाएको थियो ।

जिल्लामा कुल बजेटको ३७ अर्ब १ करोड ८१ लाख ५७ हजार ८६५ रुपैयाँ अर्थात् ८८ प्रतिशत खर्च भएको छ । कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले खर्चको यो सन्तोषजनक भएको जनाएका छन् ।

पूँजीगत खर्चतर्फ कुल रकमको ५ अर्ब ८ करोड ६० लाख ९९ हजार रुपैयाँ अर्थात् ७१ प्रतिशत खर्च भएको छ । असार महिनामा मात्रै पूँजीगततर्फ २ अर्ब २० करोड ७० लाख ८० हजार रुपैयाँ खर्च भएको छ । अघिल्लो आव २०७८/०७९ मा जिल्लामा पूँजीगततर्फको खर्च ४६ प्रतिशतमात्रै थियो ।

चालूतर्फ कुल बजेटमध्ये ३१ अर्ब ९३ करोड २० लाख ५८ हजार अर्थात् ९२ प्रतिशत खर्च भएको छ भने अघिल्लो आव २०७८/०७९ मा पनि ९२ प्रतिशत नै बजेट खर्च भएको थियो । राजस्व संकलन भने गत वर्षभन्दा घटेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १ खर्ब ४३ अर्ब ६४ करोड ५६ लाख ६० हजार २५१ रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०७९/०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८९० रुपैयाँमात्रै भएको छ । जुन गत आवभन्दा ४१ अर्ब ४२ करोड २६ लाख २२ हजार ३६१ अर्थात् २९ प्रतिशत कम हो ।

मुख्य कार्यालय भैरहवा भन्सार र आन्तरिक राजस्वले नै राजस्व असुली कम गरेका ज्ञवालीले जनाए ।

जिल्लामा सबैभन्दा बढी सडक डिभिजन कार्यालयले बजेट खर्च गर्दा सबैभन्दा कम स्थानीय पूर्वाधार विकास कार्यक्रमले गरेको छ । जिल्लाका १६ स्थानीय तहको विकास खर्च सन्तोषजनक रहेको कोलेनिकाले जनाएको छ ।

सियारीमा सबैभन्दा बढी र मर्चवारीमा सबैभन्दा कम पूँजीगत खर्च

रुपन्देहीको सियारी गाउँपालिका सबैभन्दा बढी पूँजीगत खर्च गरेर जिल्लामै पहिलो भएको छ । सियारीले रुपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा बढी पूँजीगत खर्च गरेको हो ।

सियारीले आर्थिक वर्ष २०७९/०८० मा ८७.१५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार रुपन्देहीका १६ वटा पालिकाले समग्रमा ७७ प्रतिशत पूँजीगत खर्च गरेका छन् ।

३१ करोड ७६ लाख ७३ हजार बजेट विनियोजन भएकोमा २७ करोड ७२ लाख ८४ हजार अर्थात ८७.१५ प्रतिशत खर्च गर्न सफल भएको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जानकारी दिए ।

रुपन्देहीमा सबैभन्दा कम पूँजीगत खर्च गर्नेमा मर्चवारी गाउँपालिका रहेको छ । मर्चवारीले ६४ प्रतिशतमात्र खर्च गरेको छ । त्यसपछि पूँजीगत खर्च गर्न नसक्नेमा शुद्धोधन गाउँपालिका रहेको छ । शुद्धोधनले ६८.९७ प्रतिशत खर्च गरेको छ ।

पूँजीगत खर्च गर्नेमा सियारीपछि कोटहिमाई गाउँपालिका रहेको छ । कोटहिमाईले ८४.४१ प्रतिशत खर्च गरेको छ । त्यसपछि पूँजीगत खर्च गर्नेमा मायादेवी गाउँपालिका रहेको छ । मायादेवीले ८२.२४ प्रतिशत खर्च गरेको छ ।

बुटवल उपमहानगरले ६९.४८, तिलोत्तमा नपाले ७३.३८, देवदह नपाले ७३.८१, लुम्बिनी सांस्कृतिक नपाले ७६.४० र सिद्धार्थनगर नपाले ७२.४९ प्रतिशत खर्च गरेका छन् ।

त्यसैगरी सैनामैना नपाले ७९.३४, ओमसतिया गापाले ७९. २६, कञ्चन गापाले ८१.१२, गैडहवा गापाले ८२.२, रोहिणी गापाले ७९.६३ र सम्मरीमाई गापाले ७८.५४ प्रतिशत खर्च गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर